PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय



रासस

दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय
फाइल फोटो।

गलकोट : बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन। खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले जनाएको छ।

जिल्लामा रहेका ६४ हजार एक सय ५३ घरपरिवारमध्ये आठ सय ६५ घरमा अझै शौचालय नभएको पाइएको तथ्याङ्क कार्यालय बागलुङका कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए। उनले जिल्लाको तथ्याङ्कमा अझै पनि आठ सय ६५ घरपरिवारमा शौचालय नभएको, कुवा तथा खुला इनारको पानी प्रयोग गर्ने पाँच सय ३१ परिवार र नदी तथा खोलाको पानी प्रयोग गर्ने तीन सय १६ परिवार रहेको जानकारी दिए।

उनका अनुसार जिल्लामा एक सय ६७ सार्वजनिक शौचालय छन् भने सार्वजनिक ढलमा मिसिने शौचालय एक हजार आठ सय ६५, सेफ्टी ट्याङ्की भएको ४७ हजार दुई सय ६४ परिवार र साधारण खाल्टे शौचालय भएका १३ हजार नौ सय ४२ घरपरिवार छन्।

बाढीपहिरोको जोखिम भएका स्थानमा कतिपयले खाल्टे शौचालय प्रयोग गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख तुल्सी बस्नेतले बताए। छिट्टै भत्किने, पहिरोले लैजाने, बाढीले पुर्नेलगायत समस्याका कारण कतिपय घरमा शौचालय नभएका उनको भनाइ थियो।

‘दश वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो। उक्त समयमा सबैको घरमा अस्थायी सम्मको शौचालय थिए। दश वर्षको अवधिमा बढी मात्रामा परिवार छुट्टिदा, बाढीपहिरोका कारण शौचालय नभएका घरको सङ्ख्या बढे्को हो,’ प्रमुख बस्नेतले भने।

अहिलेको सरसफाइको जिम्मेवारी स्थानीय तहलाई दिइएको भन्दै उनले जिल्लामा खानेपानी आयोजना सञ्चालन नभएका, अझै खोला र खुल्ला कुवाको पानी खाइरहेका परिवार धेरै रहेका बताए।

घरमा शौचालय नभए पनि सार्वजनिक तथा सयुक्त रुपमा रहेका शौचालय प्रयोग गर्ने परिवार रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ।

तथ्याङ्क कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा रहेको ६४ हजार एक सय ५३ घरपरिवारमध्ये तीन प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ को नतिजाले देखाएको हो।

जिल्लाका तत्कालीन सबै गाविसमा घर-घरमा चर्पी निर्माण सम्पन्न भइसकेको भन्दै नेपालको ८औँ खुला दिसामुक्त जिल्लाको रुपमा विसं २०७० माघ १६ गते घोषणा गरिएको थियो।

खुला दिसामुक्त जिल्ला घोषणा भएको १० वर्षपछि आठ सय ६५ घरमा शौचालय नभएको पाइनु दुःखद् रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। सार्वजनिक तथ्याङ्कका आधारमा जिल्लामा सरसफाइको अवस्था नाजुक रहेको देखाएको उनको भनाइ छ।

शौचालयको अभावले खुल्ला स्थानमा दिसा, पिसाब गर्दा आउ, हैंजा, झाडापखलालगायत रोगको सङ्क्रमण फैलिने भएकाले सबैले शौचालय बनाउनुपर्नेमा बरालले जोड दिए।

राष्ट्रिय जनगणना २०७८ अनुसार बागलुङको जनसङ्ख्या एक लाख १६ हजार एक सय ९४ पुरुष, एक लाख ३३ हजार १७ महिला गरी दुई लाख ४९ हजार दुई सय ११ रहेको छ। विसं २०६८ को जनगणना अनुसार दुई लाख ६८ हजार छ सय १३ जनसङ्ख्या थियो। अहिले यहाँको जनसङ्ख्या शून्य दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell