PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित



पहिलोपोस्ट

दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
फाइल फोटो।

काठमाडौं : दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाका एक हजार तीन जनामा दादुरा फैलिएको उल्लेख छ।

महाशाखाका निर्देशक डा विवेक कुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरामा दादुराको प्रकोप भएको छ।

ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरीका बालबालिकामा बढी देखिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिका-२ र ५ मा दादुराको प्रकोप बढेको छ।

ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यही जेठ २४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ। दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ।

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुराका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप अभियान शुरु गरेको छ।

दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिनुका साथै  मृत्युदर पनि उच्च रहेको छ। एक जना दादुरा सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ। मन्त्रालायले यसअघि जतिपटक खोप लगाएपनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ।

महाशाखाले काठमाडौंका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ। यस्तै, दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिकाका स्रोत व्यक्तिलाई संवेदनशिल हुनसमेत महाशाखाले अनुरोध पनि गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell