PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सेन्सर बोर्डले आदिपुरुषबाट हटायो 'जानकी भारतकी छोरी' भन्ने वाक्य, यू सर्टिफिकेट दिइएसँगै भोलिदेखि प्रदर्शन हुने



लक्ष्मी बलायर

सेन्सर बोर्डले आदिपुरुषबाट हटायो 'जानकी भारतकी छोरी' भन्ने वाक्य, यू सर्टिफिकेट दिइएसँगै भोलिदेखि प्रदर्शन हुने

काठमाडौं : दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बाट जानकी (सीता) लाई लिएर बोलिएको एक वाक्य केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले हटाएको छ। जानकीलाई भारतकी छोरी भनिएको संवाद हटाइएको सेन्सर बोर्डका सदस्य  ऋषि राज आचार्यले जानकारी दिए।

आचार्यले आपत्तीजनक संवाद हटाइएपछि 'आदिपुरुष' सेन्सर पास भइसकेको जानकारी दिए। सो वाक्य हटाइएपछि फिल्मलाई बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ।

उनले भने, 'हिजो सेन्सरको लागि आउनुभएको थियो। नेपाललाई आघात पुग्ने केही संवादहरु हटाउन भन्यौं। जानकीलाई भारतकी छोरी भनिएको संवाद हटाएर ल्याएपछि हामीले सेन्सर पास गरेर सर्टिफिकेट दिएका हौं।'

बोर्डका अध्यक्ष अनिल कुमार दत्तले पनि आदिपुरुष सेन्सर पास भइसकेको बताए। 

'हिजो हामीले संवाद हटाएर ल्याउन भनेका थियौं। आज उहाँहरुले ल्याउनु भएको प्रिन्टमा संवाद हटाइएको छ। अनि हामीले सर्टिफिकेट दियौं,' उनले भने।

फिल्ममा रावणले सीतालाई अपहरण गरि लंका पुर्‍याइएपछि सीताको लागि मात्र नभई 'भारतकी छोरी'को लागि लडाई गर्नुपर्छ भन्ने प्रसंगमा उक्त संवाद रहेको थियो। सेन्सर बोर्डले फिल्मको सो संवाद ‘म्यूट’ गरेसँगै यस फिल्मको बुधवार सेन्सर पास भएको अ एट फिल्म्सका सञ्चालक निरज पौडेलले पनि बताए।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सो संवाद नहटाइए काठमाडौं महानगरमा  फिल्न चल्न नदिने बताएका थिए। उनले सो चेतावनी दिनुअघि नै वाक्य हटाएर सेन्सर पास भइसकेको थियो। बालेनले भने भारतमा समेत सो संवाद हटाउनुपर्ने माग राखेका छन्। उनले सो संवाद नहटाइएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिनेसमेत चेतावनी दिएका छन्।

‌ओम राउत निर्देशित यस फिल्मलाई गोपीकृष्ण मुभिजको ‘सिस्टर कम्पनी’ अ एट फिल्म्स प्राइभेट लिमिटेडले नेपाल भित्र्याएको हो।

फिल्ममा प्रभासका साथै कृती सेनन,सैफ अली खान र सनी सिंह मुख्य भूमिकामा छन्। ५०० करोड बजेटमा निर्माण भएको यो फिल्म भोलिबाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell