PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

किसान आन्दोलनका क्रममा मोदी सरकारले ट्‍वीटर बन्द गर्ने धम्की दिएको थियो : ज्याक डोर्सी



पहिलोपोस्ट

किसान आन्दोलनका क्रममा मोदी सरकारले ट्‍वीटर बन्द गर्ने धम्की दिएको थियो : ज्याक डोर्सी
Photo : NBC NEWS

ट्‍वीटरका संस्थापक एवम् पूर्व सिइओ ज्याक डोर्सीले भारतमा किसान आन्दोलनका क्रममा नरेन्द्र मोदी नेतृत्वको सरकारले ट्‍वीटर बन्द गराउने धम्की दिएको दाबी गरेका छन्।

हाल 'स्क्वायर'का सिइओ रहेका डोर्सीले 'ब्रेकिङ प्वाइन्ट' कार्यक्रममा भारत सरकारले आन्दोलनका क्रममा आफूलाई भारतमा ट्‍वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। यस्तै, उनले मोदी सरकारको आलोचना गर्ने केही पत्रकारहरुको ट्‍वीटर अकाउन्ट बन्द गर्न पनि दबाब दिएको बताएका छन्।

'विश्वभरका शक्तिशाली व्यक्ति तपाईं कहाँ आउँछन् र कयौं माग गर्छन्। तपाईं नैतिक सिद्धान्त बोक्ने मान्छे हो भने त्यस्तो अवस्थाबाट कसरी निस्कनु हुन्छ?' भनेर डोर्सीलाई प्रश्न सोधिएको थियो।

जवाफमा उनले भने, 'उदाहरणका लागि भारत एउटा यस्तो देश हो जहाँ किसान आन्दोलनका क्रममा हामी कहाँ धेरै माग आउँथ्यो। सरकारको आलोचना गर्ने केही पत्रकारहरु, उनीहरुको बारेमा। हामीलाई भनियो की भारतमा ट्‍वीटर बन्द गरिदिन्छौं। भारत हाम्रो लागि ठूलो बजार हो।'

त्यसक्रममा डोर्सीले भारतमा काम गर्ने ट्‍वीटरका कर्मचारीहरुको घरमा छापा मारिएकोसमेत बताए।

'यदि हाम्रो कुरा नसुन्ने हो भने कार्यालय नै बन्द गरिदिन्छु भनेर भने। यो भारतमा भइरहेको थियो जुन एक लोकतान्त्रिक देश हो,' उनले भने।

डोर्सीको यो खुलासापछि भारतमा अभिव्यक्ति स्वतन्त्रता र मोदी सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठाइएको छ। पछिल्लो समय मोदी सरकार ट्‍वीटर,फेसबुक लगायतका सामाजिक संजालका कन्टेन्ट र अकाउन्ट नियन्त्रणमा लाग्दै आएको छ। विपक्षी दलहरुले पनि सरकारको यो कदमको विरोध गर्दै आएका छन्।

भारत सरकारले भने डोर्सीको उक्त आरोपहरुलाई खारेज गरेको छ। मोदी सरकारमा इलेक्ट्रोनिक एवम् टेक्नोलोजी मन्त्री रहेका राजीव चन्द्रशेखरले भारतमा ट्‍वीटरको कार्यालयमा छापा नहानेको र कसैलाई जेल पनि नपठाइएको बताएका छन्।

राजीवले डोर्सीको नेतृत्वकालमा ट्‍वीटर र उनको टिमले लगातार भारतीय नियमको उल्लंघन गरेको बताएका छन्। सन् २०२० देखि कानुनको उल्लंघन गरेको ट्‍वीटरले सन् २०२२ को जुन महिनादेखि मात्रै कानुनको पालन गरेको राजीवको दाबी छ।

'ट्‍वीटरले यस्तो व्यवहार गर्‍यो कि उसमाथि भारतको कानुनको कुनै असर हुँदैन। भारत एक सार्वभौम राष्ट्र हो र हामीलाई हाम्रो देशमा काम गर्ने सबै कम्पनीहरुले भारतीय कानुन पालना गरिरहेको बारे सुनिश्चित गर्ने अधिकार छ,' मन्त्रीले भने।

किसान आन्दोलनका क्रममा धेरै भ्रामक सूचना फैलिरहेको र जनसंहारसम्म भएको गलत सूचना फैलिएको उनले बताए। त्यसैले भारत सरकारले सामाजिक संजाल प्लेटफर्मलाई यस्तो सूचना हटाउन बाध्य बनाएको उनले दाबी गरे।

'त्यस्तो गलत सूचनाहरुले अवस्था झनै बिग्रनसक्थ्यो,' उनले भने। राजीवले ट्‍वीटरले भेदभावपूर्ण व्यवहार देखाएको भन्दै अमेरिकामा सूचना नियन्त्रण गरेको दाबी समेत गरे।

'भारतमा कोही व्यक्तिमाथि छापा हानिएको थिएन। न कसैलाई जेल नै पठाइएको थियो। हाम्रो उद्देश्य मात्र भारतीय कानुन पालना गर्न सूनिश्चित गराउनु थियो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell