PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मनसुन भित्रिन नेपालमा बन्दैछ अनुकूल वातावरण



रासस

मनसुन भित्रिन नेपालमा बन्दैछ अनुकूल वातावरण

काठमाडौं : पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो। गर्मीका कारण तराई-मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसददेखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए।

सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ। अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ।

नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ।

यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको देखिएको छ। यसले निर्धारित समयकै नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए।

उनले भने, ‘शनिवारदेखि नै कोशी प्रदेशमा तापक्रम घटिरहेको छ, बादल बनिरहेको छ र मनसुनका लागि आवश्यक अनुकूल वातावरण बन्दै गएको अवस्था देखिन्छ।’

आइतवार कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

साथै, कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। देशभर वृद्धि भएको अधिकतम् तापक्रम आइतवारदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell