PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नारायणी नदीमा जथाभावी उत्खनन् नगर्न जिल्ला समन्वय समितिको निर्देशन



पहिलोपोस्ट

नारायणी नदीमा जथाभावी उत्खनन् नगर्न जिल्ला समन्वय समितिको निर्देशन
फोटो : रासस

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् भएको भेटिएपछि उत्खनन् कार्य रोक्न निर्देशन दिइएको छ। जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन् भइरहेको स्थानको अनुगमनपछि उत्खनन् रोक्न निर्देशन दिएको हो।

पानीबाटै नदीजन्य पदार्थ उत्खनन् गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन् गरेको र अन्यव्यक्तिलाई समेत उत्खनन् गर्न दिइएकाले तत्काल उत्खननमा रोक लगाइएको उनले बताए।

‘हामीले चार दिन अघिदेखि अनुगमन गर्दैछौँ भनेर गैँडाकोट नगरपालिकालाई भनेका थियौँ’, प्रमुख विश्वकर्माले भने, ‘हामीले बुझ्न खोजेको कुरा बुझ्न नपाएकाले फिल्डबाटै तत्काल नदीजन्य पदार्थको उत्खननमा रोकाएका छौँ।’

‘नदीजन्य पदार्थ उत्खननबारे हामी धेरै कुरामा स्पष्ट हुन सकेनौँ’ उनले भने, ‘हामी स्पष्ट नभएसम्मका उत्खनन् कार्य स्थगित गर्न लगाएको छु।’

नदीजन्य पदार्थ उत्खननको काम गतल तरिकाबाट भएको पाइए रोकेर कारबाही गर्ने तथा सहीरुपमा काम भएको पाइएमा कामलाई सहजीकरण गर्न आफू तयार रहेको प्रमुख विश्वकर्माले बताए।

‘यसै हेरेर मात्रै भन्न सकिँदैन, गलत भएको भए कानुनी कारबाही हुन्छ’, उनले भने, ‘नियमानुसार प्रक्रिया पुर्‍याएर नदीजन्य पदार्थ उत्खनन् गरिएको भए पनि हामीले कामलाई प्रोत्साहन गर्नुपर्छ, काम चाँडै होस् भन्ने हामी पनि चाहान्छौँ।’

गैँडाकोट नगरपालिका-९ का वडाध्यक्ष धामनाथ सापकोटाले नारायणीबाट उत्खनन् भएको नदीजन्य पदार्थ नारायणगढ-बुटवल सडक विस्तारसँगै विभिन्न आयोजनामा प्रयोग भइरहेको बताए।

‘नदीबाट झिकिएको पदार्थ नारायणगढ-बुटवल सडक विस्तार, भरतपुरको छ लेन सडक विस्तार, नारायणी तटबन्ध आयोजना तथा व्यक्तिगतरुपमासमेत प्रयोग गर्ने गरी झिकिएको छ’, उनले भने, ‘नगरपालिकाले आवश्यक राजस्व लिएर नदीजन्य पदार्थ बिक्री गर्दै आएको छ।’

नारायणी नदीको गैँडाकोटतर्फबाट निकालेर बिक्री गरिएको नदीजन्य पदार्थबाट उठेको आधा राजस्व भरतपुर महानगरपालिकालाई बुझाउने गरी काम भइरहेको पनि वडाध्यक्ष सापकोटाले बताए।

‘नारायणी नदीको सानो भङ्गालोमा थुनेर बाटो नै निर्माण गरी नदीबाट ढुङ्गा, गिटी तथा बालुवा झिक्ने काम भएको थियो’, नदीको भङ्गालो थुनिएको ठाउँ देखाउँदै स्थानीयवासी शम्भुप्रसाद सापकोटाले भने, ‘पहिले यहाँबाट बाटो बनाएर नदीजन्य पदार्थ झिकेर ढुवानी गरेका थिए, नदीमा बाढी आएपछि ह्युमपाइप बगाउँदा उनीहरु माथितर्फ सरेका हुन्।’

विभिन्न आयोजना र व्यक्तिको गरी सात वटाभन्दा बढी एक्साभेटरले नदीबाटै नदीजन्य पदार्थ उत्खनन् गरिरहेको उनको भनाइ थियो। नदीको पानी भएको ठाउँलाई छोडेर बगरबाट मात्रै नदीजन्य पदार्थ झिक्न पाउने भए पनि नारायणी नदीमा भित्रबाटै झिकिएका छन्।

दैनिक एक सयभन्दा बढी टिप्परले पानी चुहाउँदै नदीजन्य पदार्थ बोकेर ओहोरदोहोर गर्दा गैँडाकोटको अधिकांश सडक भत्किएको स्थानीयवासी सापकोटाको भनाइ छ। नारायणगढ-बुटवल सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले नदीजन्य पदार्थ निकाल्नका लागि प्रयोग गरेको चार वटा एक्साभेटरमध्ये तीनवटाले अनुमति नै नलिएको पाइएको जिल्ला समन्वय समितिका इञ्जिनियर टङ्कप्रसाद भुसालले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell