काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्।
माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताएका हुन्।
'समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ,' उनले भने।
नेकपा जन्माउने विचार र प्रयोग पनि आफूहरुकै पहल भएको भन्दै उनले त्यो आत्मसमर्पण र बिसर्जनको बाटो नभएको बताए।
'समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो,' उनले भने, 'हिजोको एकता कायम राख्न सम्भव भएन। तर, लाखौँ जनतालाई एकतावद्ध नगरी क्रान्ति हुँदैन।'
उनले फेरि एकताका लागि पहल गर्नुपर्ने भन्दै समाजवादी मोर्चाको दस्तावेज टुंगाएको बताए।
'हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ। एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ,' उनले भने।
फेरि नेकपा बनाउने कोसिस भइरहेको भन्दै उनले त्यसको ठूलो अर्थ रहने बताए। देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउने उनले बताए।
'हाम्रो क्रान्ति मौलिक र जीवन्त छ। हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गर्यौं। हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ,' उनले भने, 'लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो। तर, उहाँले लेखेजस्तै दस्तावेजमा भनिएजस्तो क्रान्ति भएन। मौलिक भयो। किताबमा लेखेजस्तो होइन, जीवनमा भोगेजस्तो क्रान्ति भयो। लेनिनले फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो।'
प्रचण्डले पार्टीको आठौँ महाधिवेशनको दस्तावेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरेको भन्दै त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको बताए।
सो कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पुर्याउने र भ्रष्टाचारका नयाँ फाइल खोल्ने घोषणा गरेका थिए।