PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

लुम्बिनी प्रदेशमा आज बजेट प्रस्तुत हुँदै, गत वर्षभन्दा घटेर आउँदै



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा आज बजेट प्रस्तुत हुँदै, गत वर्षभन्दा घटेर आउँदै

बुटवल : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को लागि आज बजेट सार्वजनिक गर्दैछ। दाङको देउखुरीस्थित प्रदेशसभा भवनमा दिउँसो ३ बजेका लागि अधिवेशनको ११ औँ बैठक आह्वान गरिएको छ। बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्की आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यतालिका छ।

प्रदेश सरकारले गत वर्षभन्दा यो वर्ष बजेटको आकार २० प्रतिशतले घटाएर ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। संघीय सरकारबाट वित्तीय हस्तान्तरणको आकार घट्ने क्रमसँगै प्रदेश सरकारको बजेट घट्ने भएको हो।

कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथामिकतमा राख्दै गत वर्ष प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो। यो वर्ष करिब ३४ अर्ब रूपैयाँ हाराहारीको बजेट ल्याइने बताइएको छ।

यो वर्ष रोजगारीलाई प्राथामिकता दिएर बजेट निर्माण गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले बताए। प्रदेश सरकारले नीति कार्यक्रममा पनि रोजगारीलाई प्राथामिकतामा राखेको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक वर्षमा दुई लाख रोजगारी सिर्जना गर्ने बताउँदै आएका छन्।

जेठसम्म प्रदेशको बजेट झण्डै ४५ प्रतिशतसम्म मात्र खर्च भएको छ।

आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजश्व बाँडफाँट संकुचित हुने भएकाले बजेटको आकार घटेर आउने बताए।

‘चालू आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको बजेट घट्न सक्छ भन्ने प्रारम्भिक अनुमान छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell