PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विश्वकप छनोटअघि अन्तिम अभ्यास खेल खेल्दै नेपाल : प्रतिस्पर्धी ओमन, लगातारको हारले लय गुम्ने चिन्ता



मुकुन्द घिमिरे

विश्वकप छनोटअघि अन्तिम अभ्यास खेल खेल्दै नेपाल : प्रतिस्पर्धी ओमन, लगातारको हारले लय गुम्ने चिन्ता
फोटो : क्यान

काठमाडौं : क्रिकेट विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले बिहीवार चौथो अभ्यास खेल खेल्दैछ। दक्षिण अफ्रिकामा दुई अभ्यास खेल खेलेको नेपालले जिम्बावे पुगेर एउटा अभ्यास खेल खेलिसकेको छ भने बिहीवार अर्को अभ्यास खेल खेल्न लागेको हो।

जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबमा हुने खेलमा नेपालको प्रतिस्पर्धी ओमन हुनेछ। यो खेलबाट लयमा फर्किँदै विश्वकप छनोटमा राम्रो गर्ने अवसर नेपाललाई हुनेछ।

अभ्यास खेलमा नेपालको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। दक्षिण अफ्रिकामा भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो।

त्यस्तै, जिम्बावे पुगेको नेपालले चिर प्रतिस्पर्धी यूएईसँग खेलेको थियो। तर अभ्यास खेलमा यूएईविरुद्ध पनि नेपाल पराजित रह्यो। अभ्यास खेल नै भएपनि सकारात्मक नजिता निकालेर क्वालिफायर्सका लागि माहोल बनाउने दबाब नेपाललाई हुनेछ।

पछिल्लो समय प्रभावशाली प्रदर्शन गर्दै आएका आशिफ शेखले क्रिकेट विश्वकप लिग २ को क्रममा लय फर्किएर विश्वकप छनोटमा फर्कन सफल भएको स्मरण आईसीसीसँगको कुराकानीमा गरेका छन्। हुन पनि भारतबाट प्रशिक्षक मोन्टी देशाई आएपछि एकदिवसीय मान्यता नै जोगाउन संकटमा देखिएको नेपालले जितका शृङखला बनाउँदै विश्वकप छनोटमा स्थान बनाउन सफल भएको थियो।

विश्वकप छनोटपछि लयलाई कायम राख्दै एसीसी प्रिमियर कपको च्याम्पियन बनेर नेपालले एसिया कपमा समेत स्थान बनाउन सफल भइसकेको छ।

कप्तानका रुपमा रोहित पौडेलले सफलता हात पारिरहँदा मध्यक्रममा कुशल मल्लले भरपर्दो प्रदर्शन गरिरहेका छन्। त्यस्तै, प्रदर्शनमा कन्सिस्टेन्ट रहेका भीम सार्कीसँग आरिफ शेख पनि जिम्मेवारपूर्ण भूमिकामा छन्।

त्यस्तै, उदीयमान खेलाडी गुलसन झाको प्रदर्शन पनि उच्च छ। खासगरी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाललाई यूएईविरुद्ध जित दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

तर, विश्वकप छनोट अघिका अभ्यास खेलहरुमा मिलेको लगातारको पराजयले भने टिमको मानसिकतामा प्रभाव पार्न सक्ने सम्भावना रहन सक्छ। कस्तो थियो अभ्यास खेलमा प्रदर्शन?

पहिलो अभ्यास खेल नेपाल भर्सेस स्कटल्याण्ड

क्रिकेट विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली क्रिकेट टोली पहिलो खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले २८.५ ओभरमा अलआउट हुँदै १३५ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाउँदा आशिफ शेखले २८ रन बनाए। त्यस्तै कुशल भुर्तेलले १६ तथा दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ३०औँ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले अविजित रहँदै सर्वाधिक ५९ रन बनाउँदा रिचन बेरिङ्टन अविजित ४३ रन बनाएका थिए।

बलिङतर्फ नेपालका लागि गुलसन झाले २ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका थिए।

दोस्रो अभ्यास खेल : नेपाल भर्सेस नेदरल्याण्ड्स

नेदरल्याण्ड्ससँगको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो।

यो खेलमा नेपालका शीर्ष क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकको रननै जोड्न सकेनन्। ओपनर कुशल भुर्तेल ९ रनमा एलबीडब्लू आउट हुँदा आशिफ शेख र अर्जुन साउदले समान ४ रन बनाए। त्यस्तैऽ दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३० रन बनाउँदा गुलसन झाले २४ रन र प्रतिश जिसीले १९ रन बनाए। त्यस्तै, आरिफ शेख र सोमपाल कामीले समान १८ रन बनाए। बलिङतर्फ नेदरल्याण्ड्सका एल भी भान विकले सर्वाधिक ५ विकेट लिँदा क्लेटन फ्लोयडले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स ३६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्यसम्म पुग्यो। डच टोलीका लागि विस्ले बार्रस्सीले अविजित रहँदै सर्वाधिक ६३ रन बनाउँदा सक्व जुलिफिक्वर र स्कट एडवार्डले समान २२ रन बनाए। बलिङतर्फ गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए।

तेस्रो अभ्यास खेलमा यूएईसँग पराजित

दक्षिण अफ्रिकाबाट यूएई पुगेको नेपाल त्यहाँ अभ्यास खेलमा यूएईसँग पराजित भएको थियो।

यूएईविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले अन्तिम बल बाँकी छँदा सबै विकेट गुमाएर २७६ रन बनाएको थियो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ७६ रन बनाउँदा कुशल मल्लले ४६, कुशल भुर्तेलले ३९, आरिफ शेखले ३५ तथा भीम सार्कीले २५ रन बनाएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले एक बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। यूएईका लागि रोहन मुस्तफाले अविजित रहँदै सर्वाधिक ७९ रन बनाउँदा आर्यस शर्माले ५० रनको महत्वपूर्ण योगदान दिएका थिए। बलिङतर्फ नेपालका करण केसी र ललित राजवंशीले समान २ विकेट लिँदा सोमपाल कामी, गुलसन झा र कुशल मल्लले समान १ विकेट लिएका थिए।

विश्वकप छनोटमा कहिले छ खेल?

आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल र जिम्बावेबिच प्रतिस्पर्धा हुने भएको छ। असार ३ गते (जुन १८)मा हरारे स्पोर्ट्स क्लबमा नेपाल र आयोजक राष्ट्र जिम्बावे भिड्नेछन्।

त्यसपछि असार ५ गते (जुन २०) मा नेपाल र अमेरिका भिड्नेछन्। असार ७ गते (जुन २२) मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा असार ९ गते शनिवार (जुन २४) मा नेपाल र नेदरल्याण्ड्सबिच खेल हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बिहीवार जारी गरेको तालिका अनुसार नेपाल समूह ‘ए’मा परेको छ। समूह ‘ए’मा नेपालसँगै वेस्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमन र यूएई रहेका छन्।

क्वालिफायर्समा दुवै समूहबाट तीन/तीन टोली सुपर सिक्समा पुग्नेछ्न्। त्यहाँबाट शीर्ष दुईमा रहने दुई टोलीले भारतमा हुने विश्वकप खेल्नेछ।

क्रिकेट विश्वकप लिग २ मा सानदार फिनिसिङ गर्दै विश्वकप छनोटमा स्थान बनाएको नेपालले पछिल्लो समय प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा समेत स्थान बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell