PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेपाल सुपर लिग मंसिर ९ गतेबाट, ए डिभिजन लिगले तान्न नसकेको दर्शक फर्काउला रंगशालामा?



पहिलोपोस्ट

नेपाल सुपर लिग मंसिर ९ गतेबाट, ए डिभिजन लिगले तान्न नसकेको दर्शक फर्काउला रंगशालामा?
फाइल फोटो

काठमाडौ‌ : यही महिना शहीद स्मारक 'ए' डिभिजन लिग सम्पन्न भयो। 'बी' डिभिजनबाट च्याम्पियन बन्दै 'ए' डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेडले शीर्ष डिभिजनको उपाधि पनि चुम्यो। ललितपुरको एन्फा कम्प्लेक्स र च्यासल मैदान तथा काठमाडौंको दशरथ रंगशालामा लिगका खेलहरु हुँदा देखिएको साझा दृष्य थियो : खाली रंगशाला। लिग भरमा कुनै पनि खेलमा रंगशालामा भरी दर्शकको उपस्थिति थिएन।

यसैबीचमा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको मिति सार्वजनिक भएको छ। कोभिडको दोस्रो लहर चलिरहँदा खबै चर्चामा आएको एनएसएलको दोस्रो संस्करण आउन लागेको हो। कोभिडको समयमा भीडभाड गर्न नपाउने अवस्था हुँदा अनलाइन प्लाटफर्मबाटै पनि एनएसएलले राम्रो चर्चा कमाएको थियो। दोस्रो सिजन आगामी मंसिर ९ गतेबाट सुरु हुने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ। २०७८ को सुरुमा पहिलो संस्करण आयोजना भएको एनएसएलको दोस्रो संस्करण भने पटकपटक मिति तोकिएर पनि घोषणा हुन सकेको छैन।

दोस्रो संस्करणको अक्सन पनि भइसकेको सन्दर्भमा अघिल्लो वर्ष खास गरी ए डिभिजन लिगसँग विवाद चर्किँदा र एन्फाको चुनावी राजनीतिका कारण लिग भने हुन सकेको थिएन। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभन्ट मेनेजमेन्टले मंसिर ९ गतेबाट पुस २१ गतेसम्म लिग हुने जनाएको छ।

सुपरलिगमा १० वटा टोलीलाई सहभागी गराउने आयोजकको तयारी छ। जसमा फ्रेन्चाइज टिमको सहभागिता रहने लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगंज युनाइटेड एफसी टिम रहेका छन्।

कोभिडको बीचमा बनेको थियो चर्चित

एनएसएलको पहिलो संस्करणसँगै नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाइज लिग सम्पन्न भएको थियो। अक्सनमा अक्सर क्रिकेटरहरु देखिने गरेकोमा पहिलो पटक फुटबलका खेलाडी देखिए। २० हजारदेखि २ लाख हुँदै खेलाडीले राम्रै पैसा पनि पाएका थिए। कोरोनाका कारण दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति निषेध थियो। दर्शक निषेध गरिए पनि पहिलो संस्करणमै सुपर लिगले नेपाली फुटबल वृत्तमा राम्रै चर्चा कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell