
हेटौंडा : वाग्मती प्रदेश युवा परिषद्ले ‘वाग्मती प्रदेश युवा सम्मेलन २०८०’ आयोजना गर्ने भएको छ। सोमवार समाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कुमारी मोक्तानले असार ११ र १२ गते हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलनको घोषणा गरेकी हुन्।
सम्मेलनले बेरोजगारीलाई अन्त्य गर्ने र युवको क्षेत्रमा केही गरौं भन्नेहरुका लागि प्रभावकारी भूमिका खेल्ने जानकारी दिइन्। मन्त्री मोक्तनले ‘प्रदेश युवा सम्मेलन’ अरु सम्मेलन जस्तो नभएको भन्दै यसले नतिजा पनि दिने दावी गरिन्।
‘४२ प्रतिशत हिस्सा ओगटेको युवापुस्तालाई विदेशीनबाट रोक्न यो सम्मेलनले महत्वपुर्ण भूमिका खेल्नेछ। राज्यले युवाको क्षेत्रमा काम गरेको छ तर, युवाहरुले वेवास्ता गरेको महसुस गरेका छन्,’ मन्त्री मोक्तानले भनिन्, ‘त्यसैले पनि राज्य र युवा बीचको दुरी घटाउन सम्मेलनको आयोजना गरिएको हो।’
त्यसैगरी, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले देशमा युवा रित्तिने अवस्था आएको भन्दै युवाहरुको क्षेत्रमा पुलको भुमिकामा रहेर काम गर्न प्रदेश युवा सम्मेलनको आयोजना गरेको बताए। युवा क्षेत्रमा राज्यप्रति देखिएको उदाशिन र युवा क्षेत्रमा प्राप्त उपलब्धीहरुलाई समेट्न युवा सम्मेलनले प्रवाभकारी भुमिका खल्ने बताउँदै सम्मेलने प्रभावकारी नतिजा देखिने बताए।
सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणा अनुसार युवाको सहभागिता रहने जनाइएको छ। दुईदिने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिने जनाएको छ। सम्मेलनमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतम, सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठी, युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गरिने जनाएको छ।
त्यसैगरी, सम्मेलनमा उद्यमशीलताका विषयमा डा. सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले प्रशिक्षण दिइने बताइएको छ।
१५० जना युवाको सहभागिता रहने सम्मेलनमा सहभागी हुन २० देखि ३५ वर्षभन्दा कम उमेरका हुनुपर्नेछ। युवाको सहभागितालाई प्रभावकारी बनाउन जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सिमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तीमा २ जना युवा महिलालाई सहभागी गराउने जनाइएको छ। जिल्लाबाट जिल्ला युवा समितिमार्फत नै ७५ जना सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत सहभागिताका लागि ६० जना युवा सहभागी हुनेछन्। यस्तै सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुने जनाइएको छ।