काठमाडौं : नेपाली महिला राष्ट्रिय टोलीकी फर्वाड साबित्रा भण्डारी (साम्बा) इजरायली क्लब हापोइल रानानामा अनुबन्धित भएकी छिन्। यो सिजन भारतीय महिला लिगमा कीर्तिमानी प्रदर्शन गरेकी साम्बा इजरायली क्लबमा अनुबन्धित भएकी हुन्।
क्लबले सामाजिक सञ्जालमा पोस्ट राख्दै लामो समय 'फलो' गरेपछि आधिकारिक रुपमा उनलाई अनुबन्धित गरेको जनाएको छ।
'युरोपको फुटबल नेपालको फुटबल धेरै फरक छ। म त्यहाँ सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु,' सावित्राले पहिलोपोस्टसँग भनिन्।
उनले क्लबसँग एकवर्षको करार भएको बताइन्।
भारतमा मच्चाएकी थिइन् तहल्का
इण्डियन वुमन्स लिग (आडब्लूएल) मा गोकुलम केरलाले किक स्टार्ट एफसीलाई हराउँदै च्याम्पियन बन्दा महत्वपूर्ण भूमिका थियो साम्बाको। 'साम्बा' उपनामले चिनिने सावित्राले १० खेलमा २९ गोल गर्दै आफ्नो टोलीलाई च्याम्पियन बनाउन सफल भइन्।
केरलालाई च्याम्पियन बनाउने क्रममा साम्बाले यो सिजनको मात्र नभइ आईडब्लुएलमै कीर्तिमान बनाइन्। चर्चित भारतीय खेलाडी बाला देवीलाई पछि पार्दै साम्बा भारतीय लिगकै सर्वाधिक गोल गर्ने खेलाडी बनेकी थिइन्। उनले समूह चरणको अन्तिम खेलमा नै ३८ गोलको बालादेवीको कीर्तिमानलाई पछि पार्दै सर्वाधिक गोलकर्ताको सूचिमा उक्लिएकी थिइन्।
घरेलु फुटबलमा एपीएफबाट खेल्ने साम्बाले तेस्रो पटक आईडब्लु लिगको उपाधि जितेकी हुन्। यसअघि उनले गोकुलम केरला र सेथु एफसीबाट च्याम्पियन बनेकी थिइन्।
नेपाली फुटबलमा पनि उनी सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। उनले नेपालका लागि ४३ गोल गरेकी छिन्। सावित्राले पछिल्लो पटक राष्ट्रिय टोलीबाट विश्वकप खेल्ने टोली भियतनाम विरुद्ध ओलम्पिक छनोटको खेलमा गोल गरेकी थिइन्।
चोटपछिको पुनरागमन
लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका-९ थाम्चोककी उनी नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्। या भनौ घरेलु लिग, बाहिरको लिग र राष्ट्रको टिम जहाँबाट खेल्यो त्यही गोल। त्यसैले त उनलाई गोल मेसिन पनि भन्छन्।
आफ्नो करियरमा अब्बल सावित्रा एकवर्ष भने चोटका कारण थलिएकी थिइन।
२०७७ फागुन ३ गते घरेलु लिगमा नेपालपुलिस क्लबविरुद्धको खेलमा चोट ब्यहोरेकी थिइन्। त्यसयता कतारमा उपचार गरेकी उनी एक वर्षपछि अर्थात २०७८ को चैत महिनामा मैदान फर्किएकी थिइन्। तर, एकवर्षको ग्यापका बावजुत मैदान फर्किएसँगै लयलाई भने निरन्तरता दिन सफल भएकी थिइन्। पछिल्लो भारतसँगको मैत्रीपूर्ण सिरिजको पहिलो खेलमा अझ उनको प्रदर्शन लोभलाग्दो थियो। उनले खेलको अन्तिम समयमा २ गोल फर्काउँदा भारत जितिसकेको खेलबाट बराबरीमा रोकिन परेको थियो।
'सोच'मा प्रश्न गर्ने साम्बाले ठूलो अवसर पाउँदै
नेपाली टोलीकी प्रतिभावान खेलाडी साम्बाले भियतनाम सँगको खेल पराजय पछि 'सोच' ठूलो बनाउन नसकेको भन्दै नेपाली फुटबलको बेतिथिमाथि बोलेकी थिइन्। उनले साफ स्तरमा मात्र नभइ माथिल्लो स्तरमा सोच बनाउनु पर्ने बताएकी थिइन्।
नेपालमा घरेलु लिगको अवस्था दयनीय बनेको र ठूलो भिजन बनाउन नसकेको उनले बताएकी थिइन्। अब भने उनी व्यक्तिगत रुपमा युरोपको लिगमा अवसर पाउनेछिन्।
नेपालमा लिगको विजोग, विदेशमा अवसर
नेपालमा महिला लिगको अवस्था दयनीय छ। यसका बाबजुत खासगरी भारतीय लिगमा पछिल्लो समय नेपाली महिला फुटबलरहरुको उपस्थित बाक्लिँदो छ। तर, साम्बाले भने भारतमात्र नभइ अझ माथिल्लो स्तरमा खेल्ने अवसर पाउन लागेकी हुन्।
नेपालमा भने पछिल्लो पटक भएको लिग आधामै टुंगिएको थियो भने आगामी लिगबारे अझै केही टुंगो छैन।
२०७८ सालको महिला लिग आधा भएर ११ महिना अन्योलमा रोकियो। पहिलो चरणको खेल चितवनमा र दोस्रो चरणका खेल विराटनगरमा गर्ने योजना थियो। तर, पहिलो लिगपछि एन्फामा पनि नेतृत्व परिवर्तन भयो विराटनगर महानगरमा पनि। यसको पेलानमा पर्यो नेपाली महिला फुटबल। यस्तो अवस्थामा एन्फाको कार्यसमितिको बैठकले तालिकाको शीर्षस्थानमा रहेको एपीएफलाई च्याम्पियन घोषित गर्ने निर्णय गरेको थियो।