काठमाडौं : इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको समूह ‘ए’को खेलमा पाकिस्तान ‘ए’ले नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ। हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको छ।
नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’विरुद्ध खेलिरहँदा वर्षा सुरु भएको भएको थियो। टस जितेर बलिङ रोजेको नेपालले १६ औँ ओभरमा ७ विकेट लिँदै पाकिस्तानलाई ७५ रन बनाइरहेको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। करिब आधा घन्टापछि खेल सुरु भएको थियो।
पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको नेपालका लागि पहिलो ओभरमै कविता कुँवरले विकेट लिँदै राम्रो सुरुवात दिलाइन्।
उनले पहिलो ओभरको अन्तिम बलमा इमान फातिमालाई इन्दु वर्माबाट क्याच आउट गराइन्। त्यस्तै, दोस्रो र तेस्रो विकेट कविता जोशीले लिइन्। ५.३ ओभरमा सदाफ साम्सलाई बोल्ड आउट गरेकी उनले ५.४ ओभरमा नटालिया पर्वरिजलाई विकेटकिपर ज्योति पाण्डेबाट क्याच आउट गराइन्।
चौथो विकेट गुल फेरोजाको रुपमा सीता रानामगरले लिइन्। उनलाई खेलको १०.२ ओभरमा सीताले कप्तान रुविना क्षेत्रीबाट क्याचआउट गराइन्।
पाकिस्तानका लागि सम्हालिएर खेलिरहेकी सहवाल जुल्फिकारको विकेट पाँचौ विकेटका रुपमा मगरले नै लिइन्। २८ रन बनाएर खेलिरहेकी सहवाललाई सीताले १२.२ ओभरमा सम्झना खड्काबाट क्याचआउट गराइन्।
छैटौँ विकेटका रुपमा नजिला अल्भी १३.१ ओभरमा रन आउट भइन्। त्यस्तै १५औँ ओभरमा बलिङ गर्न आएकी इन्दु वर्माले पहिलो बलमै उम-ए-हानीको विकेट लिइन्।
आठौँ र नवौँ विकेट पनि वर्माले नै लिइन्। १८.४ ओभरमा तुबा हसन र १८.५ ओभरमा सायदा अरुब खानको विकेट लिएकी उनी ह्याट्रिक विकेटबाट भने चुकेकी थिइन्। अन्तिम विकेटका रुपमा कप्तान फतिमा सना कविता कुँवरको बलमा बोल्ड आउट भइन्।
पाकिस्तानका लागि सवाल जुलफिक्वरले सर्वाधिक २८ रन बनाउँदा फतिमा सनाले १६, सदाफ साम्सले १२ तथा गुल फेरोजाले ११ रन बनाइन्। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालका लागि इन्दु वर्माले सर्वाधिक ३ विकेट लिँदा कविता जोशी, सीता राना मगर र कविता कुँवरले समान २ विकेट लिए।
नेपाली टोली
रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, कृतिका मरासिनी, अस्मिना कर्मचार्य, अप्सरी बेगम र कविता जोशी