
काठमाडौं : संवैधानिक परिषद्ले वैशाख २५ गते प्रधान न्यायाधीश सिफारिस गरेका कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको सम्बन्धमा संसदीय सुनुवाई समितिमा आजको लागि सुनुवाई सकिएको छ।
सुनुवाईका क्रममा कार्कीले आज आफ्नो कुरा राख्नुका साथै कार्ययोजना पनि प्रस्तुत गरेका थिए।
सुनुवाई शुक्रवार बिहान ८ बजे सुरु हुनेछ। शुक्रवारको सुनुवाईमा उजुरीबारे प्रश्नोत्तर हुने बताइएको छ।
प्रधान न्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी दिनेको लर्को थियो। उनीविरुद्ध २९ उजुरी परेका थिए।
उजुरीकर्ताले समिति सदस्यहरूले दलीय भागबन्डाभन्दा बाहिर निस्कन नसकेको, सुनुवाइ कर्मकान्डी बनाउन खोजेको आरोप लगाएका छन्। सिंहदरबारमा रहेको संघीय संसद् सचिवालयको लेखा समितिको हल बुधवार उजुरीकर्ताको विरोधका कारण दिनभर तनावग्रस्त बनेको थियो।
बुधवार सुरुमा उजुरीकर्तालाई बाहिरै राखेर समिति सदस्य मात्रै छलफलमा जुटेका थिए। उक्त छलफलमा उजुरी कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको थियो।
समितिमा बोल्दै उनले इमान्दार रूपमा सांगठनिक भूमिका निभाएको दावी गरेका छन्। महान्यायाधीवक्ता र बार एसोसिएसनको अध्यक्षको भूमिका समेत निभाएको भन्दै उनले तीन महिनामै आफूलाई सर्वोच्च अदालतबाट अफर आएको बताए।
‘म जहिले नेपाल बार एसोसिएसनको अध्यक्ष भएँ, सहभागिता र समानताबाट अघि बढेँ। तीन महिनामै सर्वोच्च अदालतबाट अफर आयो, मेरो इच्छा थिएन। तत्कालीन प्रधान न्यायाधीशले आउनुस् भन्नु भयो। यो सौभाग्य भनौँ ८ महिना कायम मुकायम प्रन्या भएँ,’ उनले भनेका छन्।
२०७२ फागुनमा सिफारिस भएर २०७३ साउनदेखि न्यायाधीशको भूमिका निभाएको उनले बताए। यो अवधिमा महत्त्वपूर्ण समितिमा जिम्मेवारी पाएको सनाउँदै उनले संवैधानिकदेखि देवानी र फौजदारी मुद्दा गरी ५ हजार ५८६ मुद्दामा आफूले फैसला गरेको जानकारी दिए।
त्यस्तै, कार्कीले मुद्दाको अटोमेटेड सिस्टममा जानुभन्दा फर्किनु चुनौतीपूर्ण हुने भन्दै अहिलेको पूर्वाधार अनुसार गोलाप्रथाबाट काम गरिरहेको बताए। उनले लामो समयदेखि सर्वोच्च अदालतमा ५ जना न्यायाधीश पाउन नसकेको पनि बताए।
प्रधान न्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी दिनेको लर्को थियो। उनीविरुद्ध २९ उजुरी परेका थिए।