PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रचण्डको छलाङ, गेरु अवतारपछि पशुपतिपथ!



प्रकाश भण्डारी

प्रचण्डको छलाङ, गेरु अवतारपछि पशुपतिपथ!

काठमाडौं: भारतमा गेरु बस्त्र लगाएर पूजा पाठमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हप्ता दिनपछि पशुपतिनाथ पुगेका छन्। भारत भ्रमणका क्रममा जेठ १९ मा मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वरमा प्रचण्डले पूजा गरेका थिए। त्यहाँको जल बोकेर प्रचण्ड शनिबार पशुपति पुगेका हुन्। 

महाकालेश्वरमा लगाएको गेरु वस्त्रले आलोचना भएपछि प्रचण्ड बचाउँमै उत्रिएका थिए त्यतिबेला। उनले आफू प्रधानमन्त्री भएकाले सबै धर्मप्रति बराबर सम्मान देखाउन मात्रै महाकालको पूजामा गएको भन्दै बचाउ गरे।

'कतिपयलाई गेरु वस्त्र लगाएर कमन्डलु लगाएर हिँडे पनि हुन्थ्यो भन्ने लाग्यो होला। तर म हिड्नेवाला छैन। यसलाई सांस्कृतिक रुपमा बुझ्नदिनुपर्‍यो,' धर्मनिरपेक्षतावादी भएको प्रतिक्रिाय प्रचण्डले स्वदेश फर्कनेबेला जेठ २० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिएका थिए। भारत म्रमणका बेला गेरु बस्त्रमा प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरु


हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिझाउन प्रचण्डले धर्मको सहारा लिएको आरोप लागेको थियो। उक्त आरोपबारे प्रचण्ड नबोले पनि आफू 'महाकालेश्वरमा नगए भारतीय जनताको मनमा चिसो पस्ने' प्रतिक्रिया दिएका थिए।

भारतमा लगाएको गेरु वस्त्रको आलोचना नसकिँदै प्रचण्ड फेरि शनिबार पशुपति पुगे। मन्त्रिपरिषदका सदस्यसहित प्रचण्ड  पशुपतिमा पुगेका हुन्।

अर्थमन्त्री डा. प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती सहभागी टोलीले पशुपति नाथ मन्दीरको अवलोकन गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

'प्रधानमन्त्रीलाई पशुपति क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराएका छन्,' प्रचण्डको सचिवालयले भन्यो।

प्रचण्डले पाशुपत क्षेत्रलाई अझै व्यवस्थित गरे धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताएका थिए। पहिलोपटक प्रधानमन्त्री हुँदा पशुपतिको मूल पुजारी हटाउँदा अप्ठेरोमा परेका प्रचण्ड यसपटक भने आफैँ पशुपतिको दर्शनमा निस्किएका हुन्।

तेस्रो कार्याकालको सुरुवातमै पुरानो शैली बदलेर प्रधानमन्त्री निवास बालुवाटारमा उत्रिएका प्रचण्डले दौरा सुरुवालमा पद तथा गोपनीयताको शपथ लिएका थिए। अघिल्लो दुई कार्यकाल कोट पाइन्टमै शपथ लिने गरेका प्रचण्डले यस कार्यकालमा भने पुरानो शैलीमा 'छलाङ' मारेका थिए।

१० वर्षे युद्धको पृष्ठभूमिबाट आएका प्रचण्ड लगातार कम्युनिस्ट छविलाई बदलेर अघि बढिरहेका छन्। कुनै बेला भैँसी पूजा गरेको भनेर आलोचना खेपेका प्रचण्डले यसपटक भने गेरु वस्त्रमै र पशुपतिमै दर्शन गरेपछि भने उनको धार्मिक अवतार नैं देखिन थालेका हो। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेलामा पशुपतिमा क्षमा पूजा लगाएपछि विवादमा परेका थिए। तत्कालीन नेकपाको अर्को अध्यक्ष रहेका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले समेत ओलीमाथि प्रश्न उठाएको थियो। ओलीमा विचलन आएको भन्दै प्रचण्ड- नेपालले आलोचना गरेका थिए। प्रधानमन्त्री हुदा भने प्रचण्ड आफैं धर्मको साहरा लिन पुगेका हुन्।

प्रचण्डको धार्मिक अवतारबारे उनकै पूर्व सहयात्री डा. बाबुराम भट्टराईले पनि 'हामी कहाँ जादै छौं' भन्दै प्रश्न गरेका थिए। यस्तै विश्लेषक अरुण सुवेदीले पनि प्रचण्डले भारतमा गरेको पूजाबारे टिप्पणी गरेका थिए। 'प्रचण्ड,पुष्पकमल, दौरा-सुरुवाल ,अब महाकाल, पशुपतिमा क्षमापूजाको पर्खाइमा,' सुवेदीले ट्वीट गर्दै भनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell