PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आकस्मिक अवसरमा ‘महारथी’ प्रतिस्पर्धी, नेपालका लागि के-के छ फाइदा?



मुकुन्द घिमिरे

आकस्मिक अवसरमा ‘महारथी’ प्रतिस्पर्धी, नेपालका लागि के-के छ फाइदा?
Photo : ACC

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले झण्डै एकवर्ष कुनै अन्तर्राष्ट्रिय खेल खेलेन। नेपाली महिला टोली सन् २०२२ को जुन २४ मा अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रिएको थियो।

करिब एक वर्ष खेल नहुँदा क्रिकेटरहरुले नै अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागिता नजनाएको यति दिन भयो भनेर सामाजिक सञ्जालमा राख्न थाले। यो अभिभावक निकाय नेपाल क्रिकेट संघ (क्यान)प्रति सांकेतिक विरोध नै थियो उनीहरुको।

बल्लतल्ल गत मे महिनामा मलेसियासँग अन्तर्राष्ट्रिय प्रतिष्पर्धा खेल्यो सोही टोलीले। कप्तान रुबिना क्षेत्रीले ३४० दिन पछि अन्तर्राष्ट्रिय खेल खेल्न पाउँदा खुशी भएको बताएकी थिइन्।

पाँच खेलको सिरिजपछि नेपाल फर्किएको राष्ट्रिय टोलीलाई अहिले ‘सरप्राइज’ मिल्यो। नेपाली टोलीले अहिलेसम्मकै ठूलो स्तरमा खेल्ने अवसर पाएको थियो।

हङकङमा हुन गइरहेको एसीसी वुमन इमर्जिङ टिम्स एसिया कपमा थाइल्याण्डले नाम फिर्ता लिँदा नेपालले सहभागिता जनाउन पाउने अफर एसियाली क्रिकेट परिषद् (आईसीसी)ले क्यानलाई दियो। तर सबै प्रक्रिया पूरा गरेर दुई दिन भित्रमा टोली पठाइसक्नु पर्ने चुनौती पनि थियो। यसैबिच, शनिवार नेपाली महिला क्रिकेट टोली हङकङ पुग्यो।

नेपाली पुरुष र महिला दुवै राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइसकेका प्रशिक्षक जगत टमाटा नेपाली महिला टोलीका लागि यो राम्रो अवसर भएको बताउँछन्।

‘थाइल्याण्डले नाम फिर्ता लिँदा नेपालले राम्रो अवसर पाएको छ। यसमा राम्रो टोलीसँग खेल्ने अवसर मिल्नेछ। इन्डिभिजुअल र  टिमको एउटा प्रदर्शन उच्च बनाउने पनि अवसर हुनेछ’, टमाटाले पहिलोपोस्टसँग भने, ‘अगाडि विश्वकप छनोटका खेल पनि नजिक आउँदैछन्। त्यसका लागि एउटा राम्रो अनुभव लिन सकिन्छ। टी २० फर्म्याटको खेल हो, नतिजा जे पनि हुन सक्छ।’

यो प्रतियोगितामा छनोटका क्रममा वर्षाका कारण बाहिरिनु परेको टमाटाले सम्झिए।

अघिल्लो साल असार महिनामा मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा घनघोर वर्षा भएपछि नेपालका लागि दूर्भाग्य सावित भएको थियो। यूएईविरुद्ध उत्कृष्ट बलिङ गरे पनि वर्षाले ब्याटिङको अवसर नै दिएको थिएन।

‘प्रतियोगिता खेलेर नै बाहिरिएको भए बेग्लै कुरा। ठूलो मिहिनेत गर्दा पनि त्यसको नतिजा नआउँदा जो कोहीलाई नराम्रो लाग्ने रहेछ। टिम कमजोर भएको होइन,’ काठमाडौं फर्किएर तत्कालीन प्रशिक्षक जगत टमाटाले भनेका थिए।

महारथी प्रतिस्पर्धी

हङकङमा जुन १३ मा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ। यसमा नेपालको पहिलो प्रतिस्पर्धी हुनेछ क्रिकेटमा महारथी टोलीमध्येको पाकिस्तानको ‘ए’ टिम। प्रतियोगितामा टेस्ट टोली भारत ‘ए’, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र श्रीलंका ‘ए’ टोलीको सहभागिता हुनेछ भने नेपाल, हङकङ, यूएई र मलेसियाको सिनियर टोलीले सहभागिता जनाउने छ।

दोस्रो खेलमा नेपालको प्रतिस्पर्धी भारत ‘ए’ हुनेछ भने तेस्रो खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ तथा यूएई र मलेसियाका टोली रहनेछन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल जुन २१ मा हुनेछ।

‘भारत, पाकिस्तानजस्ता ठूला टोलीले सहभागिता जनाउने हुँदा त्यसमा राम्रो प्रदर्शन गर्न सके सबैको आँखामा हामी पर्न सक्छौँ’, टमाटाले भने, ‘फ्रेन्चाइज लिगहरुमा जानका लागि पनि फाइदा हुन्छ।’

टेस्ट राष्ट्रका इमर्जिङ टोली पनि स्तरीय हुने भन्दै यसमा नेपालले राम्रो खेल्नुपर्ने टमाटा बताउँछन्।

‘हाम्रो टोलीमा रुबिना, सीताजस्ता प्रतिभावान खेलाडी छन्। उनीहरुसँग फ्रेन्चाइज खेलेको अनुभव राम्रो छ’, टमाटाले भने, ‘त्यसबाहेक पनि केही क्षमता राम्रा छ। यस सन्दर्भमा राम्रो क्रिकेट खेल्नु महत्वपूर्ण हुन्छ।’

नेपाली टोली

नेपाली टोलीले प्रतियोगिताकै लागि भनेर तयारी गर्न अवसर पाएको छैन। यद्यपि, लामो समयपछि भए पनि मलेसियासँग ५ खेलको ब्याइल्याट्रल सिरिज खेलाडीहरुलाई मैदानसँग साक्षात्कार भने गराएको थियो। सिरिज ३-२ ले जितेको नेपाली टोलीका लागि यो इमर्जिङ टिम्स एसिया कपका लागि तयारी जस्तै भयो।

हाल रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली हङकङमा छ। टोलीमा सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कविता जोशी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell