PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

क्रिकेटमा 'हाइब्रिड मोडल' स्वीकृतिसँगै पाकिस्तानी फुटबल टोलीले पायो एनओसी, 'स्याल करायो, कुखुरा हरायो' झैं भएको हो?



पहिलोपोस्ट

क्रिकेटमा 'हाइब्रिड मोडल' स्वीकृतिसँगै पाकिस्तानी फुटबल टोलीले पायो एनओसी, 'स्याल करायो, कुखुरा हरायो' झैं भएको हो?
फोटो : PFF/facebook

काठमाडौं : बिहिवार नेपाल सहभागी दुई फरक खेलहरुमा लामो समय अड्किएका दुई ठूला अल्झनको गाँठो फुक्यो। पहिलो भनेको पाकिस्तानले प्रस्ताव गरेको एसिया कप आयोजनाको 'हाइब्रिड मोडल' लाई एसियाली क्रिकेट परिषद् 'एसीसी'ले स्वीकृत गर्‍यो। दोस्रो, भारतमा आगामी साता सुरु हुने दक्षिण एसियाली फुटबल च्यामपियनसीपका लागि पाकिस्तानी फुटबल टोलीले अनुमति पायो। दक्षिण एसियाली क्षेत्रमा यी दुई ठूला राष्ट्रबीचको तनावले राजनीतिक, सांस्कृतिक, आर्थिकलगायतको पाटोमा सँधै विवाद निम्तने गर्छ। यसपटक पनि पाकिस्तानमा एसिया कप हुने हुँदा भारतले आफ्नो टोली पठाउन नसक्ने जनाउँदै एसिया कप नै स्थानान्तरण गर्ने जोडबल गर्‍यो। अर्कोतर्फ पाकिस्तानले आयोजनाको अवसर छाड्न नचाहँदा मध्यबिन्दुमा सहमति भएको छ 'हाइब्रिड मोडल'।

कस्तो हो हाइब्रिड मोडल?

एसीसीले बिहिवार एक विज्ञप्ति निकाल्दै ३१ अगस्तबाट १७ सेप्टेम्बरमा आयोजना हुने एसिया कप हाइब्रिड मोडलमा गर्ने प्रस्ताव स्वीकृत भएको जनायो। यो प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

हाइब्रिड मोडलअनुसार चार खेल पाकिस्तानमा र बाँकी खेल श्रीलंकामा हुनेछन्। प्रतियोगितामा ६ टोलीलाई दुई समूहमा बाँडिएको छ। समूह 'ए' मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह 'बी' मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। दुई समूहका शीर्ष दुई टोलीले शीर्ष चारमा स्थान बनाउनेछन्। जसमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

पाकिस्तानी फुटबल टोलीलाई भारत जान स्वीकृति

'स्याल करायो र कुखुरा हरायो' भन्ने नेपाली उखान यसपटक भारत र पाकिस्तानको खेल राजनीतिमा देखियो। भारतको बेङ्ग्लुरुमा २१ तारिखबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ। तर, पाकिस्तानी फुटबल टोलीले पाकिस्तानको विदेश विभागबाट बिहिवार नै भारत जानका लागि 'नो अब्जेक्सन सर्टिफिकेट(एनओसी)' हात पार्‍यो। पाकिस्तानको फुटबल संघले प्रतियोगिताका लागि भारत जान लामो समयदेखि प्रयास गर्दा पनि एनओसी नपाउँदा सहभागिता अनिश्चित बनेको थियो। खेलाडीले नै सरकारलाई एनओसी उपलब्ध गराउन अपिल गरेको भिडियो पाकिस्तानी फुटबल संघको सामाजिक सञ्जालमा राखिएको थियो। त्यति गर्दा पनि टोलीले एनओसी हात पारेको थिएन।

साफ च्याम्पियनसीपको तयारीका लागि पाकिस्तानले हाल तीन टोलीसँग मैत्रीपूर्ण खेलमा जुटेको छ। यही हप्ता केन्या र मरिसससँग खेलेको पाकिस्तानले जिबउटीसँग शनिवार खेल्दैछ।

साफ च्याम्पियनसिपमा पाकिस्तान, भारत, नेपाल र कुवेत समूह 'ए' मा छन्। समूह 'बी' मा बंगलादेश, माल्दिभ्स, भुटान र लेबनान छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell