PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

छोटो समयका लागि प्रधानन्यायाधीश हुन लागेका कार्की विरुद्धका उजुरीमा अध्ययन सुरु



पहिलोपोस्ट

छोटो समयका लागि प्रधानन्यायाधीश हुन लागेका कार्की विरुद्धका उजुरीमा अध्ययन सुरु

काठमाडौं : प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल सुरु भएको छ। कार्कीविरुद्ध परेको उजुरीमाथि संसदीय सुनुवाइ समितिको बैठकमा छलफल भइरहेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। सिंहदरबारमा समितिको बैठक बसिरहेको हो। कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। कार्कीविरुद्ध बहालवाला न्यायधीशले नै उजुरी दिएका थिए।

अर्घाखाँचीमा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले उजुरी दिएका हुन्। कार्कीमाथि अधिवक्ता उत्तमबहादुर श्रेष्ठ, युवराज कोइराला, ओमप्रसाद रेग्मी, सुभाष ढकाल, गोकर्ण आचार्यले पनि उजुरी दिएका छन्। यस्तै, अमृत खरेल, ध्रुवलाल श्रेष्ठले पनि उजुरी दिएको सुनुवाइ समितिले जनाएको छ। 

अधिकांश उजुरी संवैधानिक परिषद्सम्बन्धी कानुन रिक्तता भइरहेका बेला सिफारिस गरिएकाले त्रुटिपूर्ण भएकोमा केन्द्रित छन्। वैशाख २५ को संवैधानिक परिषदको बैठकले कायमकुमकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। लामो सयमसम्म संवैधानिक परिषदको बैठक बस्न सकेको थिएन। राजनीतिक किचलोका कारण प्रधानन्यायाधीश सिफारिस हुन नसकेकोमा वैशाख २५ मा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीको पक्षमा सहमति जुटाएका थिए।

जेठ १७ देखि १० दिनको समय दिएर कार्कीविरुद्ध उजुरी आह्वान भएको थियो। कार्कीको कार्यकाल साउन १९ सम्म कायम रहनेछ। सोमवारको बैठकले कार्कीलाई समितिमा कहिले बोलाउने भन्ने टुंगो लगाउने पनि समितिका सदस्यले बताएका छन्। संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell