काठमाडौं : इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’विरुद्ध खेलिरहँदा वर्षा सुरु भएको भएको छ। टस जितेर बलिङ रोजेको नेपालले १६औँ ओभरमा ७ विकेट लिँदा पाकिस्तानले ७५ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको छ।
हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको नेपालका लागि पहिलो ओभरमै कविता कुँवरले विकेट लिँदै राम्रो सुरुवात दिलाइन्।
उनले पहिलो ओभरको अन्तिम बलमा इमान फातिमालाई इन्दु वर्माबाट क्याच आउट गराइन्। त्यस्तै, दोस्रो र तेस्रो विकेट कविता जोशीले लिइन्। ५.३ ओभरमा सदाफ साम्सलाई बोल्ड आउट गरेकी उनले ५.४ ओभरमा नटालिया पर्वरिजलाई विकेटकिपर ज्योति पाण्डेबाट क्याच आउट गराइन्।
चौथो विकेट गुल फेरोजाको रुपमा सीता रानामगरले लिइन्। उनलाई खेलको १०.२ ओभरमा सीताले कप्तान रुविना क्षेत्रीबाट क्याचआउट गराइन्।
Photo: ACC
पाकिस्तानका लागि सम्हालिएर खेलिरहेकी सहवाल जुल्फिकारको विकेट पाँचौ विकेटका रुपमा मगरले नै लिइन्। २८ रन बनाएर खेलिरहेकी सहवाललाई सीताले १२.२ ओभरमा सम्झना खड्काबाट क्याचआउट गराइन्।
छैटौँ विकेटका रुपमा नजिला अल्भी १३.१ ओभरमा रन आउट भइन्। त्यस्तै १५ औँ ओभरमा बलिङ गर्न आएकी इन्दु वर्माले पहिलो बलमै उम-ए-हानीको विकेट लिइन्।
नेपालका लागि कविता जोशी र सीता राना मगरले समान २ विकेट लिँदा कविता कुँवर र इन्दु वर्माले समान १ विकेट लिए।
नेपाली टोली
रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, कृतिका मरासिनी, अस्मिना कर्मचार्य, अप्सरी बेगम र कविता जोशी