1.png)
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम कार्यकर्ताले कांग्रेसबाट नयाँ प्रधानमन्त्री भएको हेर्न चाहेको बताएका छन्। विराटनगरमा मंगलवार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले जतिसक्दो चाँडो देउवाले पार्टी नेतृत्व छाड्नुपर्ने सुझावसमेत दिए। 'नेपाली कांग्रेसको नेतृत्व मैले गरिरहनुपर्छ। मैले गरिनँ भने पार्टी सम्हालिन्न भन्ने सोच उहाँले त्याग्नुपर्छ,' सभापति देउवातिर लक्षित गर्दै थापाले भने, 'जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तर गरिदिनुभयो जो सुकै होला अरु कसैले पार्टी नेतृत्व गर्ने अवसर पायो। त्यो उहाँको हितमा पनि होला।'
गठबन्धनमा अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्। आलोपालोमा एकपटक कांग्रेसबाट प्रधानमन्त्री बन्ने र देउवाको साटोमा नयाँ अनुहार जनताले खोजेको थापाको भनाई थियो। 'यो संसदीय नेतृत्वमा नेपाली कांग्रेसको नेतृत्वमा एक न एकपटक सरकार त बन्छ। उहाँले प्रधानमन्त्रीका रुपमा पाँच पटक काम गरिसक्नुभएको छ। ती कामहरुलाई सम्मान गर्दै नेपाली कांग्रेसको तर्फबाट कोही नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेको छ। जो पनि हुनसक्छ,' थापाले भने, 'त्यसका निम्ति सभापतिजीले पार्टीको नेतृत्व हस्तान्तर गर्ने कुरा र नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुरा मार्गप्रशस्त गरिदिनुभयो भने त्यो उहाँको हितमा पनि छ, पार्टीको हितमा पनि छ।'