PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दाइजोको निहुँमा हुने हिंसा कायमै, सर्लाहीमा दुई महिलाको भयो वीभत्स हत्या



रासस

दाइजोको निहुँमा हुने हिंसा कायमै, सर्लाहीमा दुई महिलाको भयो वीभत्स हत्या

सर्लाही : दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ३ स्थित फरहदवा र वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो।

वडा नम्बर ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट एक लाख रुपैयाँ नल्याएको भन्दै पटक-पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए। यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समयअगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताइन्।

ईदाका बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटक-पटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाए।

‘इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो,’ बुबा साहले भने।

कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षीया इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ।

दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि उनको मृत्यु भएको थियो।

इन्द्रकलादेवीको शवलाई लखन्देही नदीमा दाहसंस्कार गर्न लागिएको खबर पाएपछि जल्दै गरेको अवस्थामा शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।

‘लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको छ,’ पञ्जियारले भने।

इन्द्रकलादेवीका श्रीमान राजाराम घटना भएकै दिनदेखि फरार छन्। शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell