PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

बजार फोहोर गर्नेलाई परवानीपुर गाउँपालिकाले कारबाही गर्ने



पहिलोपोस्ट

बजार फोहोर गर्नेलाई परवानीपुर गाउँपालिकाले कारबाही गर्ने

वीरगंज : पर्सा र बाराको दोसाँध तथा वीरगंज-पथलैया सडकखण्डसँगै जोडिएको परवानीपुर गाउँपालिकाको पुरानो बजार हालसम्म व्यवस्थित हुन सकेको छैन। अव्यवस्थित पसल, जथाभावी फोहर फाल्ने, खानेपानी, शौचालय र पार्किङलगायतको सुविधा नहुँदा परवानीपुर बजार अस्तव्यस्त बनेको छ।

तर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर व्यवस्थित परवानीपुर बजार बनाउने रणनीति गाउँपालिकाले लिएको छ। गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीका अनुसार सबैभन्दा पहिले बजारमा चाहिने आवश्यक भौतिक पूर्वाधार निर्माण तथा मर्मत गर्ने काम हुनेछ।

त्यसपछि बजार सफा र स्वच्छ बनाउन कडाइ गरिने उनले बताए। उनले परवानीपुर बजारमा प्रदूषण फैलाउने व्यवसायी, पसल सञ्चालक, उपभोक्ता एवं सर्वसाधारणलाई कानुनको दायरामा ल्याउने समेत बताए।

सरसफाइमा हेलचेँक्र्याइँ गर्नेलाई जरिबाना गर्ने वीरगंज महानगरपालिकाको मोडेललाई नै परवानीपुरले पनि लागू गर्ने तयारी भएको उनले बताए। पसल सञ्चालकहरुले नै आफ्नो पसलबाट निस्किने फोहोरलाई सीमित समयको लागि भण्डारण गर्नुपर्ने र गाउँपालिकाको फोहर उठाउने गाडीमा निश्चित समयमा फ्याक्नुपर्ने नियम लगाउने तयारी रहेको उनको भनाइ छ।

यस्तो नियमलाई पालना नगर्ने सबैलाई जरिबाना गरेर परवानीपुर बजारलाई सफा, स्वच्छ र व्यवस्थित बजार बनाउने आफूहरूको तयारी रहेको उनले बताए।

बजार परिसरमा प्रदेश सरकार र पालिकाको बजेटबाट भुइँ ढलान गरी खुद्रा बजारको लागि जग्गा तयार पारिएको छ। त्यस्तै, तीन लाखको बजेटमा शौचालय निर्माण भएको जानकारी गराउँदै उनले आगामी दिनमा खानेपानी, पार्किङ र पुरानो बजारको भवनलाई अझैं आकर्षित र व्यवस्थित बनाउने लक्ष्य रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell