धनुषा : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको हो।
प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।
‘चालु आर्थिक वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ’, उनले भने, ‘प्रदेश सरकारको २० अर्ब र सङ्घीय सरकारले दिने १५ अर्ब गरी करिब ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको छ।’
सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनको भनाइ छ।
‘अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ। सङ्घ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो,’ अर्थ सचिव भट्टराईले भने।
चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको थियो।
गत मंगलवार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भई गत शुक्रवार सर्वसम्मतिले पारित भइसकेको छ। रासस