PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वामदेव गौतमसहितको समाजवादी मोर्चा कस्ने तयारीमा प्रचण्ड : नेकपा ब्युताउँन ओली देखे बाधक!



पहिलोपोस्ट

वामदेव गौतमसहितको समाजवादी मोर्चा कस्ने तयारीमा प्रचण्ड : नेकपा ब्युताउँन ओली देखे बाधक!

दाङ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङले बुधवार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताए। 'समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ,' प्रधानमन्त्रीले भने, 'नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र बिसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो।'

प्रधानमन्त्री प्रचण्डले एकतावद्ध नगरी क्रान्ति नहुने बताए। 'हिजोको एकता कायम राख्न सम्भव भएन। तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन,' प्रचण्डले भने। समाजवादी मोर्चामा माधव नेपालदेखि वामदेव गौतमसम्म अट्ने उनको भनाइ थियो। एमालेका नेताहरु पनि एकताका पक्षमा भए पनि केपी शर्मा ओली मुख्य बाधक देखिएको प्रचण्डको आरोप रह्यो। 'फेरि एकताका लागि पहल गर्नुपर्नेछ। समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ,' प्रचण्डले भने, 'तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ। एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ।'

प्रचण्डले फेरि नेकपा ब्युँताउने प्रयास भइरहेकोसमेत बताए। 'फेरि नेकपा बनाउने कोसिस भइरहेको छ। यसभित्र ठूलो अर्थ छ। जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन,' उनले भने, 'यसलाई सबैले गम्भीर रूपमा सोच्न जरूरी छ। देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell