पाकिस्तानमा हुने भनिएको एसियाली क्रिकेट परिषद्(एसीसी) एसिया कपको आयोजनास्थलको विवाद लम्बिएको धेरै भइसक्यो। यस्तोमा पछिल्लो समय पाकिस्तानले प्रस्ताव गरेको 'हाइब्रिड मोडल' अनुसार नै प्रतियोगिता आयोजना हुनेमा सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतीय सञ्चारमाध्यम द हिन्दुले एसियाली क्रिकेट परिषद्का अध्यक्ष तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले प्रस्ताव गरेको 'हाइब्रिड मोडल'मा सहमति नजिक पुगेको दाबी गरेको छ। जसअनुसार भारतका खेलहरु श्रीलंकामा र भारतबाहेकका अन्य देशका खेलहरु पाकिस्तानमा हुनेछ। एसीसीले यसको घोषणा मंगलवार गर्ने बताइएको छ।
यो मोडलअनुसार नेपाल र पाकिस्तान, बंगलादेश र अफगानिस्तान, अफगानिस्तान र श्रीलंका तथा श्रीलंका र बंगलादेशबीचका खेल पाकिस्तानको लाहोरमा हुनेछ। यसमा भारत र पाकिस्तान तथा नेपाल र भारतबीचको खेल श्रीलंकामा हुनेछ। त्यस्तै शीर्ष चारका खेलहरु पनि श्रीलंकामा नै हुनेछ।
पीटीआईलाई उद्धृत गर्दै लेखिएको समाचारमा नेपाल र पाकिस्तानको खेल लाहोरमा हुने बताउँदा श्रीलंकामा भारत र पाकिस्तान तथा भारत र नेपालबीचको खेल हुने बुझिन्छ।
एसिया कप सेप्टेम्बर महिनामा हुनेछ। पाकिस्तानमा खेल्न जान भारतले नमानेपछि पाकिस्तानले हाइब्रिड मोडलको प्रस्ताव गरेको थियो।
नेपाललाई अवसर
मिडिया रिपोर्टहरुलाई आधार मान्दा एसिया कपमा नेपालको एउटा खेल श्रीलंका र अर्को खेल पाकिस्तानमा हुने देखिन्छ। नेपालले केही महिनाअघि घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो। एसिया कपमा नेपाल भारत र पाकिस्तान रहेको समूहमा छ।