दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ असार १ गतेबाट प्रदर्शन हुँदैछ। रिलिज मिति नजिकिएसँगै फिल्मका कलाकारहरु प्रमोसनमा व्यस्त छन्। अर्कोतिर फिल्मको प्रि-बुकिङ पनि आक्रामक देखिन्छ।
प्रभास, कृति सेनन र सैफ अली खानको फिल्ममा मुख्य भूमिका छ। रामायणमा आधारित यस फिल्ममा प्रभास र कृति रामसीताको भूमिकामा छन् भने सैफ रावणको।
केही दिनअघि तिरुपतिमा फिल्मको दोस्रो ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो। त्यहाँ निर्देशक ओम राउतसँगै कलाकारहरु प्रभास, कृति उपस्थित थिए। तर, सैफ देखिएनन्। ट्रेलर रिलिज कार्यक्रममा मात्रै होइन सैफ फिल्मका पछिल्ला सबै प्रमोसनल कार्यक्रमबाट गायब छन्।
मुख्य कलाकार नै फिल्मको ‘प्रमोसनल इभेन्ट’ मा नआएपछि अहिले दर्शकबिच सैफअलीको खोजी भइरहेको छ। आदिपुरुष टिमसँग टाढिनुमा दर्शकले आ-आफ्नै अनुमान गरिरहेका छन्। कतिपयले सैफ मुस्लिम भएकाले कार्यक्रमबाट टाढा बस्न खोजेको टिप्पणी गरेका छन्। उनलाई रावणको भूमिका खेलाइएको प्रति यसअघि नै विरोध भएको थियो।
टिजर रिलिजदेखि नै विवादित बनेको थियो फिल्म ‘आदीपुरुष’। आदिपुरुषको टिजर सार्वजनिक हुँदा पनि हनुमान र रावणको लुक्सलाई लिएर दर्शकहरु आक्रोशित बनेका थिए। रावणको अनुहार मुस्लिम धर्मका पात्रजस्तो देखिएको आरोप कट्टरपन्थी हिन्दु समूहले लगाएका थिए।सैफ ट्रोलको सिकार समेत हुनपुगे। साथै फिल्ममा प्रयोग गरिएको ‘भिएफएक्स’ को कार्टुनसम्मको तुलना गरिएको थियो।
त्यसपछि निर्माणपक्षले केही सचेत भएर फिल्मको ट्रेलरमा सैफअलीलाई छोटो भूमिका दिए। रावणभन्दा पनि सीताहरण गर्दाको उनको जोगीअवतारलाई स्थान दिइयो। दोस्रो ट्रेलरमा पनि रावणलाई खासै 'स्पेस' दिइएको छैन।
फिल्मको पोस्टर सार्वजनिक हुँदा पनि यस फिल्मले आलोचना खेप्नुपरेको थियो। फिल्मको पोस्टरमा राम, सीता,लक्ष्मण र हनुमानको लुक्सप्रति पनि दर्शकले असन्तुष्टि जनाए। हिन्दु धार्मिक भावनामा ठेस पुर्याएको भन्दै आपत्ति जनाएका केही संस्थाले। यतिसम्म कि आदिपुरुषका निर्माताविरुद्ध प्रहरीमा निवेदन समेत परेको थियो।
पटकपटकको विवादको सामना गरेपछि अन्तत: एकैसाथ विश्वभर रिलिज हुँदैछ यो फिल्म। फिल्म रिलिज हुने समयमा ‘कन्ट्रोभर्सी’ बाट बच्न सैफलाई प्रमोसनबाट टाढा राखिएको हुनसक्ने अनुमान पनि गरिएको छ।
केही समयअघि सैफले एक अन्तर्वार्तामा रावणलाई असल व्यक्ति भएको अभिव्यक्ति दिएका थिए। सैफको यो भनाईका कारण फिल्ममेकरले कुनै जोखिम उठाउन नखोजेको पनि हुनसक्ने अनुमान गरिएको छ। कतिपयले भने सैफलाई ‘सरप्राइज’ प्याकेजको रुपमा प्रस्तुत गर्न यसो गरिएको समेत दाबी गरिरहेका छन्। निर्माणटिमले उनी उपस्थित नहुनुको कारणबारे केही प्रतिक्रिया दिएको छैन।
५०० करोड भारतीय लगानीमा निर्माण भएको हो ‘आदिपुरुष'।