
पाकिस्तानमा तीनजना पत्रकार र एकजना युट्युबरविरुद्ध 'हिंसा भड्काउन भूमिका खेलेको' अभियोगमा मुद्दा दर्ता गरिएको छ। मे ८ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि विभिन्न शहरमा हिंसात्मक झडप भएको थियो। त्यही हिंसालाई भड्काएको आरोपमा दुईजना पत्रकार, एकजना समाचार वाचक र हाल युट्युबर रहेका पूर्व सैन्य अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो।
उनीहरुविरुद्ध खानलाई पक्राउ गरेपछि पाकिस्तानमा रहेका संवेदनशिल सैन्य क्षेत्र र सरकारी भवनमा आक्रमण गर्न प्रोत्साहित गरेको अभियोग लगाइएको छ।
मोहम्मद असलमले उनीहरुविरुद्ध मुद्दा दर्ता गराएका हुन्। उनले पत्रकार शाहीन सेहबाई र वजाहत सईद खान, समाचार वाचक सैयद हैदर रजा मेहदी र युट्युबर आदिल राजाले भिडलाई भड्काएको दाबी गरेका छन्। असलमले पत्रकार र युट्युबरले सैन्य क्षेत्रमा आक्रमण गर्न र देशमा आतंकवाद फैलाउन खोजेको आरोप लगाएका छन्। मुद्दा दर्ता गरिएका पत्रकारहरुको सामाजिक संजालमा रहेका प्रोफाइल पेजहरुको अध्ययन गर्दा उनीहरुले सुनियोजित तरिकाले सेनाको बदनाम गर्न लागिपरेको दाबी गरिएको छ।