PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

अर्कैको नाममा लोकसेवा परीक्षा दिने र दिन लगाउने दुई जना पक्राउ



पहिलोपोस्ट

अर्कैको नाममा लोकसेवा परीक्षा दिने र दिन लगाउने दुई जना पक्राउ

बुटवल : रुपन्देही प्रहरीले लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने र परीक्षा दिन लगाउने दुई जनालाई पक्राउ गरेको छ।

लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२/०७६-०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिने र दिन लगाउने दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो। उक्त विज्ञापन अनुसार पहिलो पत्रको परीक्षा २०७७ फागुन २९ गते र दोस्रो र तेस्रो पत्रको लिखित परीक्षा २०७८ साउन १६ गते लिइएको थियो।

३ वटै लिखित पत्रको परीक्षामा परीक्षार्थी सप्तरीको राजविराज-११ का ३३ वर्षीय मनोज कुमार शर्मा सुतिहारको नामबाट सोही स्थानका ३० वर्षीय नारायण यादवले लोकसेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेका थिए। लोकसेवा आयोगले सबै प्रमाण जुटाएर प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको हो।

सोही अनुसार प्रहरीले परीक्षा दिने यादव र परीक्षा दिन लगाउने सुतिहार दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार सुतिहार हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सह-लेखापाल पदमा कार्यरत छन् भने यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत रहेका छन्।

प्रहरीले दुवै जनालाई पक्राउ गरी लिखतसम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ। उनीहरूलाई लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत रुपन्देहीबाट ७ दिने म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell