काठमाडौं : नेपाली कांग्रेस रुपान्तरण अभियानले आइतवार दाङमा लुम्बिनी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम गर्दै पार्टीभित्र देखिएको विकृतिबारे कार्यकर्तालाई सचेत तुल्याएको छ। लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा रुपान्तरण अभियानका नेताहरुले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेका थिए। अन्तर्क्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्य–मान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी गरे।
कांग्रेस नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नेपाली कांग्रेस पार्टी सिद्धान्त र विचारको मार्गदर्शनभन्दा बाहिर गई चल्न थालेको बताए। यस्तो परिस्थितिलाई सच्याई नयाँ रुपान्तरणको बाटो खोज्न आफूहरुले अभियान सञ्चालन गरेको उनको भनाइ थियो।
केसीले पार्टीभित्र सीमित व्यक्तिको मनोमानी चल्दै आइरहेको आरोप लगाउँदै अब नेपाली कांग्रेस एकढिक्का बनाएर लैजाने प्रयासमा रुपान्तरण अभियान केन्द्रित भएको बताए। ‘पार्टी अहिले सीमित व्यक्तिको हातमा छ। जसले पार्टीलाई लथालिङ्ग अवस्थामा पुर्याएको छ,’ केसीले भने।
पार्टीमा नातावादमात्रै नभई अहिले धनवादसमेत हाबी हुँदै गएको चर्चा गर्दै केसीले सच्चा कार्यकर्ताहरु पार्टीको हरेक अवसरवाट बञ्चित हुनुपर्ने स्थिति सिर्जना भएको बताए। उनले भने, ‘तीन तहको निर्वाचनको टिकट वितरण होस् या समानुपातिक आरक्षण सिट वितरण होस्, त्यो कुरामा आर्थिक चलखेल वा नातावाद हाबी भएको छ।’
कार्यक्रममा युवा नेता रन्जित कर्णले बीपी जन्माएको नेपाली कांग्रेसमा विचौलियाहरु हाबी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताए। नेतृत्वकर्मीहरु पार्टी र कार्यकर्ताहरुको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उनको ठहर थियो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको अध्यक्षता आयोजित कार्यक्रममा नेका केन्द्विय सदस्य मधु आचार्य,बिजुला बर्मा 'युवराज पाण्डे राना, लक्ष्मी पाण्डे लगायतले रुपान्तरण अभियानको आवश्यकता र औचित्य प्रस्ट्याएका थिए।