PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रस्तावित प्रधान न्यायाधीशलाई सुनुवाई समितिमा प्रश्न : न्याय छिटो पाउन के गर्नुपर्छ?, छोटो समयमा के गर्नुहुन्छ?



प्रकाश भण्डारी

प्रस्तावित प्रधान न्यायाधीशलाई सुनुवाई समितिमा प्रश्न : न्याय छिटो पाउन के गर्नुपर्छ?, छोटो समयमा के गर्नुहुन्छ?

काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरुको प्रश्नोत्तर सुरु भएको छ। सिंहदरबारमा संसदीय सुनुवाई समितिका सदस्यले कार्कीसँग सवाल जवाफ गरिरहेका छन्।

हिजो कार्कीले बैठकमा आफ्नो कार्ययोजना पेश गरेका थिए। यस प्रकृया पूरा भएपछि उनी सबैभन्दा कम समय सर्वोच्चको नेतृत्वमा पुग्ने प्रधान न्यायाधीश हुँदैछन्।

आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कार्कीलाई अदालतमा गरिवले न्याय किन नपाएको भन्दै प्रश्न गरे। उनले अदालतकै कारण सार्वजनिक निर्माणको काममा ढिलाइ हुने गरेको आरोपसमेत लगाए।

‘सार्वजनिक निर्माणका काम समयमा हुँदैनन् अदालतका कारण। गरिवले न्याय पाउँदैन। पाउनका लागि केही विकास गर्न सकिन्छ कि?,’ उनले सोधे।

नेकपा एमालेका सांसद महेश बर्तौलाले न्यायालयप्रति जनताको विश्वास टुट्ने अवस्था आएको बताए। आफूलाई अप्ठेरो पर्दा न्यायाधीश कार्की बेन्च छाडेर हिँड्ने गरेको पनि उनले आरोप लगाए।

उनले सोधे, ‘अहिले नागरिकमा न्यायालयप्रतिको विश्वास टुट्ने अवस्था कसरी आयो? यसका लागि के गर्नुहुन्छ? बेञ्च छोडेर हिँड्नुहुन्छ भन्ने छ आफूलाई अप्ठेरो पर्दा?’

लामो प्रकृयाबाट नियुक्त भएपछि कार्की प्रधान न्यायाधीशमा करिब १७ दिनमात्र सर्वोच्च हाँक्ने जिम्मेवारीमा रहने छन्। त्यसैलाई आधार मानेर बर्तौलाले सोधे, ‘अब छोटो समयमा कसरी छिटो छरितो गरी अघि बढ्नु हुन्छ?’

यस्तै, नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले न्यायालयबाट न्याय चाँडो पाउन के गर्नुपर्छ भन्ने प्रश्न गरेका थिए।

‘कसरी चाँडो न्याय दिनुहुन्छ? अदालतमा सूचना प्रणलीलाई कसरी चुस्तताका साथ लागू गर्ने के सोचाइ छ?,’ उनले प्रश्न गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले अदालतमा नियुक्ति गर्दा नै भ्रष्टाचार हुने भन्दै कार्कीमाथि नै आरोप लगाए।

‘नियुक्तिबाटै भ्रष्टाचार हुन्छ भन्ने प्रतिवेदन तपाईँले नै बनाउनु भएको रहेछ। यो तपाईँको नियुक्तिबाट सुरु भएको हो कि पहिलेबाट,’ उनको प्रश्न थियो। 

यस्तै, सांसद रमेशजंग रायमाझीले सर्वोच्चमा न्यायाधीशको दरबन्दीबारे प्रश्न गरे।

‘न्यायाधीशको दरबन्दी बढाउनु पर्छ कि?’

हाल सर्वोच्चमा २१ न्यायाधीश छन्। न्यायाधीश कम हुँदा न्याय प्रक्रिया सुस्त भएको भन्दै आलोचना हुने गरेको छ।

यस्तै, उनले बहालवाला न्यायाधीशले कार्कीविरुद्ध उजुरी दिएको विषय पनि उठाए।

‘बहालवाला न्यायाधीशले कोड अफ कन्डक्ट मान्नुपर्छ कि पर्दैन, यसरी उजुरी दिन मिल्छ?,’ उनको प्रश्न थियो।

बैठकमा सांसद जगप्रसाद शर्माले न्यायाधीशलाई महाअभियोग लगाएर छानबिन गर्ने व्यवस्थाबारे प्रश्न गरेका थिए।

प्रकाश अधिकारीले भने न्यायालयको सुधारको योजना पहिलाका प्रधान न्यायाधीशले पनि ल्याएको भन्दै फेरि त्यस्तै हुने त होइन भन्दै प्रश्न गरे।

‘छोटो समयमा लागू गर्ने के हुन्छ उपाय?,’ उनले सोधे।

कार्कीले सुनुवाई समितिमाथि नै प्रश्न गरेको भन्दै अधिकारीले भने, ‘तपाईँले सुनुवाई समितिमाथि नै प्रश्न गर्नु भएको छ। यो गम्भीर छ।’

उनले वर्षौंदेखिको मुद्दा ‘पेन्डिङ’मा रहेको तर केही विशेष मुद्दाको फैसला आजको भोलि नै हुने भन्दै जवाफ पनि मागे।

‘यसलाई कसरी सिस्टममा ल्याउनु हुन्छ?,’ उनको प्रश्न थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell