PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

टिकटकमा भाइरल सिमान्तपछि अर्का झाँक्री प्रकाश भुजेल पनि फरार



पहिलोपोस्ट

टिकटकमा भाइरल सिमान्तपछि अर्का झाँक्री प्रकाश भुजेल पनि फरार

काठमाडौं : पछिल्लो समय टिकटकबाट भाइरल बन्दै 'व्यवसाय' चलाइरहेका झाँक्रीहरु प्रहरीको निगरानीमा पर्न थालेका छन्। भाइरल झाँक्री सिमान्त केसीपछि अर्का झाँक्री प्रकाश भुजेल फरार भएका छन्। प्रहरीले खोजी थालेसँगै भुजेल फरार भएका हुन्।

छोएको वा हेरेको भरमा नै दीर्घकालदेखि गढेर रहेको रोग निको हुन्छ भन्ने भ्रम छर्दै कारोबार गर्नेहरु यतिखेर सोसल मिडियाको साहरामा चर्चित छन्। आधुनिक चिकित्सा पद्धतिबाट पनि निको नभएका रोग सजिलै समाधान गर्ने प्रचारका कारण यस्ता व्यक्तिकहाँ धाउनेको संख्या अत्याधिक छ। पछिल्लो समय सामाजिक सञ्जालका प्रयोगकर्ता बिच प्रकाश भुजेल चर्चित थिए। मानिसलाई उपचारको आशमा उनकहाँ पुग्दा ट्राफिक व्यवस्थापनमा नै समस्या हुने गरेको थियो। छिटै चर्चामा आउने  यस्ता व्यक्तिले उपचारका नाममा ठगी गर्ने गरेको गुनासो र उजुरी पनि बढ्दो छ।

कुनै समय काठमाडौंदेखि देशका विभिन्न जिल्लामा पुगेर उपचार गर्ने सिमान्त केसी पनि सामाजिक सञ्जालबाटै भाइरल भएका थिए। सामाजिक सञ्जालबाट प्रवर्द्धन गर्दै उनको पक्षमा मानिसहरुले बोलेपछि रोग निकोको अपेक्षासहित उनका पुग्नेहरु बढे। तर पछि उनको ठगीको पर्दाफास भयो। प्रहरीले उनलाई खोज्न थाल्यो।

काठमाडौं, कास्की, दाङ लगायतका ठाउँमा उनले कार्यक्रम थाल्दै थिए। उनीहरुले कार्यक्रम गर्ने भएपछि प्रहरीले यस्ता कार्यक्रम बन्द गराएको थियो। एक जिल्लामा बन्द भएपछि उनले अर्को जिल्ला पुगेर ठगी धन्दा चलाउने गरेको खुलेको छ। काठमाडौंको तारकेश्वर नगरापालिकाबाट ज्योतिषीको अफिस खोलेर उनले आफ्नो धन्दा सुरु गरेका थिए। तारकेश्वरको अफिस प्रहरीले बन्द गराएको छ।

'अहिले त्यहाँको अफिस बन्द गराएका छौं। उनी दाङतिर पुगे भन्ने सुनिएको छ,' काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी सिताराम रिजालले भने। गत फागुनमा उनी पोखरामा समातिएका थिए। छुटेपछि पनि उनको ठगी धन्दा रोकिएन। त्यसो त देशका चलेका नेतादेखि प्रहरीसम्म आफ्नो पहुँचमा रहेको भन्दै उनले ठगी धन्दालाई कायम राखिरहे।

अहिले सिमान्त केसी टिकटक लगायत सामाजिक सञ्जालमा कम देखिएका छन्। तर अर्का ' झाँकी' प्रकाश भुजेल त्यसरी नै सामाजिक सञ्जालमा भाइरल भएका छन्। उनी पनि यसरी नै विरामीलाई तत्काल निको पार्ने भन्दै भ्रम फैलाइरहेका छन्। काठमाडौंको नारायणटार वाग्मती करिडरमा उनले कार्यालय खोलेका छन्। 

प्रकाशले आफूसँग अलौकिक शक्ति भएको भन्दै प्रचार गरिरहेका छन्। उनको विरोध गर्ने मानिसको अनिष्ठ हुनेसम्मको चर्चा गर्न उनी भ्याउँछन्। उनी विरुद्ध ठगीको उजुरी प्रहरीमा पुगिसकेको छ। प्रहरी सोमवार र मंगलवार बिहान उनको आश्रममा पुगेको थियो। तर उनी फेला परेनन्। उनी अहिले प्रहरी सम्पर्कमा छैनन्। तर सोसल मिडियामा भाइरल नेकपा एमालेका पुण्य गौतम विश्वाससँग अन्तर्वार्तामा भने उनी देखिएका थिए। उनको पक्षमा पुण्य गौतम सक्रिय भएका छन्।

'उनलाई पक्राउ गर्न खोजेका छौं। उनी सम्पर्कमा पनि आएका छैनन्,' एसपी रिजालले भने।

आफूलाई प्रहरीले समात्ने भएपछि भुजेल लुक्दै आएको खुलेको छ। त्यसो त केसी र भुजेल मात्र होइनन्, सामाजिक सञ्जालको प्रयोग गरेर यस्ता अन्धविश्वासको नाममा ठगी धन्द चलाउँदै आउने धेरै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell