PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

चीनमा 'मेस्सी मेनिया' : अर्जेन्टिनाको पासपोर्ट बिनै बेइजिङ पुग्दा विमानस्थलमै रोकिएका थिए केही घण्टा



पहिलोपोस्ट

चीनमा 'मेस्सी मेनिया' : अर्जेन्टिनाको पासपोर्ट बिनै बेइजिङ पुग्दा विमानस्थलमै रोकिएका थिए केही घण्टा

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी अहिले चीनमा छन्। अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेल खेल्न उनी शनिवार चीन पुगेका हुन्। मेस्सी बेइजिङ पुग्ने खबर सार्वजनिक भएसँगै उनका फ्यानहरु विमानस्थल र अर्जेन्टिनाको फुटबल टोली बसेको होटलमा भेला भएका थिए।

चीनको सामाजिक संजाल 'वेइबो'मा मेस्सी 'टप ट्रेन्डिङ' विषय बनेका छन्। मेस्सीलाई हेर्न होटल बाहिर भिड यति थियो कि अर्जेन्टिनाका खेलाडीहरु केहीबेर होटलमै 'ट्रयाप्ड' भएका थिए। होटल बाहिर समर्थकको भिडका कारण आइतवारको लागि तय भएको प्रि म्याच ट्रेनिङ सेसन ढिला गरि सुरु भएको थियो। आइतबार रातिमात्रै अर्जेन्टिनाको टोली प्रशिक्षणका लागि मैदानमा उत्रेको थियो। मेस्सीलाई हेर्न एक फ्यानले १० हजार युआन (१ लाख ८४ हजार नेपाली रुपैयाँ भन्दा बढी ) तिरेर होटलको लक्जरी रुम बुक गरेको सीएनएनमा उल्लेख छ।

शनिवार बेइजिङ विमानस्थलमा ओर्लिएपछि मेस्सीलाई 'डिटेन' गरिएको समाचारहरु पनि सार्वजनिक भएका छन्। उनलाई प्रहरीले घेराउमा राखेको भन्दै भिडियो र समाचारहरु पनि केही भारतीय र ट्‍याब्लोइड पत्रिकाहरुले छापेका छन्।

चिनियाँ संचार माध्यम ग्लोबल टाइम्सले भने मेस्सी केही घण्टाका लागि एयरपोर्टमै रोकिएको उल्लेख गरेको छ। तर, उनलाई पक्राउ वा 'डिटेन' गरिएको भन्ने उल्लेख छैन। ग्लोबल टाइम्सले विमानस्थल बाहिर सयौं समर्थक मेस्सीको स्वागतमा ओर्लिँदा अप्रत्यासित 'पासपोर्ट इन्सिडेन्ट' का कारण मेस्सी केही समय विमानस्थलमा रोकिएको उल्लेख गरेको छ।

मेस्सीसँग अर्जेन्टिना र स्पेनको पासपोर्ट छ। चीन पुग्दा उनले अर्जेन्टिनाको पासपोर्ट ल्याउन बिर्सिएका थिए। अर्जेन्टिनाको टोलीका लागि जारी भएको भिसा अर्जेन्टिनाको पासपोर्टका लागिमात्र जारी भएको थियो। पछि अध्यागमनले उनलाई 'एक्सपेडिटेड भिसा' दिएपछि समस्या हल भएको थियो। तर, भारतीय मिडिया र ट्‍याब्लोइड पत्रिकाहरुमा उल्लेख भएझैं मेस्सी पक्राउ वा 'डिटेन' भएको बारे चिनियाँ संचारमाध्यम र अन्तर्राष्ट्रिय संचारमाध्यममा कुनै पुष्टि हुने समाचार आएको छैन।

अहिले मेस्सीलाई लिएर चिनियाँ सामाजिक संजालमा विभिन्न सूचनाहरु फैलिरहेका छन्। त्यसैले मेस्सीको नाममा धेरै 'स्क्याम' हुन सक्ने भन्दै प्रहरीले त्यस्तो अपराधिक षड्यन्त्रमा नफस्न आग्रह गरेको छ।

वेइबोमा मेस्सीसँग डिनरका लागि ३ लाख युआन (५५ लाख नेपाली रुपैयाँ भन्दा बढी) लाग्ने सूचना फैलिरहेको छ। प्रहरीले त्यस्तो स्क्याममा नफस्न आग्रह गरेको छ।

खेलको टिकट बिहीवार नै सोल्ड आउट भइसकेको छ। एउटा टिकटको ४ हजार ८०० युआन (८८ हजार नेपाली रुपैयाँ भन्दा बढी)मा ब्रिकी भएको जनाइएको छ। तर, वेइबोमा भने भिआइपी स्टेडिम पास, फ्रन्ट सिट र मेस्सीले हस्ताक्षर गरेको टिर्सट भन्दै स्क्याम भइरहेको भन्दै सतर्क रहन भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell