PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

वाग्मतीको बजेट : अर्थमन्त्रीले एकलौटी गरेको सत्तापक्षकै सांसदको आरोप, प्रतिपक्षको छुट्टै चेतावनी



निशा गुरुङ

वाग्मतीको बजेट : अर्थमन्त्रीले एकलौटी गरेको सत्तापक्षकै सांसदको आरोप, प्रतिपक्षको छुट्टै चेतावनी

हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी गरिरहेको छ। प्रदेश सरकारले बजेट प्रस्तुत नगर्दै यसप्रति असन्तुष्टि देखिन थालेको छ।

जेठ १४ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्दैछ। सरकारले आवश्यकताका आधारमा नभई सत्तामा रहेका नेताहरुको इच्छामा बजेट निर्माण गरिरहेको भन्दै असन्तुष्टिका स्वरहरु सुनिएका हुन्।

बजेट प्रस्तुत गर्ने तयारीमा रहेको वाग्मती सरकारसँग सत्तापक्षकै सांसदहरु असन्तुष्टि देखिएका हुन्। दीर्घकालीन रणनीतिक योजनामा भन्दा मतदाता फकाउने टुक्रे योजनामा केन्द्रित रहेर बजेट आउने भन्दै सत्तापक्षकै सांसदहरुले चिन्ता व्यक्त गरिरहेका छन्।

अर्थमन्त्री बहादुरसिं लामाले आफ्नो गुट हेरेर मात्रै योजना दिने तयारीमा गरेको कांग्रेसका एक सांसदले बताए। सांसदहरुले बजेटका लागि योजना माग गर्न जाँदा बजेट नभएको भनेर टार्ने गरेको गुनासो गरेका छन्।

‘हाम्रो योजनाहरु नपर्नेजस्तो देखिएको छ। अर्थमन्त्री केन्द्रीय नेताको निर्देशनमा योजना छनौट गर्ने पक्षमा हुनुहुन्छ’, ती सांसदले भने , ‘केन्द्रीय भाउजुको निर्देशनमा योजना छनौट भएको छ। तर, प्रदेशका प्रतिनिधिहरुको कुरा सुन्ने गरेको छैन।’

उनले भौतिक पूर्वाधार मन्त्रालयले १५ अर्बको पुरानै योजनाहरु राख्दा नयाँ योजना हाल्न बजेट छैन भनेर मन्त्रालय पन्छिएको आरोप लगाए। ती सांसदले प्रदेश सरकार केन्द्रको दबाब र व्यक्तिगत स्वार्थमा योजना बनाइरहेको भन्दै त्यसो गरेमा सत्तापक्षकै सांसदहरुले बजेट पास गर्न नदिने चेतावानी दिए।

संसदीय दलको निर्वाचनमा आफूलाई मतदान नगर्ने सांसदहरुलाई अर्थमन्त्री लामाले बजेटमा बाइपास गरेको असन्तुष्ट पक्षका सांसदहरुको गुनासो छ।

त्यसैगरी, सत्तापक्ष नेकपा (माओवादी केन्द्र)कै सांसदले पनि आफूहरुको योजना नपर्ने आशंका रहेको बताए। प्रत्येक मन्त्रालयमा जनताको योजना बोकेर माग गर्न जाँदा समेत मन्त्रीहरुले बजेट छैन भनेर टार्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘प्रत्येक मन्त्रालयमा आफ्नो क्षेत्रको लागि योजना माग गर्न जाँदा सबै मन्त्रीज्युहरुले बजेट छैन शिलिङ घटेर आएको छ भन्दै टार्ने गरेका छन्। हाम्रो योजना परेन भने जनताले बस्न दिने अवस्था छैन’, ती सांसदले भने, ‘मुख्यमन्त्रीज्युलाई पनि भेटेर योजना समेट्न अनुरोध गरेका छौँ, तर बजेट सोचेजस्तो छैन भनेर टार्नु भएको छ। यसमा हाम्रो आशंका छ।’

उनले पुरानो योजनाहरु भनेर प्रदेश सरकारले टार्ने योजना बनाएर बजेटमा विभेद गरे बजेटको पूर्ण रुपमा विरोध गर्ने प्रतिक्रिया दिए।

१४ जेठमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सरकारका सत्ता पक्षकै सांसदहरुका असन्तुष्टिबिच बहुमतले पारित भएको थियो। नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदहरुले प्रदेशबारे चुनौती र प्रश्न उठेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्ने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउनुपर्ने चर्को आवाज उठेको थियो।

वाग्मतीको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले समान ढंगले आवश्यकताको आधारमा बजेटमा समेट्नुपर्ने बताए। उनले बजेट बनाउने क्रममा प्रतिपक्षीलाई बाइपास गरिए कडा प्रतिवाद गर्ने समेत चेतावनी दिए।

थपलियाले एमालेले जनताको योजना एकमुष्ठ रुपमा पेस गरेको भन्दै प्रदेश सरकारले पार्टी वा व्यक्ति विशेष खालका योजना छनौट गरे कुनै हालतमा बजेट पास नहुने बताए।

चालु आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार घटाएर ६३ अर्ब हाराहारीमा ल्याउँदैछ। प्रदेशका ११ वटा मन्त्रालयले चालु आर्थिक वर्षभन्दा १० प्रतिशत कम सिलिङ प्राप्त गरेका छन्।

वाग्मती प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीलगायतको गठबन्धनको सरकार छ। सरकारको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ। ११० सदस्य रहेको वाग्मती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किशान पार्टीको ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell