PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

साफमा भिड्न मनिलामा फिलिपिन्ससँग नेपालको ‘रिहर्सल’ : बलियो बन्न कि आफैँलाई जाँच्न?



मुकुन्द घिमिरे

साफमा भिड्न मनिलामा फिलिपिन्ससँग नेपालको ‘रिहर्सल’ : बलियो बन्न कि आफैँलाई जाँच्न?
फोटो : एन्फा।

जुन २१ - भारतको बेङ्ग्लुरुमा हुने साफ च्याम्पियनसिपको उद्घाटनमै नेपाल कुवेतसँग भिड्दैछ।

कुवेत?

साफ च्याम्पियनसिपका लागि दक्षिण एसियाका ६ र यस क्षेत्रबाहिरका दुई टोली गरि आठ टोली प्रतिस्पर्धामा उत्रदैँछन्। समूह ‘ए’मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन्।

साफमा नेपालले अहिलेसम्म अर्जेको ठूलो उपाधि हो उपविजेता, अघिल्लो सिजनमा मात्रै हात पारेको। नेपाल, भारत, भुटान, पाकिस्तान, बंगलादेश र माल्दिभ्सका अलवा साफ क्षेत्रभन्दा बाहिरका लेबनान र कुवेतले प्रतिस्पर्धा गर्दैछन्।

उपाधि जित्ने विषय कठिन हो, साफ क्षेत्रमा भन्दा बाहिरका बलिया टोली आउँदा च्याम्पियनको उपाधि चुम्ने सपना पूरा गर्न अझ कठिन हुने बुझेका छन् नेपाली टोलीका कप्तान किरण चेम्जोङले।

‘मिडलइस्टका दुई टोली कुवेत र लेबनान पनि यसपाला साफमा सहभागी हुँदैछन्। यो एउटा पाटो थियो’, साफ तयारीका लागि मनिला जानुअघि कप्तान चेम्जोङले भनेका थिए, ‘यसअघिको साफ भन्दा यसपटक 'नेक्स्ट लेभल'को हो जस्तो लाग्छ। यो सिजन बढी प्रतिस्पर्धा हुने देख्छु।’

पछिल्ला ४ खेलमा पराजित छ फिलिपिन्स, आज मैत्रीपूर्ण खेल

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ। खेल दिउँसो ४: ४५ बजे मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा हुनेछ।

फिफा वरीयताका हिसाबले फिलिपिन्स नेपाल भन्दा अगाडि छ। वरीयतामा फिलिपिन्स १ सय ३६ औँ स्थानमा रहँदा नेपाल १ सय ७४ औँ स्थानमा छ। अर्थात फिलिपिन्स नेपाल भन्दा ३८ स्थान अगाडि छ।

तर, पछिल्ला प्रदर्शनलाई हेर्दा भने लय गुमाएको देखिन्छ फिलिपिन्सले। यसको एउटा उदाहरणको पछिल्लो हारको शृङखला। फिलिपिन्सले पछिल्ला ४ खेलहरुमा लगातार पराजय ब्यहोरिरहेको छ।

सन् २०२२ को डिसेम्बरमा ब्रुनाइलाई हराएयता फिलिपिन्सले जित निकालेको छैन। त्यसयता थाइल्याण्ड, इन्डोनेसिया, कुवेत र जोर्डनसँग पराजय ब्यहोरेको छ।

नेपाल भने इन्डोनेसियासँग २०२२ को जुनमा ७-० को पराजय ब्यहोरेयता ५ खेलमा अपराजित छ। पछिल्ला खेलमा लाओसलाई एकपटक २-० र अर्को पटक २-१ गोलअन्तरले हराएको नेपाल भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो। त्यसअघि मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३-१ र पाकिस्तानलाई १-० गोलले हराएको थियो।

पछिल्लो पटक नेपाल र फिलिपिन्स सन् २०१७ मा एएफसी एसियन कपको छनोट अन्तर्गतको खेलमा आमनेसामने भएका थिए। उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो।

सन् २०११ पछि पाँच पटक यी दुई टोली आमनेसामने हुँदा नेपालले जित निकालेको छैन। यस्तोमा फिलिपिन्ससँग नेपाललाई साफका लागि टिम - सेट गराउने अवसर हुनेछ।

लिगले छुटेको तयारी, अस्पष्ट लक्ष्य

शहीद स्मारक ‘ए’ डिभिजन लिग २७ गते सकियो। लिगको समापन पर्खँदापर्खँदै नेपाली टोलीलाई तयारीका लागि समय नै पुगेन। लिगका बिचमै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसेले ‘ट्याक्टिकल ट्रेनिङ’ भनेर खेलाडीको नाम सार्वजनिक गर्नमात्र सके।

बिचमा ‘क्याम्प’ पनि नबोलाइएको होइन। तर, ‘ए’ डिभिजन लिगका क्लबहरुले लिग चलिरहँदा खेलाडी दिन नसक्ने भन्दै विज्ञप्ति निकालेपछि एन्फा पछि हट्यो। दुई दिन प्रशिक्षण गरेर सबै स्थगित भयो।

लिग सकिएपछि त प्रशिक्षण गर्ने समय नै उब्रिएन। त्यसमाथि लिगमा अस्तब्यस्त तालिकाले खेलाडी थकित त हुने भए नै, चोट पनि उत्तिकै चिन्ताको विषय बनेको छ।  

अघिल्ल संस्करणहरुमा साफ च्याम्पियनसीपमा जानुअघि नेपालको लक्ष्य साफमा स्वर्ण ल्याउने भन्ने हुन्थ्यो। तर यसपाला प्रसंग फरक छ।

कप्तान चेम्जोङले यसमा ‘हामी साफ जित्छौँ’ भनेर कमिटमेन्ट पनि दिन हिच्किचाए। यसको पनि कारण स्पष्ट छ।

पहिलो, खेलाडीदेखि कोचसम्म टिममा नयाँ छन्। दोस्रो, उनीहरुले पर्याप्त तयारीको अवसर पाएका छैनन्। तर महत्वपूर्ण भनेको यसपाला दक्षिण एसिया क्षेत्रभन्दा बाहिरका पनि राम्रा टोलीहरु छन्।

‘यसपाला चुनौती छ। हामी जित्छौँ भन्न मिल्दैन। तर जति समय पायौँ कोचले प्लान बनाएर सबैजना एउटा परिवार भएर प्रतिस्पर्धामा सहभागिता जनाउन जाँदैछौँ’, कप्तान चेम्जोङले भने, ‘साफ च्याम्पियनसिपमा राम्रो नतिजाका लागि फाइटचाहिँ गर्नेछौँ।’

चेम्जोङले देखेको अर्को ठूलो चुनौती भनेको नेपाल रहेको समूह पनि हो।

‘नयाँ छन् खेलाडी। तयारीको समय छैन। हामीसँग ट्रेनिङ टाइम भएको भए अलि राम्रो अवसर हुनेथियो। तर त्यो छैन’, उनले भने, ‘हाम्रो समूह ग्रुप अफ डेथ देखिन्छ। तर हामी तयार भएर जान्छौँ। गाह्रो छ अहिलेको अवस्था फिलिपिन्सको खेलमा केन्द्रीत छौँ।’

प्रशिक्षक भिन्सेन्जोले भने साफ च्याम्पियनसिपमा आफू नयाँ भएको भन्दै खेलाडीमाथि आफूले धेरै भर गरेको बताउँछन्।

‘फिलिपिन्स बलियो टोली छ। हामीले हाम्रो तर्फबाट राम्रो गर्ने प्रयास गर्नेछ। युरोपमा खेलिरहेका खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ’, उनले भने, ‘हामीसँग धेरै नयाँ खेलाडी छ। म उत्साहित छु। खेलाडीबाट धेरै आशा गरेको छु।’

‘नेक्स्ट लेभल’मा पर्याप्त छ यति तयारी?

कप्तान चेम्जोङले भनेजस्तो साफमा यसपाला प्रतिस्पर्धा ‘नेक्स्ट लेभल’ हुनेवाला छ। नेपालले आफ्नो समूहमा रहेका टोलीसँग गरेको हालसम्मको प्रदर्शन र यो प्रतियोगिताका लागि गरेको तयारी हेर्दा अवस्था निराशाजनक देखिन्छ।

नेपालले कुवेतसँग हालसम्म कुल ९ खेल खेल्दा एउटामा बराबरी गरेको छ भने बाँकी सबैमा पराजय ब्यहोरेको छ। त्यस्तै भारतसँग २३ खेल खेल्दा १६ हार २ जित र ५ बराबरी खेलेको छ।

त्यस्तै,पाकिस्तानसँग १८ खेल खेल्दा ७ हार, ६ जित र ५ बराबरी खेलेको छ। त्यसमाथि यसपटक डायस्पोराका खेलाडीहरु भेला गरेर टिम बनाएको छ पाकिस्तानले। जसमा इङ्ग्लयान्डको उमेर समूहमा कप्तानी गरिसकेका खेलाडीदेखि युरोपेली लिगमा खेलिरहेका खेलाडीको बाक्लो उपस्थिति छ।

नेपालको अवस्था ठीक उल्टो छ। विदेशमा रहेका राम्रा नेपाली खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउनु टाढाको कुरा राष्ट्रिय टोलीमा राम्रो खेलिरहेका खेलाडीहरु नै  प्रोफेसनल करियर छाडेर बाहिरका देशहरुमा आकर्षित भइरहेका छन्।

यस्तोमा लिग र राष्ट्रिय टोलीको तयारीबिच अभिभावक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले समन्वय गर्न नसक्दा तयारी फितलो बनेको छ। साफ च्याम्पियनसीपमा यसपाला उपविजेताकै साख जोगाउन पनि नेपाललाई हम्मेहम्मे पर्ने देखिन्छ।

प्रतिस्पर्धीको तयारी र लय

नेपालले शीर्ष चारमा पुग्न यसपाला संघर्ष गर्नुपर्ने देखिन्छ। साफलाई लक्षित गरेर खास गरि पाकिस्तान र भारतको तयारी राम्रो छ। मार्चमा माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेलेको पाकिस्तानले हाल मरिसस, केन्या, जिबुटीसँग फोर नेसन्स कपमा प्रतिस्पर्धा गरिरहेको छ।

त्यस्तै, भारतीय टोलीले पनि हिरो इन्टरकन्टटिनेन्टल कप खेलिरहेको छ घरेलु मैदानमा। जसमा मंगोलिया र भानुआटुलाई हराइसकेको छ भने तेस्रो खेलमा लेबनानसँग बिहीवार नै खेल्दैछ। नेपालमा लिग चलिरहँदा नै बन्द प्रशिक्षणमा जुटेको भारतले साफ च्याम्पियनसिपलाई पनि एसिया कपको तयारीका रुपमा लिएर अघि बढेको छ।

त्यस्तै, नेपालकै समूहमा रहेको अर्को टोली कुवेतले इजिप्टको कायरोमा तयारी गरिरहेको छ। यो वर्षको सुरुमा गल्फ कपमा कतारसँग हार ब्यहोरेयता कुवेतले पराजय भोगेको छैन। पछिल्ला यूएई, फिलिपिन्स र ताजकिस्तानलाई हराएको कुवेतले बहराइनसँग बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell