काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बिहीवार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिहीवार राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, मधेश प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
यस वर्षको मनसुन प्रणाली बुधवार नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, वाग्मती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागमा आगमन भएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो।
यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको छ। नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले बताएको छ।