PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित



पहिलोपोस्ट

इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित
Photo: ACC

काठमाडौँ: इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पराजित भएको छ। पाकिस्तान 'ए'ले दिएको ८८ रनको लक्ष्य पछ्याउन नसक्दा नेपाल ९ रनले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ६ विकेट गुमाउँदै ७८ रनमा समेटिएको हो।

पाकिस्तानलाई सस्तै रनमा समेटे पनि ब्याटिङमा भने नेपाल जम्न सकेन। जवाफी ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गरेको थियो। ६.१ ओभरमा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाउँदा नेपालको स्कोर बोर्डमा मात्र १६ रन थियो। दोस्रो विकेटका रुपमा ९.१ ओभरमा ३ रन बनाएकी बिन्दु रावल तुबा हसनको बलमा एलबीडब्लू आउट हुँदै पभेलियन फर्किइन्। तेस्रो विकेटका रुपमा नेपालका लागि सर्वाधिक २० रन बनाएकी कविता कुँवर हसनकै बलमा आउट भइन्। चौथो, पाँचौँ र छैटौँ विकेटका रुपमा आउट भएका इन्दु वर्मा, कप्तान रुबिना क्षेत्री र सम्झना खड्काले ब्याटिङमा प्रभाव छाड्न सकेनन्। वर्मा ४ रनमा आउट हुँदा क्षेत्री ६ रन र खड्का ७ रनमा आउट भए।

धर्मराएको नेपालको ब्याटिङलाई ज्योति पाण्डे र कविता जोशीले अघि बढाउने प्रयास गरे पनि सफल भन हुन सकेनन्। जोशी १५ र पाण्डे ९ रनमा अविजित रहे।

पाकिस्तानका तोबा हसन र साएन अरुब साहले समान २ विकेट लिँदा अनुसा नासिर र उम-ए-हानीले समान १ विकेट लिए।

पाकिस्तानको इन्निङ्स

हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो।

पहिलो इन्निङ्स चलिरहँदा वर्षा सुरु भएको भएको थियो। टस जितेर बलिङ रोजेको नेपालले १६ औँ ओभरमा ७ विकेट लिँदै पाकिस्तानलाई ७५ रन बनाइरहेको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। करिव आधान घन्टा पछि खेल सुरु भएको थियो।

पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको नेपालका लागि पहिलो ओभरमै कविता कुँवरले विकेट लिँदै राम्रो सुरुवात दिलाइन्।

उनले पहिलो ओभरको अन्तिम बलमा इमान फातिमालाई इन्दु वर्माबाट क्याच आउट गराइन्। त्यस्तै दोस्रो र तेस्रो विकेट कविता जोशीले लिइन्। ५.३ ओभरमा सदाफ साम्सलाई बोल्ड आउट गरेकी उनले ५.४ ओभरमा नटालिया पर्वरिजलाई विकेटकिपर ज्योति पाण्डेबाट क्याच आउट गराइन्।

चौथो विकेट गुल फेरोजाको सीता रानामगरले लिइन्। उनलाई खेलको १०.२ ओभरमा सीताले कप्तान रुविना क्षेत्रीबाट क्याचआउट गराइन्। पाकिस्तानका लागि सम्हालिरहेर खेलिरहेकी सहवाल जुल्फिकारको विकेट पाँचौ विकेटका रुपमा मगरले नै लिइन्। २८ रन बनाएर खेलिरहेकी सहवाललाई सीताले १२.२ ओभरमा सम्झना खड्काबाट क्याचआउट गराइन्।

छैटौँ विकेटका रुपमा नजिला अल्भी रन आउट १३.१ ओभरमा रन आउट भइन्। त्यस्तै १५ औँ ओभरमा बलिङ गर्न आएकी इन्दु वर्माले पहिलो बलमै उम-ए-हानीको विकेट लिइन्। आठौँ र नवौँ विकेट पनि वर्माले नै लिइन्। उनले १८.४ ओभरमा तुबा हसन र १८.५ ओभरमा सायदा अरुब खानको विकेट लिएकी उनी ह्याट्रिक विकेटबाट भने चुकेकी थिइन्। अन्तिम विकेटका रुपमा कप्तान फतिमा सना कविता कुँवरको बलमा बोल्ड आउट भइन्।

पाकिस्तानका लागि सवाल जुलफिक्वरले सर्वाधिक २८ रन बनाउँदा फतिमा सनाले १६, सदाफ साम्सले १२ तथा गुल फेरोजाले ११ रन बनाइन्। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका लागि इन्दु वर्माले सर्वाधिक ३ विकेट लिँदा कविता जोशी, सीता राना मगर र कविता कुँवरले समान १ विकेट लिए।

प्रतियोगितामा टेस्ट टोली भारत ‘ए’, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र श्रीलंका ‘ए’ टोलीको सहभागिता हुनेछ भने नेपाल, हङकङ, यूएई र मलेसियाको सिनियर टोलीले सहभागिता जनाउने छ।

दोस्रो खेलमा नेपालको प्रतिस्पर्धी भारत ‘ए’ हुनेछ भने तेस्रो खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ तथा यूएई र मलेसियाका टोली रहनेछन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल जुन २१ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell