PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

जेलबाट छुटेको एक वर्षमै ६४ करोडको कारोबार ! तीस वर्षे दिनेशको क्रिप्टो र 'वान एक्स' कनेक्सन कथा

जेलबाट छुटेको एक वर्षमै ६४ करोडको कारोबार ! तीस वर्षे दिनेशको क्रिप्टो र 'वान एक्स' कनेक्सन कथा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : 'हामी समात्न पुग्नेवित्तिकै साथमा भएको ल्याप्टप झ्याम्मै फुटायो। यो एकदमै खत्रा कारोबारी रहेछ।'

अनुसन्धानमा खटिएका प्रहरी अधिकृत हत्तपत्त यसखाले अभिव्यक्ति दिँदैनन् किनकि धेरै उनीहरुका लागि धेरै कुरा प्रत्यासित नै हुने गर्छ। तर, दिनेश खड्कालाई समात्न काठमाडौंको मैजुबहाल पुग्दाको अनुभव खटिएका प्रहरी अधिकृतका लागि पनि अनौठो खाले थियो।

क्रिप्टोसँगै अनलाइ जुवा (वान एक्सबेट)मा दिनेश मुख्य कारोबारी भएको खुलेपछि प्रहरी उनलाई पक्राउ गर्न पुगेको थियो। अपराधमा संलग्न भएको प्रमाण हात लागिसके पनि उनको लोकेसन ट्र्याक गर्न नै प्रहरीले ९ दिन खर्चिनुपरेको थियो। प्रहरीसँग भएको सुचना, उनले प्रयोग गर्न मोबाइल लगायत अन्य आधारमा पनि प्रहरीले दिनेशलाई 'लोकेट' नै गर्न सकेको थिएन।

'धेरै प्रयासपछि हामीले उसलाई समात्न सकेका हौं,' काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रमुख एसएसपी डाक्टर मनोज केसीले भने।

कैलाली घर भएका ३० वर्षीय दिनेश खड्का नेपालमा बसेर अनलाइन जुवादेखि क्रिप्टो कारोबार गर्ने मुख्य व्यक्ति मध्येका एक भएको खुलेको छ। प्रहरीले विभिन्न बैंक खाताबाट उनले ६४ करोड रुपैयाँको कारोबार गरेको तथ्य सार्वजनिक गरेको छ। उनले रामविलास थारु, तेजबहादुर कठायत, नविन चौधरी, अनिता धितालको कागजपत्र प्रयोग गरेर ६३ वटा बैंकमा खाता खोलेका थिए। उनले १२ वटा बैंकबाट ६४ करोडको कारोबार गरेको देखिएको हो।

बुधवार प्रहरीले अनलाइन जुवासँगै क्रिप्टोमा जोडिएका पाँच जनालाई पक्राउ गरेको छ। जसका मुख्य नाइके दिनेश देखिएका छन्। त्यस्तै उनकी प्रेमिका भनिएकी अनिता धिताललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरु सँगै बस्दै आएका थिए।

त्यसो त दिनेश पहिलो चोटी पक्राउ परेका भने होइनन्। उनको अर्को अपराधको पृष्ठभूमि पनि छ। २०७८ माघमा राजस्व अनुसन्धान विभागले उनीसहित चार जनालाई पक्राउ गरेको थियो। दिनेशको ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाखभन्दा बढी रकम कारोबार भएको देखिको थियो। त्यस्तै उनकी दिदी भगवती खड्काको एनआईसी एसिया बैंकमा रहेको खाताबाट २० करोड ४२ लाखको कारोबार भएको भेटिएको थियो। खड्काका बुबा नरबहादुरको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख बराबरको कारोबार भएको देखिएको थियो।

त्यसो त खड्का विद्यार्थी राजनीतिमा पनि संलग्न थिए। उनी राजधानीको पशुपति क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका थिए।

विभागको अनुसन्धानमा खड्काले करिब २ सय ५० जनाको नेटवर्क बनाएर विदेशबाट रकम ल्याउने र विविध प्रयोजनमा प्रयोग गर्ने गरेको खुलेको थियो। उनले मोबाइल भुक्तानी प्लेटफर्म (वालेट) इ-स्क्रिल र क्रिप्टो करेन्सी (अभौतिक/विद्युतीय मुद्रा) कारोबार प्लाटफर्म 'विनान्स' मार्फत् कारोबार गर्ने गरेको विभागको अनुसन्धानबाट फेला परेको थियो। तिखेर ३७ करोड ६४ लाख बिगो माग दाबी मुद्दा दायर भएको थियो। तर २५ लाख रुपैयाँ धरौटी बुझाएर उनी निस्किएका थिए।

पुन: उनी पक्राउ परेका छन्। जसले उनको अपराध यात्रा नरोकिएको पुष्टि गर्छ।

उनीसँगै दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने पनि समातिएका छन्। दीपेशले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ, दिनेश चन्दले प्रभु बैंकबाट ४५ लाख र आशिष लामिछानेले विभिन्न बैंकको खाताबाट २ करोड ९८ लाख ९६ रुपैयाँ भन्दाबढीको कारोबार गरेको खुलेको छ। उनीहरुसँग ७४ करोड १३ लाख ५० हजार रुपैयाँको कारोबार भएको देखिएको छ।

'दुई महिनादेखि हामीले फलो गर्दा अहिले समात्न सफल भएका हौं। उनीहरुले आईपीएलमा ठूलो सट्टेबाजी गरेको देखिन्छ,' एसएसपी केसीले भने।

प्रहरीले पक्राउ गरेका अशिष लामिछाने पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले भारतमा पढाइ गरेको खुलेको छ। उनले अहिले नेपालमा बसेर अनलाइन जुवाको हिसाव किताव राख्ने गरेको प्रहरीको दाबी छ। प्रहरीले उनलाई पक्राउ गर्दा साथबाट ३७ लाख रुपैयाँ समेत बरामद गरेको छ। जुन रकम उनले कमिसनबाट पाएको बताएका छन्। लामिछानेले दिनेशको समुहको मात्र नभएर विदेशबाट नेपालमा हुने अनलाइन जुवाको अन्य कारोबारको समेत हिसाबकिताव राख्ने गरेको खुल्छ।

'उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन्। तर यहाँ अनलाइन जुवाको कारोबार व्यवस्थापन गर्ने गरेको देखिन्छ,' एसएपी केसीले भने।

प्रहरीले समातिएका सबैविरुद्ध सट्टेबाजीमा म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell