PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

क्वालालम्पुरबाट नेपाल एयरलाइन्सको जहाज भैरहवामा, हरेक मंगलवार मलेसियाबाट नियमित उडान



पहिलोपोस्ट

क्वालालम्पुरबाट नेपाल एयरलाइन्सको जहाज भैरहवामा, हरेक मंगलवार मलेसियाबाट नियमित उडान

बुटवल : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मंगलवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ। निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट मंगलबार बिहान ८:४५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो। निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराती आफै विमानस्थलमा पुगेर स्वागत गरेका थिए।

जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर काठमाडौं फर्किएको छ। निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा काठमाडौं उडान नियमित गर्ने जनाएको छ। मलेसियाबाट भैरहवाको उडान समय करिब ४ घण्टा ४५ मिनेटको रहनेछ।

निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो। अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ।

निगमले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए। उनका अनुसार निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई टर्न–अराउण्ड उडान भनिन्छ। यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ। त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन। साथै चालक दलका सदस्यहरु पनि हेरफेर हुँदैनन्।

२०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरेपनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो। कुवेतको जजिरा एयरवेजले कुवेत भैरहवा नियमित उडान गर्दै आइरहेको भए पनि करिब डेढ महिनादेखि जजिराले पनि उडान रोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell