काठमाडौं : ग्वल: देश अर्थात पशुपति क्षेत्र। भलाअष्टमीका दिन आज पशुपतिको जय वागेश्वरी क्षेत्रमा अन्य स्थानको भन्दा फरक किसिमको जात्रा मनाइयो।
आइतवार बेलुकी जय वागेश्वरी भन्दा केही माथि रहेको सत्तलबाट दुई कन्या केटी र एक कुमार केटालाई त्रिशुलमा घोचेर खटमा राखेर नगर परिक्रमा गराइयो। स्थानीय भाषामा यसलाई 'मचाति जात्रा' अर्थात बच्चालाई त्रिशुलले घोचेर गरिने जात्रा भनिन्छ। अहिले भने यस जात्रालाई त्रिशुल जात्रा भनेर भन्ने गरिन्छ।
राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा यो जात्रा मनाउन सुरु गरिएको जनविश्वास छ। स्थानीयका अनुसार तान्त्रिक विद्यामा निपुण रहेका बन्धुदत्त आचाजु नाम गरेका एक गुरु थिए। देवीदवतालाई समेत वशमा राख्न सक्ने आचाजुको पालामा नागर्जुन जंगल (जामाचो) मा रहेको एक राक्षसले ग्वल: देशमा रहेका बालबालिकाहरुलाई चोरेर त्रासपूर्ण वातावरण सिर्जना गरेको थियो। सो कुरा राजा कहाँ सम्म पुग्यो र राजाले आचाजुलाई बोलाएर राक्षसलाई वशमा लिने योजना बनाउन भने। ग्वल: देशमा लक्ष्मण रेखा बनाइयो। र राक्षस बस्ने जामाचोबाट उनीहरुकै बच्चाहरु अपहरण गरेर त्यहाँ ल्याइयो। त्यसपछि जामाचोबाट सिधै देखिने सिफल डाँडामा लगेर उनीहरुको बच्चालाई त्रिशुलले घोचेको जस्तै गरेर राक्षसलाई तर्साइयो। आफ्नै बच्चाहरुलाई त्रिशुलले घोचेको देखेपछि राक्षसले त्यसपछि ग्वल: देशको बच्चाहरुलाई अपहरण गर्न छोडेको थियो।
राक्षसलाई तर्साएर ग्वल: देशमा शान्ति कायम भएको अवसरमा अहिलेसम्म यो पर्वलाई निरन्तर चलि आएको छ।
जय वागेश्वरीबाट सुरु हुने खट जात्रामा दायाँ बायाँ दुई कन्या केटीहरु राखिन्छ भने बीचमा कन्या केटा राख्ने गरिन्छ। दुई जना कन्या वागेश्वरी र कुमारीका प्रतिक हुन भने कुमार भने भैरवका प्रतिक हुन्।
प्रत्येक वैशाख पूर्णिमाका दिन जय वागेश्वरी जयन्तीमा हुने पूजाका दिन सहभागी हुने मध्ये दुई कन्या र एक कुमारलाई जात्राका लागि छान्ने गरिन्छ।
काठमाडौंवासीलाई गाली
माचाति जात्रा हेर्न काठमाडौं र भक्तपुरबाट समेत मानिसहरु आज जय वागेश्वरी पुगेका थिए। भक्तपुरमा आज भलाअष्टमीका दिन मध्यरातमा नवदूर्गागणको ख्वापा: (मुकुट) जलाउने परम्परा रहेको र त्यो अघि जय वागेश्वरीको जात्रासँग हेर्न आउने चलन भएर भक्तपुरवासीहरु आउने गरेको स्थानीय बताउँछन्।
'यमी' ( यें अर्थात काठमाडौंका बासिन्दालाई बोलाउने नाम) भन्दै यस जात्रामा गाली गर्ने गरिन्छ। किम्बदन्ती अनुसार ग्वल: देश काठमाडौं शहर (वसन्तपुरलगायत भित्रि शहर) बाट बाहिर थियो। तान्त्रिक मा निपुण आचाजु भुवनेश्वरी माताको पूजा गर्छन्। भगवान खुशी भएर आचाजुलाई जनावरको बली दिन भन्छन्। तर बली दिन जनावर नभए पछि भगवानले आचाजुको पछाडी रहेको व्यक्तिको बली दिन भन्छन्। आचाजुको पछाडी उसको एक्लो छोरा रहेको हुन्छ। त्यसपछि बन्धुदत्तले आफ्नो छोराको ज्यान जोगाउन भगवानलाई आग्रह गर्छन्। तर अन्तत: आचाजु आफ्नै छोरा बली दिन बाध्य हुन्छन्। भगवानसँग बिन्ती गरेपछि अन्त्यमा छोरालाई अमर बनाउन अमृत लिन जाने उपाय भगवानले दिन्छन्। त्यसै क्रममा छोराको शव एक कोठामा राखेर बन्धुदत्तले 'काठमाडौं शहर'की आफ्नी श्रीमतीलाई साँचो दिएर कोठा नखोल्नु भनेर गएको हुन्छ। तर श्रीमतीले जान्ने भएर साँचो खोल्छिन र आफ्नो छोरालाई मृत अवस्थामा देख्छिन्। त्यसपछि बन्धुदत्तले आफ्नो छोरालाई बचाउन सक्दैनन्। त्यसै भएर काठमाडौंकी छोरीको गल्तीले छोराको मृत्यु भएकोले जात्रामा काठमाडौंवासीलाई 'यमी' भन्दै गाली गर्ने, अपशब्द बोल्ने गरिएको हो।
मचाति जात्रामा पहिला ९ वटा खटहरुलाई जात्रा गरेर नगर परिक्रमा गराउने प्रचलन रहेको थियो। देवपतन क्षेत्रमा नौ वटा ढोका,धारा,बाटो,जाति,स्वर, देवीदेवता इत्यादी रहेकाले नव युक्त क्षेत्र भएकाले 'ग्वल: देश' भनिएको हो। त्यही अनुरुप ९ वटा खटको जात्रा समेत हुने गरिन्थ्यो। हाल भने तीनवटा खटको मात्र जात्रा गरिने गरिएको छ।
जय वागेश्वरीसँगै बाग्मती आर्यघाटस्थित बछलेश्वरी र अर्को पशुपति स्थित बज्रघरबाट मात्रै हाल खटको जात्रा गर्ने गरिन्छ। बछलेश्वरी र बज्रघरबाट हुने खट जात्रामा भने भैरवको रुपमा एक जना कुमार केटालाई त्रिशुलले घोचेर नगर परिक्रमा गराउने गरिन्छ।
यही दुई खटको पछाडी बन्धुदत्तको शव यात्रा समेत गराइन्छ। यस्तै वन्धुदत्तको प्रतिकका रुपमा उनले बोक्ने त्रिशुलमा पुराना कपडा राखे त्यसलाई शव यात्राका क्रममा नगर परिक्रमा गराइने गरेको छ। यसरी बन्धुदत्तको शव परिक्रममा गराउनुको पनि किम्बदन्ती रहेको छ।
छोराको लागि अमृत लिने जाने क्रममा बाटोमा सबैले बन्धुदत्तले आफ्नो छोराको हत्या गरेको थाहा पाउँछन र हल्ला गर्छन्। आफ्नी श्रीमतीका कारण छोरालाई अमर बनाउन नसकेपछि बन्धुदत्तले आफूले ल्याएको अमृत फालिदिन्छन्। अमृत भुइँमा पोखिएपछि त्यहाँ दुबोहरु पलाउँछन्। अमृतका कारण ती दुबोहरु अमर हुन्छन् तर बन्धुदत्त भनेर अमर हुन सक्दैनन्। त्यसैले बन्धुदत्तको शव यात्रा जात्रा सँगै गर्ने प्रचलन रहेको कथन छ।
बालबालिकाहरुलाई खटमा राखेर नगर परिक्रमा गरेर पशुपतिको ब्रजघर अगाडी लगेर निकाल्ने गरिन्छ। उनहरुलाई खटबाट निकाले पछि कपडाले छोपेर बागमतीको पानीले स्नान गराएर कपडाले छोपेर नै जय वागेश्वरी लगेपछि जात्रा समापन हुने गर्छ।