PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

महानगरकै आडमा पुरिँदै फेवा क्षेत्रको सिमसारः काम रोक्न अदालत आदेश गर्छ तर हुँदैन कार्यान्वयन



रिना थापा

महानगरकै आडमा पुरिँदै फेवा क्षेत्रको सिमसारः काम रोक्न अदालत आदेश गर्छ तर हुँदैन कार्यान्वयन

पोखराः रामसार सूचीमा सूचीकृत फेवातालको सिमसार क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन। कृषिका लागि भने रोकावट नभएकाले केही वर्षयता फेवा फाँटमा धान लगाउने किसान बढेका थिए। तर, अहिले त्यही फेवा फाँटमा दुई वर्षदेखि धमाधम प्लटिङ भइरहेको छ। त्यो पनि पोखरा महानगरको आडमा।

अधिकारको गलत प्रयोग गर्दै महानगरले गरेको जग्गा वर्गीकरणका कारण सिमसार क्षेत्र धमाधाम पुर्ने काम भइरहेको छ। भूउपयोग नीतिमा जग्गा वर्गीकरण गरेर महानगरले सिमसार क्षेत्रका प्राय हिस्सालाई आवास क्षेत्र तोकेको छ।

त्यही वर्गीकरण देखाउँदै सिमसार क्षेत्र धमाधम पुर्ने काम भइरहेको छ। जसको नेतृत्व युवराज खतिवडाले लिएका छन्। युवराज तिनै व्यक्ति हुन जो २०७८ भदौमा पक्राउ परेका थिए। कारण थियो -फेवा किनारमा मापदण्ड विपरीत पर्खाल लगाउने र सीमसार क्षेत्र पुर्ने।

सुरुवातमा सम्झाउँदा नमानेपछि अटेर गरेर संरचना पुनः बनाउन सुरु गरेका युवराजले प्रहरीमाथि अभद्र व्यवहार गरेकाले पक्राउ परेका थिए। मापदण्ड विपरीत संरचना बनाउने विषयमा मुछिएका उनै युवराज अहिले पुनः  सिमसार क्षेत्र पुर्न व्यस्त छन्।

रात परेपछि माटो ओसारेर धमाधम सिमसार क्षेत्र पुरेपछि उच्च अदालतमा रिट परेको थियो। उच्च अदालतले पनि जेठ १६ गते सिमसार क्षेत्र पुर्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गर्‍यो। तर अदालतको आदेश विरुद्ध गतिविधि रोकिएका छैनन्।

धमाधम जग्गा सम्याउने जिम्मा पाएका युवराजले शनिबार फेवा फाँटमा पत्रकार सम्मेलन गरे स्थानीयलाई जम्मा पारेर। स्थानीय पनि अदालत र प्रशासनको आदेशलाई प्रतिकार गर्दै युवराजको बोली बोल्छन्। भलै, उनीहरुलाई फेवाताल पुरिने चिन्ता छ। युवराजले जम्मा पारेका स्थानीयको एकै आवाज थियो -खतिवडाले बिगारेका हैनन्।

युवराजको पक्षमा बोलिरहेका उनीहरुको बोली एकैछिनमा बाझिन्थ्यो। उनीहरु फेवा पुरिने चिन्ता रहेको देखाइहाल्थे। फेवाताल पुरिँदै गएकोमा बेखबरझैँ बनेको महानगरप्रति गुनासो पोख्थे उनीहरु।

केही समययता सिमसार क्षेत्रमा धमाधम प्लटिङ बढेको स्विकार गर्छन् स्थानीय गुरुदत्त पराजुली। पराजुली महानगरको जग्गा वर्गीकरणप्रति प्रश्न गर्छन्।

‘प्लटिङ बढेको हो झन् अहिले। आवासीय भनेर उता बनाउने, यता पुर्ने काम जारी हुने। पहिला थिएन नि यो पूरेको कति भइछ र के भन्ने अब त्यस्तै हो। यो गएको हिउँदमा बनाएर अहिले सकेको हो’, उनले भने।

तर, उनी युवराजको पक्षमा बोल्न भने छोडेनन्। भने, ‘अहिले फरक छ ताल पहिलेभन्दा। तर यो खतिवडाका कारण पुर्ने मान्छेले बिगारेका चाहिँ होइनन्। पहिल्यै चाहिँ भत्किएर आएर पुरिएको हो’, उनको बोलीबाट प्रस्ट हुन्छ युवाराजको प्रभाव।

पोखरामा उत्पादन हुने धानको धेरै मात्रा फेवा फाँटमा फल्छ। कृषियोग्य जमिनमा प्लटिङ भएपछि अहिले समस्यमा छन् कुलप्रसाद तिमिल्सिना। पोखरा २३, चंखपुर क्षेत्रमा उनको ८ रोपनी जग्गा छ। जसमा केही भाइअंश परेको छ। सो जग्गामा खेती किसानी गर्छन् कुलप्रसाद। आफ्नो खेतको वरिपरिको जग्गा माटो हालेर पुर्ने र सम्याउने काम भएपछि अप्ठ्यारो परेको छ उनलाई । उनको खेत वरपर जग्गा पुर्ने काम भएपछि उनी पनि जग्गा पुर्ने सोचमा छन्।

‘भाइअंश परिछ अर्कैलाई। अब यता पुरे। उता पुरे। यसलाई सिमसार क्षेत्र भन्दिने। सिमसार क्षेत्र भनेर मुखको भरमा हुन्छ। ८ रोपनी जग्गा छ मेरो। फेवातालको चिन्ता लाग्छ। फेवाताल त पूर्न पाइँदैन,’ उनले भने। 

फेवा पुर्न नपाइने विचार राखेका कुलप्रसादलाई मुहानमा नै रहेर पुर्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा झन् जंगिए।

‘काँ यहाँबाट पुरिन्छ। यहाँ ताल पुर्ने योजना अर्कै छ। फेवा ताल पुर्ने कालोकोट लगाउने छन्। हाम्लाई ताल पुरुवा नाम राखेका छन्,’ कड्किदै उनले भने।

फेवाको स्वरुप बेग्लै थियो पहिले। फेवाको मुहान मानिने हर्पन खोला आफ्नै बहावमा बग्थ्यो। तर, खोला र फेवाको आकार घट्यो। चंखपुर क्षेत्रमा डुंगामा वारपार गरेको सम्झनामा मात्र तोयनाथ पराजुलीको।

‘ताल यी यहीँसम्म थियो। यी अहिले भइराको हो। पहिलाको फेवाताल र अहिलेको फेवाताल त गइसक्यो अब। सकियो फेवाताल। हाम्रो पहुँच काँ चल्छ त? मै हुम् भन्ने गुण्डागर्दी गर्नेको चल्छ हामी सिधा मान्छेको चल्छ यहाँ,’ प्लटिङले पुरिन लागेको चंखपुर क्षेत्र हातले देखाउँदै उनले भने।

स्थानीयमा फेवा पुरिने चिन्ता पनि देखिन्थ्यो। मिडियासँग कुराकानी गर्दा फेवातालको पहिलेको स्वरुप व्याख्या गर्थे उनीहरु। बीचबीचमा युवराज आइपुग्थे उनीहरुको छेउ। अनि बोलिरहेका स्थानीयले पनि उनको उपस्थिति देखेपछि काम गर्ने मान्छेलाई दुःख दिने खतिवडाले केही गरेका छैनन् भन्दै समर्थनको आवाज सुनाइहाल्थे। 

अदालतले आदेश दिएपछि प्रशासनले उनको सवारीसाधन खोसेको थियो। फेवा पुर्न रोक लगाएको आक्रोशमा उनले आफ्नो पक्षमा प्रभाव पार्न पत्रकार सम्मेलन गरेको थिए। उनले महानगरकै जग्गा वर्गीकरणलाई देखाएर आफूलाई बिनाकारण आरोप लगाएको झुठो दाबी गरेका छन्।

‘यो जमिनलाई धनराज आचार्य मेयरकै नेतृत्वमा रहेको कार्यपालिका बैठकले राजपत्रमा प्रकाशित भएको छ। यो जमिन आवासिय भनेको छ। गैरकृषि भनेको छ। अनि पक्राउ गर्ने फेवाताल पुर्‍यो भन्ने। झुठा मुद्दा लगाउने मलाई?,’ उनले भने।

झुठो दाबी गरिरहेका युवराज अटेर गरिरहेका छन्। प्रशासन र महानगर मौन छ। माटो ओर्सादै फाँट पुर्ने काम भइरहेको छ। जग्गा प्लटिङ गरेर बिजुलीको लाइन समेत पुर्‍याइएको छ। खेती किसानी गरिरहेका किसान भने यो दृश्य हेर्न बाध्य छन्। सक्नेले आफ्नो जग्गा पुरिरहेका छन्। नसक्नेको जग्गामा पानी निकासा हुने ठाउँ समेत नभएर डुबानमा पर्ने समस्यामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell