PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मौलिक कथाको नीरफूलमा ओझेल परेका सन्दर्भ



लक्ष्मी बलायर

मौलिक कथाको नीरफूलमा ओझेल परेका सन्दर्भ

फिल्मको रिपोर्टिङ, समीक्षा, सम्पादन र फिल्मभन्दा अलग विधा हो निर्देशन। समीक्षा गर्न जति सहज हुन्छ फिल्म त्यति सहजै बन्थ्यो भने यसरी मुलविधाबाट निर्देशनमा आएका पत्रकारहरु सबै जम्थे होलान्। नेपालमा थोरैमात्र सिने पत्रकार छन् जसले निर्देशनको क्षेत्रमा आफूलाई अब्बल बनाउन सकेका छन्। पत्रकार हुँदै टेलिभिजन व्यवस्थापकको पोर्टफोलियोबाट निर्देशकको सूचीमा यसैगरी थपिएको अर्को नाम हो फूलमान वल।

फूलमानको डेब्यु निर्देशनमा बनेको नीरफूल यतिखेर देशव्यापी चलिरहेको छ। नीरफूलमा भूकम्पपछि काठमाडौं उत्रिएकी स्यरल्हामु (शान्ति वाइबा)को हन्डर समेटिएको छ। भूकम्पको मानवीय कथा फिल्मको मुख्य विशेषता हो। भूकम्पको सकसपूर्ण भोगाई सबै नेपालीसँग जोडिएकाले विषयवस्तुका हिसावले फिल्मले 'रियालिस्टिक अप्रोच'लाई लिन खोजेको छ जुन आफैँमा सुखद् सुरुवात हो।

भूकम्पअघि नै छोरी पिङ्चावतीलाई विद्यालय पठाउन भेडा घोडा बेचेर चेन्जारोङ मलेसियातिर गएका हुन्छन्। वैदेशिक यात्राको विवशता पछिल्लो समय बनेका धेरै फिल्मले उठाउन थालेको विषय बनेको यसले पनि स्थापित गर्छ। त्रिशुली बजारमा घर बनाउने, स्याफ्रुबेसीमा छोरीलाई पढाउने सपना छ यो जोडीको। २०७२ सालको भूकम्पले गाउँ शहर सबैतिर ध्वस्त बनायो। छोरी पिङ्चावती भूकम्पमा आफ्नै घरभित्र थिचिन्छिन्। घटना प्रत्यक्ष देखेकी स्यरल्हामुको मानासिक सन्तुलन गुम्छ। बोम्बा(झाँक्री)को उपचारले बीसको उन्नाइस हुन्न। भूकम्पको अर्को पराकम्पनले बल्ल होसमा आउँछिन् उनी। पिङ्चावतीलाई उद्धार टोलीले हेलिकप्टर हुँदै उपचारका लागि काठमाडौं पुर्‍याउँछ।

पिङ्चावतीको थाह पत्तो नलागेपछि चेन्जारोङले पनि स्यरल्हामुलाई मलेसियाबाटै हप्काउँछन्। छोरी काठमाडौं पुगेको खबरले स्यरल्हामु गाउँमा बस्न सक्दिनन्। छोरीको खोजीका लागि काठमाडौंमा उनको संघर्ष पीडादायी छ।

भूकम्पसँग जोडिएको मानवीय पक्षलाई फिल्ममा उतार्ने प्रयास गरेका छन् वलले। तर, प्रस्तुतीमा फितलोपन बारम्बार देखिएको छ। काठमाडौंमा टिक्न मदिरालयमा काम गर्ने स्यरल्हामु त्यहीँको 'ड्रेस'मा छोरी खोज्न हिँडेको दृश्य अस्वभाविक लाग्छ।

आर्गानिक भन्दै आक्रामक प्रचार गरिएको फिल्मको मुख्य थिम देखिन्छ – तामाङ पहिचान। तामाङ संस्कृति र पहिचानको मुद्दाका एजेन्डालाई फिल्मले स्थापित गर्न खोजेको छ। नीरफूल, जसरी भगवानलाई चल्दैन, तामाङ नागरिक राज्यबाट बहिस्करणमा परेको छ भन्ने भाष्य स्थापित गर्न खोजेका छन् निर्देशकले। धादिङको रुबी भ्यालीको विशाल भेडीखर्कबाट फिल्मको कथा सुरु हुन्छ। रुबी भ्यालीका दृश्य फिल्मका गहना हुन्।

राज्य संयन्त्रले भाषा नबुझ्दा तामाङ समुदायले निकै दु:ख पाएको मुद्दा फिल्ममा उठान गरिएको छ। तामाङप्रति परम्परागत रुपमा स्थापित गरिने भाष्यको ठीक अपोजिट उभिएका छन् निर्देशक। फिल्ममा बाहुन/क्षेत्री नायक र तामाङ भिलेन हुने 'परम्परा'को ठीक उल्टो छ यसमा। असन्तुलित दृष्टिकोणमाथि फूलमानले प्रहार गरेको मान्न सकिन्छ। नीरफूलमा बाहुन क्षेत्री खलनायक छन्।

फिल्मले पहिचानको मुद्दालाई बलियो ढंगबाट उठाउन खोजे पनि विषयवस्तुमा केन्द्रित हुन नसक्दा निर्देशक चुकेका छन्। विपद्को मुद्दा, पहिचानको मुद्दा, स्थान र नाममाथिको राजनीतिक मुद्दा, सिंहदरबारमा पहुँचको मुद्दा, रोजगारीका मुद्दा, विद्यालयसम्मका मुद्दा सबै अटाउँदा निर्देशकले भन्न खोजेको चाहिँ के हो - गायव हुन्छ।

यिनै अल्झिएका मुद्दाले मुख्य पात्र चेन्जारोङ (दयाहाङ राई)को ढाड सेकिएको छ। फिल्मलाई कसैले धानेका छन् भने दयाहाङले नै। पृष्ठभूमिको भार अनावश्यक रुपमा थोपार्दा कथाले गति लिन सकेको छैन। चल्तीका कलाकार बुद्धि तामाङ क्षमताभन्दा औशत भूमिकामा छन्। उनीबाट यसभन्दा धेरै राम्रो काम निकाल्न सकिन्थ्यो।

फिल्ममा लीलानाथ बनेका सरोज अर्यालको अभियन जीवन्त छ। 'लीलानाथको लीला' भन्दै रेस्टुराँ बारदेखि अनाथ गृह सञ्चालकसम्म अर्यालको भूमिकाले दयाहाङको सेकिएको ढाडमा केही मलमपट्टी हुन्छ। राजन खतिवडा जमेका छन्।

कुनै समय समसमायिक विषयको 'सेलफोन' सर्ट फिल्म बनाएर चर्चा बटुलेका व्यक्ति हुन् निर्देशक वल। सर्ट मुभीको सफलताले मुलधारको व्यवसायिक फिल्ममा साथ दिने थियो भने फिल्म फरक हुन सक्थ्यो। मुल मर्मलाई पटकथाले बाँध्न नस्कदा भूकम्पले तहस नहस बनाए जस्तै कथा भत्किएको छ। प्रायोजकलाई देखाउन फिल्म उत्तिकै रुमल्लिएको छ। पछिल्ला दिनमा नेपाली फिल्ममा 'कोभर्ड एडभर्टिजमेन्ट' खुलेआम देखाउन थालिएको जुन आफैँमा अर्को छलफलको विषय हो।

दयाहाङ विदेशबाट फर्केर छोरी खोज्दाका दृश्यहरु अस्वभाविक लाग्छन्। २०७४ यता संघीयतासँगै गाउँगाउँमा स्थानीय सरकार छन्। पहिचानको मुद्दा सम्बोधनका क्रममा छ। सायद कोरोनाका कारण फिल्मको प्रदर्शन ढिला भएकोले पनि हुन होला – फिल्मले उठाउन खोजेको मुद्दा केही पुरानो लाग्छ।

चेन्जारुङले भगवानलाई चलाउन थालेको नीरफूलको अस्तित्व जोगाउन र मुद्दा स्थापित गर्न भने निर्देशकको मेहनत पुगेको छैन।

समग्रमा नेपाली मौलिक कथा पस्किएका छन् फूलमानले। फिल्मको प्रचारमा 'जारी' जस्तै मौलिक भनिएको छ। जारीसँग जोडेर प्रचार गर्दैमा जारीजस्तै हुन सक्दैन। दयाहाङलाई लिड रोलमा लिँदैमा सबै निर्देशक सफल बन्न पनि सक्दैनन्। फूलमानले यिनै कुरालाई स्थापित गरेका छन्। यद्यपि, पहिलो प्रयासमै सबैकुरा एउटा निर्देशकबाट अपेक्षा गर्नु पनि गलत हो। अहिलेलाई यतिमात्र भन्न सकिन्छ - लामो समयदेखि कला साहित्यमा कलम चलाउनेले कस्तो फिल्म बनाउँछन् भन्ने बुझ्न मन छ भने यो हेर्नैपर्ने नेपाली फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell