काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको बुधवार बिहान निधन भएको हो।
दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आएका थिए। गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा निर्वाचित भएका लामा लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका थिए।
उनको निधनप्रति अर्थमन्त्री डा प्रकाशशरण महतले श्रद्धाञ्जली अर्पण गरेका छन्। नुवाकोटस्थि लामाको घर पुगेर उनको पार्थिव शरीरमा अर्थमन्त्री महतले नेपालको झन्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका हुन्। 'नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ को प्रदेश ‘ख’ का सदस्य एवम् ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामाको ४४ वर्षको अल्पायुमै असामयिक निधनले स्तब्ध भएको छु,' अर्थमन्त्री महतले भनेका छन्, 'दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।'
लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य थिए। उनको निधनमा बिहीवार ककनी गाउँपालिकाले गाउँपालिका कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा शोक बिदा दिएको कार्यपालिका आकस्मिक बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए।