
सांघाई: कूटनीतिक सम्बन्ध स्थापना भएको छोटो समयमा नै मध्य अमेरिकी मुलुक होन्डुरसले चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभसहित विभिन्न समझदारीमा हस्ताक्षर गरेको छ।
गत मार्च महिनामा मात्र चीनसँग आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको होण्डुरसका राष्ट्रपति आइरिस सिओमारा कास्ट्रोलाई बेइजिङमा राष्ट्रपति सि चिनफिङले यसै साता स्वागत गरे। सोही क्रममा दुई देशबीच बीआरआईलाई संयुक्त रुपमा प्रवर्द्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले मंगलबार दिएको जानकारी अनुसार दुवै पक्षले नीतिगत सञ्चार, पूर्वाधार कनेक्टिभिटी, निर्वाध व्यापार, वित्तीय एकीकरण र जनता-जनताबीचको आदानप्रदानलाई सक्रिय रूपमा बढवा दिने उल्लेख छ। त्यस्तै दुबै देशबीच सम्बन्धका विभिन्न क्षेत्रहरूमा व्यावहारिक सहयोगलाई सुदृढ पार्दै पारस्परिक लाभ र सभ्यताहरूको पारस्परिक शिक्षालाई बढवा दिन सहमत भएका छन्।
यसअघि बेइजिङस्थित ग्रेट हलमा दुबै देशका राष्ट्रपति सोमबार भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट बृहत्तर विकासको दिशामा अघि बढाउन सहमत भएका थिए। त्यस्तै दुई देशका जनताको बृहत्तर हितका लागि सहयोगको दृष्टिकोणलाई मूर्त परिणाममा परिणत गर्न होन्डुरससँग मिलेर काम गर्न राष्ट्रपति सिले प्रतिबद्धता व्यक्त गरेका छन्।
'मलाई विश्वास छ कि दुवै पक्षको संयुक्त प्रयासबाट चीन र होन्डुरसको सम्बन्धले सुदृढ र स्थिर विकासको अनुभव गर्नेछ र उज्ज्वल भविष्यतर्फ अग्रसर हुनेछ,' राष्ट्रपति सीको भनाइ उदृत गर्दै चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
क्यास्ट्रो चीनको राजकीय भ्रमण गर्ने पहिलो होन्डुरसकी राष्ट्रपति हुन्। उनको भ्रमणले चीन-होन्डुरस सम्बन्धको इतिहासमा नयाँ अध्याय कोरेको सिले बताएका छन्।
कूटनीतिक सम्बन्ध स्थापनाको तात्कालीक र दीर्घकालीन महत्वमा जोड दिँदै चीन होन्डुरससँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न प्रतिबद्ध रहने राष्ट्रपति सीले प्रतिवद्धता जनाएका छन्। त्यस्तै होन्डुरसको आर्थिक र सामाजिक विकासमा दृढतापूर्वक समर्थन र पारस्परिक सम्मान, समानता, पारस्परिक लाभ र साझा विकाससहितको होन्डुरससँग राम्रो मित्रता र साझेदारी निर्माण गर्ने राष्ट्रपति सिले प्रतिवद्धता जनाएका छन्।
कूटनीतिक सम्बन्ध स्थापना भएको तीन महिना नबित्दै भएको ऐतिहासिक भेटले दुई पक्षले सम्बन्ध विस्तारलाई कति ठूलो महत्व दिएको छ चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका ल्याटिन अमेरिकी तथा क्यारिबियन अध्ययन विभागका प्रमुख सोङ जुनयिङले बताएको सिन्ह्वाले जनाएको छ।
एक चीन नीति प्रति प्रतिवद्धता
सो भेटवार्ताका क्रममा राजनीतिक पारस्परिक विश्वासको प्रगाढताबारे सीले चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना र द्विपक्षीय सम्बन्धको विकासका लागि एक चीन सिद्धान्त प्राथमिक पूर्वशर्त र राजनीतिक आधार भएको र होन्डुरसले यसमा निष्ठापूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच होण्डुरसका राष्ट्रपति क्यास्ट्रोले होन्डुरसले एक चीन सिद्धान्तको दृढतापूर्वक समर्थन र पालना गर्ने र साथै राष्ट्रिय एकतालाई साकार पार्न चिनियाँ सरकारको प्रयासलाई समर्थन गर्ने प्रतिवद्धता जनाएकी छन्। मार्च अघि होण्डुरसले ताइवानको सरकारलाई चीनको आधिकारी सरकारको रुपमा मान्यता दिँदै कूटनीतिक सम्बन्ध राख्दै आएको थियो।
सिले राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न, विकासलाई बढवा दिन र जनताको जीविकोपार्जनमा सुधार ल्याउन होन्डुरसको प्रयासलाई चीनको दृढ समर्थन गर्नेसमेत प्रतिवद्धता जनाएका छन्। ‘चीनले होन्डुरसको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको बाटो रोज्न समर्थन गर्छ र होन्डुरसको आन्तरिक मामिलामा कुनै पनि बाह्य हस्तक्षेपको विरोध गर्दछ,’ सीले भनेका छन्।
वार्ताका क्रममा सिले दुवै पक्षले रणनीतिमा तालमेल गर्नुपर्ने, दुई देशबीच सहयोग संयन्त्रका लागि बहुआयामिक स्तम्भ निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। त्यस्तै बीआरआईलाई मुख्य कार्यदिशाका रुपमा लिएर साझा विकासलाई अगाडि बढाउनुपर्नेमा दुबै पक्ष सहमत भएका छन्। साथै चीनले होन्डुरसका विशेष उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवेश गर्न बाटो खुल्ने र स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता प्रक्रिया चाँडोभन्दा चाँडो सुरु गर्ने जनाएको छ।
राष्ट्रपति क्यास्त्रोको भ्रमणका क्रममा दुई देशले १२ बुँदे संयुक्त वक्तव्यसमेत जारी गरेका छन्। द्विपक्षीय भेटवार्ताका क्रममा बीआरआईमा साझेदारीसहित चीनले अगाडि सारेको ग्लोबल डेभलभ्मेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) मा होण्डुरसको सहभागिताको बारेमा छलफल भएको थियो। होण्डुरसका राष्ट्रपति क्यास्ट्रोले सिले अगाडि सारेका यी परियोजनाले विश्वमा शान्ति सुरक्षाका क्षेत्रमा साझा उपलब्धि हासिल हुने बताएको वक्तव्यमा उल्लेख छ।
राष्ट्रपति क्यास्ट्रोले आफ्नो भ्रमणका क्रममा राष्ट्रपति सि चिनफिङलाई होण्डुरस भ्रमणको निम्तोमसेत दिएकी छन्। बुधबारसम्म बेइजिङमा रहने क्यास्ट्रो जुन ९ मा सांघाईमा ओर्लिएकी थिइन्।
यसक्रममा उनले सांघाईमा न्यू डेभलभ्मेन्ट बैंक र ब्रिक्सको मुख्यालयको भ्रमण गरेकी थिइन्। त्यहाँ उनले बैंकका अध्यक्ष डिल्मा रोउसेफसँग भेट गरेकी थिइन्। त्यस्तै उनले सांघाइमा हुवेको अनुसन्धान केन्द्रकोसमेत भ्रमण गरेकी थिइन्।
होण्डुरसको भ्रमणटोलीले यसबीच पहिलो चीन-होण्डुरस उच्चस्तरी व्यवसायिक वार्तासमेत गरेको छ।
ताइवान एकीकरणका लागि चिनियाँ प्रयास
गत वर्ष अगस्ट १० मा बेइजिङस्थित स्टेट काउन्सिलको ताइवान अफेयर्स अफिस र पिपुल्स रिपब्लिक अफ चाइनाको स्टेट काउन्सिल इन्फर्मेसन अफिसले ‘नयाँ युगमा ताइवान प्रश्न र चिनियाँ एकीकरण’ शीर्षकमा श्वेतपत्र प्रकाशित गर्दै ताइवान एकीकरणको रणनीति तय गरेको थियो।
श्वेतपत्रमा ताइवान चीनको अङ्ग हो भन्ने तथ्यलाई दोहोर्याउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र चिनियाँ जनताको सङ्कल्प र राष्ट्रिय एकताप्रतिको प्रतिवद्धता प्रदर्शन गर्न र नयाँ युगमा सीपीसी र चिनियाँ सरकारको स्थिति र नीतिहरूलाई सार्वजनिक गरेको थियो।
बेइजिङले संयुक्त राष्ट्र संघको महासभाको प्रस्ताव २७५८ एक चीन सिद्धान्तलाई समेट्ने एउटा राजनीतिक दस्तावेज भएको र यसलाई विश्वव्यापी रूपमा स्वीकार गरिएको श्वेतपत्रमा उल्लेख छ।
‘एक चीन सिद्धान्तले अन्तर्राष्ट्रिय समुदायको विश्वव्यापी सहमतिको प्रतिनिधित्व गर्दछ,’ श्वेतपत्रमा भनिएको छ, ‘यो अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतासँग मेल खान्छ। हामी एक चीन हौं र ताइवान चीनको हिस्सा हो। यो इतिहास र कानुनद्वारा समर्थित एक निर्विवाद तथ्य हो। ताइवान कहिल्यै पनि एक राज्य थिएन। चीनको एक भागको रूपमा यसको स्थिति अपरिवर्तनीय छ।’
सीपीसी ताइवान को प्रश्न को हल गर्न र चीनको पूर्ण पुनर्मिलन सपना को साकार गर्न ऐतिहासिक लक्ष्यमा प्रतिबद्ध रहेकोसमेत श्वेतपत्रमा उल्लेख छ। श्वेतपत्रले चीन ताइवानलाई एकीकरण गर्ने दिशामा नजिक रहेको समेत बताएको छ।
‘पूर्ण राष्ट्रिय पुनर्मिलनको प्राप्ति चिनियाँ राष्ट्रको इतिहास र संस्कृतिबाट प्रेरित छ र हाम्रो राष्ट्रिय कायाकल्पको वरिपरिको गति र परिस्थितिले निर्धारण गर्दछ। राष्ट्रिय पुनरुत्थानको लक्ष्य हासिल गर्न हामी पहिले कहिल्यै पनि यति नजिक, आत्मविश्वासी र सक्षम भएका थिएनौं। पूर्ण राष्ट्रिय एकताको हाम्रो लक्ष्यमा पनि यही कुरा लागू हुन्छ,' श्वेतपत्रमा भनिएको छ।
स्वशासित ताइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (ताइवानको सत्तारुढ पार्टी) का अधिकारीहरूको कार्यले ताइवना जलडमरु क्षेत्रमा तनाव निम्त्याएको दाबीसमेत श्वेतपत्रमा गरिएको छ। ताइवान जलडमरू मध्येमा शान्ति र स्थिरतालाई खतरामा पारेको भन्दै शान्तिपूर्ण पुनर्मिलनको प्रक्रियालाई अगाडि बढाउन यी अवरोध हटाउनुपर्ने श्वेतपत्रमा उल्लेख छ।
त्यस्तै बेइजिङले बाह्य शक्तिहरूले पृथकतावादी शक्तिहरूद्वारा उत्तेजक कार्यहरूलाई प्रोत्साहित र उक्साएको आरोपसमेत लगाएका छन्। विशेष गरी अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको गत वर्षको ताइपेइ भ्रमणले चीन-अमेरिका सम्बन्धलाई मात्र नभई चीन-ताइवान सम्बन्धलाई समेत तनावपूर्ण अवस्थामा पुर्याएको छ।
‘यसले जलडमरू मध्ये पार तनाव र मुठभेडलाई तीव्र बनाएको छ र एशिया-प्रशान्त क्षेत्रमा शान्ति र स्थिरतालाई कमजोर बनाएको छ,’ श्वेतपत्रमा भनिएको छ, 'यो शान्ति, विकास र जित-जितको सहकार्यको अन्तर्निहित विश्वव्यापी प्रवृत्तिको विपरीत छ र अन्तर्राष्ट्रिय समुदायको चाहना र सबै जनताको आकांक्षा विपरीत छ।’
श्वेतपत्रमा बाह्य शक्तिको भरमा ताइवानका ‘पृथकतावादी’हरूले केही हासिल गर्न नसक्ने समेत दाबी गरिएको छ।
बेइजिङले श्वेतपत्रमार्फत शान्तिपूर्ण पुनर्मिलन र "एक देश, दुई प्रणाली" ताइवान प्रश्न को समाधानका लागि आधारभूत सिद्धान्तको रुपमा अगाडि सार्दै आएको छ।
‘शान्तिपूर्ण पुनर्मिलनको लागि, हामीले स्वीकार गर्नुपर्छ कि मुख्य भूमि र ताइवानको आफ्नै छुट्टै सामाजिक प्रणाली र विचारधारा छन्,’ श्वेतपत्रमा भनिएको छ, ‘एक देश, दुई प्रणालीको सिद्धान्त नै यस समस्याको सबैभन्दा समावेशी समाधान हो। यो एक दृष्टिकोण हो जुन लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित छ, सद्भावना प्रदर्शन गर्दछ, ताइवान प्रश्नको शान्तिपूर्ण समाधान खोज्छ, र पारस्परिक लाभ प्रदान गर्दछ। सामाजिक व्यवस्थाको भिन्नता न त पुनर्मिलनको बाधक हो। न त पृथकतावादको औचित्य नै हो।’
हङकङलाई बेलायतमा आफ्नो चीनमा गाभ्नका लागि चीनले यही सिद्धानलाई अंगिकार गरेको थियो। हङकङ अहिले पनि ‘एक देश दुई प्रणाली’ अनुरुप चीनको हिस्सा रहँदै आएको छ।
बेइजिङले ताइवानलाई एकीकरण गर्ने राष्ट्रिय अभियान अन्तर्गत श्वाशासित ताइवान टापुसँग कूटनीतिक सम्बन्धबाट एक्लाउने प्रयासलाई समेत तीव्रता दिएको छ। यसको पछिल्लो उदाहरण हो होण्डुरस।
सन् २०१६ मा स्वशासित ताइवानमा वर्तमान सत्तारुढ दल सत्तामा आएसँगै चीनले कूटनीतिक रुपमा एक्लाउने प्रयासलाई तीव्र पारेको थियो। त्यतिबेला ताइवानसँग २२ राष्ट्रले कूटनीतिक सम्बन्ध राख्दै आएका थिए। पछिल्लो समय होण्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेसँगै यो संख्या १३ पुगेको छ। २०१६ यता ९ वटा देशले कूटनीतिक सम्बन्धलाई बेइजिङमा स्थानान्तरण गरिसकेका छन्। यो होडमा होण्डुरस पछिल्लो देश हो। उसले सोमबार बेइजिङमा आफ्नो दूतावासको उद्घाटन समेत गरेको छ।
बेइजिङमा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर छिन काङको साथमा होण्डुरसका विदेशमन्त्री एडवार्डो एनरिक रेइनाले संयुक्त रुपमा दूतावासको उद्घाटन गरेका हुन्।
हालसम्म ताइवानलाई स्वतन्त्र देशको मान्यता दिनेमा अफ्रिकी मुलुक इस्वाटीनी, ल्याटिन तथा क्यारेवियन मुलुकहरु बेलिज, ग्वाटेमाला, हाइटी, पाराग्वे, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लिसिया,सेन्ट भिनिसेन्ट एण्ड ग्रेनाडिन्स रहेका छन्। त्यस्तै प्यासिफिक क्षेत्रका मार्सल आइल्याण्ड, नउरु, पलाउ र तुभालुले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिँदै कूटनीतिक सम्बन्ध स्थापना गरेका छन्।
होण्डुरसले चीनबाट ठूला परियोजना भित्राउने भन्दै ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो। गत मार्चमा त्यहाँको विदेश मन्त्रालयले ताइवानी दूतावासलाई खाली गर्न एक महिनाको अल्टिमेटम दिँदै मैत्रीपूर्ण बिदाइ चाहेको जनाएको थियो। साथै उसले ताइवानमा छात्रवृत्तिमा अध्ययनरत होण्डुरसका विद्यार्थीहरुलाई मुख्यभूमि चीनका विश्वविद्यालयमा स्थानान्तरण गरिने जनाएको थियो।
सन् २०२१ डिसेम्वरमा पनि अर्कोमध्ये अमेरिकी देश निकारागुवाले ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्दै मुख्यभूमि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो। यसअघि चीनले कोस्टारिका, पानामा, एल साल्भाडोर, र सोलोमन आइल्याण्डलाई ताइवानसँगको कूटनीतिक सम्बन्धबाट अलग गराएको थियो।
पछिल्लो समय ताइवानसँग सम्बन्ध तोड्ने होण्डुरसकी राष्ट्रपति क्यास्त्रोले चुनावी दोरानका क्रममा ताइवानसँगको सम्बन्धलाई बेइजिङमा स्थानान्तरण गर्ने घोषणा गरेकी थिइन्। हाल ताइवानसँग कूटनीतिक सम्बन्धमा रहेका देशहरु मध्ये अमेरिकी क्षेत्रका साना तथा कम विकसित देशहरु हुन्।