PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'आदिपुरुष'मा नेपाली सेन्सर बोर्डले चलायो कैंची, ३ करोड २० लाखमा भित्रिएको फिल्मको प्रि बुकिङ कस्तो?



लक्ष्मी बलायर

'आदिपुरुष'मा नेपाली सेन्सर बोर्डले चलायो कैंची, ३ करोड २० लाखमा भित्रिएको फिल्मको प्रि बुकिङ कस्तो?

ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भोलिबाट नेपालमा पनि प्रदर्शन हुँदैछ। प्रभास, कृति सेनन र सैफ अली खानको मुख्य भूमिका रहेको फिल्मको प्रि बुकिङ भारतमा आक्रामक देखिन्छ।

बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नेपालमा पनि केही दिनअघि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। शुक्रवार ‘आदिपुरुष’ सहित हलिउड फिल्महरु ‘द फ्ल्यास’, ‘एलिमेन्टल’, र डकुमेन्ट्री ‘जे-होप इन द बक्स’ पनि रिलिज हुँदैछन्।

तर, विदेशी फिल्ममध्ये प्रभासको आदिपुरुषले नेपाली हलहरुमा उच्च शो पाएको छ। रिलिजअघि नै आदिपुरुषले बक्स अफिसमा अग्रिम बुकिङ राम्रो रहेको हल सञ्चालकहरु बताउँछन्।

बिग मुभिजले ‘आदिपुरुष’ लाई  ओपनिङमै शुक्रवार १० शो दिएको छ। जसमध्ये ६०/७० प्रतिशत टिकटहरु बुकिङ भइसकेको बिग मुभिजका सञ्चालक दिपेश शर्माले जानकारी दिए।

‘आदिपुरुषको प्रि बुकिङ राम्रो भइरहेको छ। शुक्रवारका लागि ४ शोहरु लगभग बुकिङ भइसकेका छन्। अहिलेसम्म ६०/७० प्रतिशत बुकिङ हुँदा भोलिसम्म सबै शो हाउसफुल हुने पक्का छ। शनिवारको बुकिङ पनि राम्रै रहेको छ,’ उनले भने।

अग्रिम बुकिङ राम्रै भएपनि ‘केजीएफ २’ र ‘आरआरआर’ तुलनामा भने कम रहेको उनले बताए।

त्यसैगरि, नेपालकै ठूलो मल्टिप्लेक्स क्युएफएक्समा शुक्रवार ‘आदिपुरुष’ लाई ४७ शो उपलब्ध गराएको छ। हलिउड फिल्महरु ‘द फ्ल्यास’ लाई ३४ र , ‘एलिमेन्टल’ लाई भने ७ शो छुट्टयाएको छ। तर, अन्य फिल्मभन्दा आदिपुरुषको प्रि बुकिङ बढी रहेको क्युएफएक्सकी बजार प्रमुख तृप्ति गिरी बताउँछिन्।

बागदरबारस्थित सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज’ ले गत सोमवारदेखि अग्रिम टिकट खुला गरेको थियो। आदिपुरुषलाई शुक्रवारको लागि ६ शो दिएको सीडीसी सिनेमाजका हल व्यवस्थापक जीवन शाक्यले बताए।

३ करोड २० लाखमा भित्रियो आदिपुरुष

ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ लाई गोपीकृष्ण मुभिजको ‘सिस्टर कम्पनी’ अ एट फिल्म्स प्राइभेट लिमिटेडले नेपाल भित्र्याएको हो। यस फिल्मलाई २ करोड भारतीय रूपैयाँमा नेपाल ल्याएको अ एट फिल्म्सका सञ्चालक निरज पौडेलले बताए।

उनका अनुसार आदिपुरुष नेपालभरिका १२५ स्क्रिनमा रिलिज हुनेछ।

आदिपुरुषले नेपाली हलहरुबाट उच्च शो पाएको बताउँदै निरजले फिल्मले आक्रामक ओपनिङ गर्ने सुनाए।  

केन्द्रीय चलचित्र जाँच समितिले बुधवार आदिपुरुषको एक संवादमा कैंची चलाएसँगै सेन्सर पास गरेको पौडेलले बताए। फिल्मको एक संवादमा नायक प्रभासले 'भारतके सब लड्किया' बोलेको भेटिएको र उक्त संवादले विवाद निम्तिने देखिएकोले कैंची चलाएको उनले बताए। 

नेपालका हलमा पनि हनुमानका लागि एक सिट खाली

रामको कथा माथि आधारित फिल्म हो ‘आदिपुरुष’। केही समयअघि आदिपुरुषका निर्माताले रामका सबैभन्दा ठूला भक्त हनुमानको सम्मानमा एक सिट खाली राख्ने निर्णय गरेको थियो।

नेपालमा पनि केही हलहरुले हनुमानका लागि एक सिट खाली राख्ने निरज पौडेलले जानकारी दिए। मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज लगायत विराटनगर, वुटवल र धनगढीका हलहरुले हनुमानको लागि एक सिट खाली राख्नेछन्। हेटौंडाको एनएस सिनेमाजले आदिपुरुष प्रदर्शनको क्रममा चार जना भगवानलाई समर्पित गर्दै चार सिट खाली राख्ने घोषणा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell