PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीको फन्दामा परेका ८ कलाकारको यस्तो छ पृष्ठभूमि



लक्ष्मी बलायर

‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीको फन्दामा परेका ८ कलाकारको यस्तो छ पृष्ठभूमि

काठमाडौं: प्रहरीले ‘वानएक्सबेट’ प्रकरणमा प्रकाउ परेका आठ जनाको नाम सार्वजनिक गरेको छ। जसमा केही चर्चित कलाकारसहित युट्युबरसमेत रहेका छन्।

वानएक्सबेट प्रकरणमा बल्छी धुर्वेका नामले चिनिने मरिचमान श्रेष्ठदेखि म्याकुरीका नामले चर्चित पवन खतिवडासम्म पक्राउ परेका छन्। यो प्रकरणमा पक्राउ पर्नेहरुमा राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), बेगम नेपाली (भटभटे माइला)र अलिस राईलाई प्रहरीले प्रकाउ गरेको छ। त्यस्तै, चर्चित युट्युबर जलन घर्तीमगर, गणेश देवकोटा पनि प्रहरी हिरासतमा छन्। आफ्नो युट्युब भिडियोमा वानएक्स बेटको प्रोमो राखेर प्रचार गरेका कलाकारहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बल्छी धुर्बे र राजु मास्टर

कलाकार मरिचमान श्रेष्ठ हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अभिनय यात्रा शुरु गरेका हुन्। मेरी बास्सैमा ‘बल्छी धुर्वे’ पात्रको रुपमा देखिएका उनले माछा मार्ने समुदायको प्रतिनिधित्व गरेका थिए। पछि ‘बल्छी धुर्वे’ पात्र नै उनको चिनारी बन्न पुग्यो। गोरखा घर भएका ३५ वर्षे उनी पछिल्लो समय बनस्थली बस्दै आएका छन्।

त्यसैगरि, कलाकार राजु पौडेल (राजु मास्टर) पनि टेलिसिरियल ‘मेरी बास्सै’ बाट उदाएका कलाकार हुन्। हुन त राजुले सन्तोष पन्तको चर्चित टेलिश्रृंखला ‘हिजो आजका कुरा’ बाट अभिनय यात्रा सुरु गरे। तर, उनी राजु मास्टरको नामबाट दर्शकसामू चिनिए। पोखरा घर भई नयाँबजार उनी पछिल्लो समय युट्युबमै व्यस्त देखिन्छन्।

‘मेरी बास्सै’ मा सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) छोडेपछि मरिचमान र राजुले कलाकारका साथै स्क्रिप्ट राइटिङ र निर्देशनको काम सम्हालेका थिए। तर, निर्माण कम्पनी मिडिया हबसँग विभिन्न विषयमा सहमति नभएको भन्दै दुबैजना ‘मेरी बास्सै’ बाट अलग भए।

त्यसपछि मरिचमान र राजुले मिलेर नयाँ हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ ल्याए। त्योबेलादेखि सुरु भएको उनीहरुको सहकार्य जारी छ। उनीहरु दुवै ‘हल्का रमाइलो’ सहित ‘जुठे’को निर्माणमासमेत व्यस्त छन्। मरिचमान र राजुको यी दुबै टेलिसिरियलमा अभिनयका साथै लेखन र निर्देशन रहेको छ। दुबै जना युट्युबमा समेत सक्रिय छन्। बल्छी धुर्वे युट्युब च्यानलमार्फत ‘हल्का रमाइलो’ आउँदा ‘मास्टर ‍टिभी’ बाटमार्फत भने जुठे प्रसारण हुने गर्छ। 

पवन खतिवडा ‘म्याकुरी’र सरोज घिमिरे

युवापुस्तामाझ चर्चित हास्यकलाकार हुन् म्याकुरी अर्थात पवन खतिवडा। पवनले ‘गोलमाल’ लगायतमा हास्य टेलिसिरियलमा काम गरिसकेका छन्।  पवनलाई ‘म्याकुरी’ थेगोले चर्चित बनाएको थियो। धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय पवन कमेडी भिडियोमा चर्चित छन्।

पछिल्लो समय पवन ‘द पिके भाईन्स’ युट्युब च्यानलमार्फत कमेडी भिडियोहरु निर्माण गर्दैँ आइरहेका छन्। उनको युट्युब च्यानलमा साढे ९ सब्सक्राइवर छ। म्युजिक भिडियोसहित पवनले फिल्म ‘सेन्टी भाइरस’ मा समेत अभिनय गरेका थिए। उनी स्टेज प्रोग्राममासमेत व्यस्त हुने कलाकारमा पर्छन्।

यसअघि पनि पवन एक युवकलाई कुटेको आरोपमा प्रकाउ परेका थिए। मादक पदार्थ पिएर युवक कुटेर प्रकाउ परेका उनी पछि मिलापत्रपछि हिरासतबाट छुटेका थिए।

सरोज घिमिरे पनि कमेडी भिडियो बनाएर युट्युबमा चर्चित छन्। ‘सरोज घिमिरे’ युट्युब च्यानलमार्फत सरोजकै कथा र निर्देशनमा ‘ठिकै छ’ हाँस्य टेलिसिरियल प्रसारण हुँदै आइरहेको छ। मोरङका सरोज भक्तपुर ठिमी बस्छन्।

बेगम नेपाली ‘भट्भटे माइला’

बेगम नेपाली पनि चर्चित हास्य कलाकार हुन्। मेरी बास्सै लगायतका टेलिसिरियलमा काम गरेका उनी भट्भटे माइलाको उपनामबाट चर्चित छन्। उनी पछिल्लो समय सिरियल ‘गाह्रो छ’ मा सक्रिय छन्। प्युठानका बेगम कलंकी बस्छन्।

एलिस राई

अलिश राई चर्चित प्र्याङ्कर हुन्। ‘एलिस राई’ युट्युब च्यानलमार्फत प्र्याङ् गरिएको भिडियो हाल्दै भ्युज बटुल्छन्। साथै उनी म्युजिक भिडियोमा जमेका कलाकारसमेत हुन। एलिसले फिल्म ‘सरी मम’ मासमेत अभिनय गरेका थिए। उदयपुरका एलिस पछिल्लो समय ललितपुरको टिकाथली बस्दै आएका थिए।

जलन घर्तीमगर र गणेश देवकोटा

जलन घर्तीमगर र गणेश देवकोटा पनि अहिलेका चलेका युट्युबर हुन्। जलनले खासगरि कुनै कन्टेन्टमाथि 'रोस्ट' गरेको भिडियोहरु युट्युबमा हाल्ने गर्छन्। साथै उनी मोडलिङमा पनि सक्रिय छन्। रोल्पाका जलन कीर्तिपुर बस्दै बस्दै आएका थिए।

एलिससँगै गणेश देवकोटा (जिडी) पनि कमेडी खुराकहरु दर्शकमाझ पस्किन्छन्। गणेशले पनि कमेडी भिडियो निर्माण गरेर चर्चित बनेका हुन्। मुगुका गणेश ललितपुरको टिकाथली बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell