PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

चर्को गर्मी झेल्दै कांग्रेसको रुपान्तरण अभियान, शेखरसँग देउवाले राखे चासो



पहिलोपोस्ट

चर्को गर्मी झेल्दै कांग्रेसको रुपान्तरण अभियान, शेखरसँग देउवाले राखे चासो

काठमाडौं : यसपटक नेपालका धेरै ठाउँमा तापक्रमले 'रेकर्ड ब्रेक' गरेको छ। तापक्रमले ४४ वर्षअघिको रेकर्ड ब्रेक गर्दा स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई सचेत गरेको छ - लु चल्न सक्छ, सकेसम्म घरभित्रै बसेर गर्मीबाट जोगिनु। तर नेपाली कांग्रेसका युवा नेताहरू झन्डै ४४ सेल्सियस डिग्रीको बल्दो तापक्रममा पनि आफ्नो स्वास्थ्यको कुनै परवाह नगरि देशभर पार्टी रूपान्तरणको कार्यक्रममा सक्रिय छन्।

मधेशबाट शुरु भएको रुपान्तर अभियान वाग्मती हुँदै सुदूरपश्चिमसम्म पुगेको छ। पार्टी रुपान्तरणका लागि वाग्मती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अभियान सकाएको अभियानकर्ता भुपेन्द्रजंग शाहीले जानकारी दिए। अब यो अभियान कोशी प्रदेशमा केन्द्रित हुने शाही बताउँछन्।

गुरु घिमिरे, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, देवराज चालिसे, भरत खड्का, सुबास पोख्रेल, बिजुला बर्मा, धर्मेन्द्र नेम्वाङ, विष्णुदेवी पाण्डे, विक्रम खनालसहितका नेताले यो अभियानलाई अगाडि बढाइरहेका छन्। अभियानमा नरेन्द्र केरुङ, भूपेन्द्र थापा, व‌ंशलाल तामाङ, रिता शाही, लक्ष्मी पाण्डे, सुवास लोहनी, नबिन श्रेष्ठ, तेजेन्द्र भटराईसहितका नेता पनि सहभागी छन्। अभियानमा सहभागीकाअनुसार जसरी तापक्रम बढेको छ - त्यसैगरी कांग्रेसलाई बदल्ने, परिवर्तन गर्ने र सुधार गर्ने मनभित्र तापक्रम बढेको छ। कांग्रेसलाई रुपान्तरण गर्ने हामो मनमा आगो बलेको छ, हुटहुटी चलेको छ। बाहिरी तापक्रमले जति पोले पनि हामीलाई काङ्ग्रेस सुधार गर्ने मनको राँकोले बढी पोलेको छ।

नेतृत्वको पार्टी सञ्चालन शैलीसँग असहमत हुँदै दबाब बढाउन र रुपान्तरण गर्न यो अभियान अगाडि बढाएको कर्णालीमा संयोजक तोकिएका शाही बताउँछन्।

'नेतृत्वको शैली बदल्नुपर्छ'

संरचना र शैली नबदल्ने हो भने पार्टी झन् कमजोर हुने र नयाँ दलको चुनौती सामना गर्न नसक्ने भन्दै पार्टी नेतृत्वलाई जानकारी गराएरै अभियान शुरू गरेको अभियान पक्षधरको दाबी छ।

नेत गुरुराज घिमिरे ६ वटा प्रदेशमा सकाइएको अभियानमा उत्साहपूर्ण सहभागिता देखिएको र थुप्रै समस्या पहिचान भएको बताउँछन्।

‘हामीले मुख्यगरी ६ प्रदेशको केन्द्रमा ठूला अन्तरक्रिया गर्‍यौं। यी कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै कांग्रेस कार्यकर्ताले पार्टी नेतृत्व र पार्टी सरकारमा हुँदा भइरहेको कमजोरीलाई प्राथमिकताका साथ उठाउनुभएको छ,’ घिमिरे भन्छन्, ‘ठूलो पार्टी भएर सरकारमा सहभागी हुँदासमेत नतिजा नपाएका हामी तपाईंहरूका समस्या के छन् भनेर पुग्दा उत्साहपूर्वक प्रस्तुत भएका छन्।’

त्यसपछि जिल्ला र स्थानीय तहसम्मै कार्यक्रम लिएर जाने उनीहरूको तयारी छ। शाही सम्भावित चुनौतीलाई लिएर देशभर पुग्दा कार्यकर्ताले भावना पोख्न पाएको टिप्पणी गर्छन्।

उनका अनुसार पार्टीका नेताको परम्परागत शैली, विवाद, गुटबन्दी देखेर कार्यकर्ता आजित भएका छन्। नयाँ दल चुनौतीको रूपमा उभिएको भनेर मुख्य सुझाव आएको उनको भनाइ छ।

‘पार्टीको कुनै कार्यक्रम नहुँदा हाम्रै रुपान्तरण कार्यक्रम पार्टीको अफिसियल कार्यक्रमजस्तो भएको छ। कार्यकर्ताले आक्रोश, भावना पोख्न पाएका रहेनछन्। हामीले हजारौंलाई मञ्च दियौं। आक्रोश र पोख्ने र भावना राखेर शान्त हुने मौका कार्यकर्ताले पाएका छन्’ शाही भन्छन्, ‘ठूलो पार्टी भएर पनि सरकारले जनजीविकाका लागि प्रभावकारी काम गर्न नसकेको, पार्टीका संरचनाले प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा मुख्य चिन्ता भएको पाएका छौं।’

सात प्रदेशका ७ ठूला अन्तरक्रियामा एक ठाउँमा एक सयजना बढी सहभागीको गुनासो सुनेको र त्यसलाई लिपिबद्ध गरिएको जानकारी उनले दिए। सहभागीका गुनासा र पार्टीप्रतिका अपेक्षालाई प्रतिवेदन बनाएर पार्टी नेतृत्वलाई बुझाउने अभियानको तयारी छ।

पार्टी रमितामा, नयाँ दलको चुनौति

अभियानका क्रममा पार्टी ठूलो भएर रमिते भएर बसेको तर नयाँ दलले चुनौती बढाएकोप्रति सजग नभएको पाइएको उनले बताए।

‘अहिले कांग्रेस ठूलो पार्टी र सत्तामा भएजस्तो छ, तर भोलि कांग्रेस हार्ला कि भन्ने चिन्ता धेरैमा देखिन्छ किनकि हामी सुस्ताउँदै गर्दा चुनौती बनेर नयाँ दल उभिएका छन्,’ शाही भन्छन्, ‘समयमा सचेत भएनौं भने हामी डुब्न सक्छौं। कार्यकर्ताको भावना पनि पार्टी नसुध्रिए अवस्था अनुकूल छैन भन्ने नै छ।’ पार्टी नसुध्रिए २०८४ को चुनाव कांग्रेसका लागि कठिन हुने मत यो अभियानका क्रममा प्राप्त गरेको उनीहरूको भनाइ छ।

यद्यपि पार्टीले केही गर्छ भन्ने आशा मारेकालाई पनि आफूहरूको अभियानले थोरै भए पनि आशा जगाएको उनको टिप्पणी छ।

‘हामी रहरले हिँडेका हैनौं, समग्र पार्टीको चिन्ताले प्रतिबद्ध भएर हिँडेका हौं भन्ने धेरैले बुझेका छन्। यो गर्मीमा काठमाडौंमा एसीमा बस्ने र सामाजिक सञ्जालमा लेखेर टिप्पणी गर्ने जिम्मेवार नेताभन्दा यिनीहरू शुद्ध मनले आए भन्ने धेरैको बुझाइ पायौं,’ शाही भन्छन्, ‘हाम्रो अभियानले कांग्रेससँग आशा मारेकालाई केही आशावादी बनाएको छ किनकि हामी पनि कुनै पद र प्रतिष्ठा नपाएकाहरू त्यत्तिकै होमिएका हैनौं। पार्टीको चिन्ताले पुगेका हौं।’

सभापतिले मात्रै होइन महामन्त्रीद्वयले पनि सकेनन्!

पार्टी नेतृत्वको काम गर्ने शैलीसँग केन्द्रमा महामन्त्रीद्वय नै असन्तुष्ट भइरहेका छन्। जिम्मेवार पदमा भएका उनीहरूले हस्तक्षेपकारी भूमिमा निर्वाह गर्न सकिरहेका छैनन्। सभापतिले काम गर्न नदिएको भन्दै पार्टीमा विद्रोह गर्नेसम्मको चेतावनी उनीहरूले दिइरहेका छन्। यो अभियानमा सभापतिदेखि पार्टीका जिम्मेवार युवा महामन्त्रीसम्म पनि कार्यकर्तामा आक्रोश देखिएको छ।

अभियान सकिएपछि गर्नुपर्ने सुधारको प्रतिवेदन पार्टीलाई बुझाउने र माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउनेसम्मको तयारीमा यो पक्ष छ।

पार्टी बदलिनुपर्ने, नागरिकसँग जोडिने कार्यक्रम ल्याउनुपर्ने, पार्टीलाई थप चलायमान बनाउनुपर्ने उनीहरूको माग छ। तर नेतृत्वले बेवास्ता गरिरहे विधानअनुसार विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षर अभियान नै चलाउने चेतावनी यो समूहले दिएको छ।

शेखरसँग देउवाको चासो

अभियानमा पूर्व संस्थापननिकट धेरै नेता छन्। यसैले पनि सभापति देउवाले देशभर गरिएको यो कार्यक्रमबारे नेता डा. शेखर कोइरालासँग चासो राखेको पाइएको छ।  ‘हामीले अभियान चलाएपछि सभापति शेरबहादुर देउवाले शेखर कोइरालालाई यो अभियान किन भनेर सोध्नुभएको रहेछ,’ एक नेता भन्छन्, ‘शेखरले घरमै एसीमा सुतेर बस्नुभन्दा केही गतिविधि गर्नु, जनताको बीचमा गाउँगाउँ डुल्नु र समस्या बुझ्नु सकारात्मक हो भनेर बताउनु भएछ।' तर आफूहरू कुनै टीमको सदस्यका रूपमा अभियानमा नहिँडेको ती नेता बताउँछन्।

कार्यक्रम कसरी सञ्चालन?

यो अभियानमा ६ प्रदेशका केन्द्रमा मुख्य र बाटो परेका जिल्लाका शहरका अन्तरक्रियाको कार्यक्रम गरेको शाही बताउँछन्। कतै पनि मञ्च, प्रमुख अतिथि र मुख्य अतिथि नबनाई अन्तरक्रियामा उनीहरूले सुझाव लिएका थिए।

‘हामीले नेतालाई मञ्चमा राखेनौं। कसैलाइ बिसेस आसन ग्रहण गराइएन। सबै तलै बसेर कार्यकर्ताको कुरा सुन्यौं। जाने नेता बोल्नेभन्दा तलका कार्यकर्ता र आम मान्छेको भावना बुझ्यौं,’ शाही भन्छन्, ‘एउटा कार्यक्रममा एक सय जनासम्मले बोल्नुभयो। एकैपटक २० केन्द्रीय नेता ६ प्रदेश पुग्यौं।’

सहभागीको धारणा रेकर्डसमेत गरिएको उनले बताए। ‘सहभागीहरूको धारणा रेकर्ड गरेका छौं। भिडियो र अडियो सबै रेकर्ड हामीसँग छ,’ शाही भन्छन्, ‘पार्टी हितका बारेमा आएका महत्त्वपूर्ण सुझावलाई प्रतिवेदन बनाएर सभापति र पदाधिकारीलाई बुझाउँछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell