PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

खुमलटारपछि एपीएफ रेलिगेसनमा, थ्री स्टारलाई जोगाउँदै कप्तान लामाले बिदाइको हात हल्लाए



पहिलोपोस्ट

खुमलटारपछि एपीएफ रेलिगेसनमा, थ्री स्टारलाई जोगाउँदै कप्तान लामाले बिदाइको हात हल्लाए
तस्बिर : एन्फा

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगबाट खुमलटार पछि विभागीय टोली एपीएफ रेलिगेशनमा पर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १-० गोलको जित निकाल्दै रेलिगेशनबाट आफूलाई जोगाउँदा एपीएफ रेलिगेशनमा गएको हो।

पहिलो हाफ गोरहित बराबरीमा रोकिएको खेलको ८३ औँ मिनेटमा पेनाल्टीको अवसरमा गोल गरेपछि थ्रीस्टारले जित निकालेको हो। जितसँगै थ्री स्टार 'ए' डिभिजनमै जोगिएको छ।

आजकै खेलबाट थ्री स्टारका कप्तान विक्रम लामाले पनि लिगबाट विदाइ लिएका छन्। उनले लिग सुरु हुन अघि नै आफ्नो लागि यो अन्तिम लिग हुने बताएका थिए।

जारी सिजनको लिगमा चर्च ब्वाइज च्याम्पियन बन्दा एपीएफ र खुमलटार एफसी रेलिगेशनमा गएका हुन्।

लिग सकिँदा शीर्ष स्थानको चर्च ब्वाइजले ४८ अंक जोड्दा दोस्रो स्थानको मछिन्द्र क्लबले ४५ अंक जोड्यो। मछिन्द्रले यो सिजन एएफसीको छनोटमा नेपालको प्रतिनिधित्वसमेत गर्नेछ। तेस्रो स्थानमा नेपाल पुलिस क्लबले ४१ अंक जोड्दै स्थान बनायो। अन्तिम खेलमा थ्री स्टारसँग पराजित भएको जावलाखेल ३७ अंक जोड्दै चौथो स्थानमा रहँदा सातदोबाटो युथ क्लब ३५ अंक जोडेर पाँचौँ स्थानमा रह्यो। छैटौँ र सातौँ स्थानमा समान ३४ अंक जोडेका न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी फुटबल क्लब रहे। ८, ९,१० औँं स्थानमा समान ३२ अंक जोडेर क्रमश मनाङ मर्स्याङदी क्लब, थ्री स्टार क्लब र संकटा क्लबले स्थान बनाए। ११ औँ स्थानमा ३१ अंक जोडेको हिमालयन शेर्पा रहँदा १२ औँ स्थानमा  ३० अंक जोडेको  फ्रेन्ड्स क्लब रह्यो। समान ३० अंक जोडेको एपीएफ र २७ अंक जोडेको खुमलटार एफसी रेलिगेशनमा गए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell