PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

मिर्गौलापीडित पत्रकार प्रेमलाई तामाङ समाज कतारबाट ५९ हजार सहयोग



पहिलोपोस्ट

मिर्गौलापीडित पत्रकार प्रेमलाई तामाङ समाज कतारबाट ५९ हजार सहयोग

काठमाडौं : नेपाल प्रवासी तामाङ समाज कतारले मिर्गौलापीडित पत्रकार प्रेम स्याङ्तानका नगद ५९ हजार १५० रुपैयाँ हस्तान्तरण गरेको छ। आइतबार तामाङ समाज कतारको नेपालस्थित आधिकारिक संस्था तामाङ समाज नेपालका पदाधिकारीहरुले नेपाल पत्रकार महासंघको आवास गृह तिलगंगामा पुगेर बिरामी स्याङ्तानलाई सहयोग हस्तान्तरण गरेका हुन्।  सहयोग हस्तान्तरणका क्रममा तामाङ समाज कतारका पूर्वउपाध्यक्ष तथा तामाङ समाज नेपालका सल्लाहकार कुमार मोक्तान, तामाङ समाज नेपालका अध्यक्ष सञ्जय तामाङ, उपाध्यक्ष कमल योञ्जन, तामाङ पत्रकार संघका निवर्तमान अध्यक्ष एवं प्रभाव दैनिकका सम्पादक विष्णु तामाङलगायत सहभागी थिए।

कतारमा रहेर लामो समय पत्रकारिता गरेका स्याङ्तानले तामाङ समाज कतारको प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए। कतारको दोहाबाट प्रकाशित राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकमा आबद्ध उनी नेपाल फर्केपछि राजधानी दैनिकमा कार्यरत थिए। मिर्गौला फेल भएपछि केही महिनायता उनी नियमित कामबाट अलग भएका छन्।

स्याङ्तान अहिले गौशालामा रहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा नियमित डायलाइसिस गराइरहेका छन्। सातामा दुईपटक डायलाइसिस गराइरहेका उनी मिर्गौला प्रत्यारोपणको तयारीमा छन्। तर मुटु, मधुमेहलगायत रोगसमेत रहेकाले तत्काल प्रत्यारोपण गर्न कठिन हुने उनको उपचारमा संलग्न चिकित्सकको भनाइ छ। यसअघि काभ्रेको धुलिखेल अस्पतालबाट उनलाई भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रिफर गरिएको थियो। केही दिन त्यहाँ उपचारपछि उनी हाल पत्रकार महासंघको आवास गृहमा बसेर उपचार गराइरहेका छन्।   

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ केराबारी निवासी पत्रकार स्याङ्तानका साथमा पाँच  वर्ष र नौ महिनाका दुई छोरीसहित श्रीमती छन्। आर्थिक अवस्था कमजोर रहेका उनले सहयोगका लागि सबैसँग आह्वान गरेका छन्। पत्रकार महासंघलगायत विभिन्न संघसंस्था र व्यक्तिहरुको अगुवाइमा स्याङ्तानको उपचारका लागि सहयोग जुटाउने कार्य भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell