PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

यस्तो मोडलमा बन्दै छ प्रचण्ड - माधवको समाजवादी मोर्चा, सत्ता संघर्षमा कस्तो पर्ला असर?



प्रकाश भण्डारी

यस्तो मोडलमा बन्दै छ प्रचण्ड - माधवको समाजवादी मोर्चा, सत्ता संघर्षमा कस्तो पर्ला असर?

काठमाडौं : केही दिनमै समाजवादी मोर्चाको घोषणा हुने भएको छ। नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबिच मोर्चा बन्ने तय भएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार सत्तारुढ तीन दलबिच मोर्चामा सहभागी हुने सहमति नै भइसकेको छ भने नेकपा सहभागी हुने/नहुनेबारे निर्णयमा पुगेको छैन। 'हामी ३ दल त मोर्चामा सहभागी हुने भइहाल्यौं। विप्लव पनि सहभागी हुने नहुने एस अर्थात नो भन्ने भइसकेको छैन,' खतिवडाले भने। शुक्रवार नै मोर्चाको घोषणा हुने तयारी भए पनि विप्लव र जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौं बाहिर भएकाले आज घोषणा नभएको खतिवडाको भनाइ छ।

'नेताहरु आआफ्नो काममा व्यस्त भएकाले डकुमेन्ट फाइनल गर्न टाइम लाग्ने भयो,' उनले भने। असार ४ या ५ गते घोषणा गर्ने समाजवादी मोर्चामा सहभागी हुने दलहरुले तयारी गरेका छन्। एकीकृत समाजवादीको शुक्रवारको सचिवालयको बैठकमा समाजवादी मोर्चाबारे छलफल भएको थियो। मोर्चा बनाउने पूर्व निर्णयलाई अघि सार्दै नेताहरुले धारणा राखेका थिए। एकीकृत समाजवादीका नेता झलनाथ खनालले मोर्चाबारे सार्वजनिक रुपमा फरक धारणा राखिरहेको भए पनि बैठकमा कुनै असन्तुष्टि व्यक्त नगरेको पनि खतिवडाको भनाइ छ। 'बैठकमा त त्यस्तो कुनै फरक धारणा आएको छैन,' उनले भने। खनालले बिरोध गरिरहेका बेला अध्यक्ष माधव नेपाल भने लामो समयदेखि समाजवादी मोर्चाको कसरत गर्दै आएका थिए। उनले केही दिनअघि नेकपा व्यूताउनुपर्ने प्रस्तावसमेत गरेका थिए। प्रचण्डले पनि नेकपा बनाउन अरु दलसँग छलफल भइरहेको केही दिनअघि बताएका थिए। 


कमान्डर को?

समाजवादी मोर्चा बनाउने गृहकार्यमा दलहरुले स्थानीय तह निर्वाचनभन्दा पहिले नै जुटेका थिए। तर चुनावका बेलामा मोर्चा बन्न सकेन। प्रतिनिधि सभा निर्वाचनका बेलामा पनि सहकार्य गर्ने चर्चा चले पनि मोर्चा बनाउने गृहकार्य अघि बढ्न सकेन। समाजवादी मोर्चाको कमान्ड आलोपालो मोडलमा अघि बढ्ने भएको छ। पहिला कसले नेतृत्व गर्ने भन्नेबारेमा ४ पार्टीका शीर्ष नेता बसेर सहमति गर्ने तयारी छ। केन्द्रमा मात्रै नभइ स्थानीय तहसम्मै मोर्चा बन्ने एकीकृत समाजवादीले जनाएको छ। समाजवादी मोर्चामा रहने दलमध्ये सबैभन्दा ठूलो पार्टी नेकपा माओवादी केन्द्र बन्ने छ।

 

मोर्चा किन?

केही दिनअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चा बन्न लागेको घोषणा गरेका थिए। तर मोर्चा किन बन्न लागेको हो भन्नेबारेमा नेताहरुले अमूर्त धारणा राख्दै आएका छन्। 'संविधानको रक्षाका लागि' भन्दै नेताहरुले मोर्चा बन्ने बताइरहेका छन्। खतिवडाले भने मोर्चा बन्ने २ कारण रहेको बताए। 'संसदभित्र प्रभावकारी भूमिकाका लागि एउटै आवाज बनाउने बाहिर समाजवादी विचारका बारेमा जनमत निर्माण गर्ने र त्यसका लागि दबाब दिने,' उनले भने। 

४ दलले मोर्चा बनाउने विषयमा तयारी गरिरहेका बेला नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले पनि विचार मिल्नेसँग मोर्चा बनाउनेबारे प्रचण्डसँग आफ्नो समझदारी बनेको बताएका छन्। बाबुराम मोर्चाबाट बाहिरिएको चर्चा चलेका बेला उनी आफैंले मोर्चाबारे मुख खोलेका हुन्। 'देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानकालागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी,' नेसपाका अध्यक्ष भट्टराईले मोर्चाबारे भनेका छन्।

 

शक्ति संघर्षमा यस्तो 

संसदमा आफ्नो शक्ति बढाउन मोर्चा बनाउन लागेको नेताहरुले बताए पनि मोर्चामा सहभागी हुने दलहरुको संसदमा धेरै सिट भने छैन्। एकीकृत समाजवादीको संसदमा १०, माओवादी केन्द्रको ३२ सिट, जसपाको १२ सिट छ। नेकपा निर्वाचनमा सहभागी थिएन भने बाबुराम भट्टराईको पार्टीको पनि प्रतिनिधि सभामा प्रतिनिधित्व छैन। मोर्चासँग संसदमा ५४ सिट हुने छ। २७५ सदस्यीय प्रितिनिधि सभामा उक्त सिट संख्या झण्डै २० (१९. ६३) प्रतिशतमात्रै हो। उक्त संख्या सरकार बनाउनका लागि भने पर्याप्त होइन। सरकार बनाउन २७५ को बहुमतका लागि १३८ जना चाहिन्छ।

मोर्चामा सहभागी हुने दलको सिट नेपाली कांग्रेस र नेकपा एमालेको भन्दा न्यून हो। कांग्रेसका ८८ र एमालेका ७९ जना सांसद छन् प्रतिनिधि सभामा। हाल प्रचण्ड कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टीसँगको सहकार्यमा सरकार चलाइरहेका छन्। 

 

प्रदेशमा पनि न्यून संख्या

प्रदेशमा पनि मोर्चामा सहभागी हुने दलको प्रतिनिधित्व न्यून छ, दुई ठूला दल कांग्रेस र एमालेको भन्दा।

कोसी प्रदेशमा मोर्चासँग १८ सांसद हुनेछन्। माओवादीका १३, जसपाका १ र एकीकृत समाजवादीका ४ सांसद छन्। त्यहाँ एमालेका ४० र कांग्रेसका २९ सांसद छन्। कोसी प्रदेश ९३ सदस्यीय छ। मधेश प्रदेशमा मोर्चासँग ३१ सांसद हुने छन्। १०७ सदस्यीय मधेश प्रदेश सभामा माओवादीका ८, जसपाका १६ र एकीकृत समाजवादीका ७ सांसद छन्। यस्तै एमालेका २३, कांग्रेसका २२, राप्रपाका १, जनमतका १३, लोसपा ९, नागरिक उन्मुक्तिका १, स्वतन्त्र ६ र नेपाल संघीय समाजवादीका तर्फबाट १ सांसद छन्।

काठमाडौं राजधानीसमेत रहेको वाग्मती प्रदेशमा मोर्चासँग २८ सांसद छन्।  माओवादीका २१ र एकीकृत समाजवादीका ७ सांसद वाग्मतीमा छन्। जसपाका सांसद वाग्मतीमा छैनन्। ११० सदस्यीय वाग्मतीमा कांग्रेसका ३७, एमालेका २७ सांसद छन्। राप्रपाका १३, नेमकिपाका ३, हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

६० सदस्यीय गण्डकी प्रदेशमा ९ जना मात्रै सदस्य हुनेछन् मोर्चासँग। माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीको १ जन सांसद छन् गण्डकीमा। एमालेका २२ र कांग्रेसका २७ सांसद छन् गण्डकीमा। राप्रपाका २ जनामात्रै सांसद छन्।

लुम्बिनीमा पनि मोर्चासँग न्यून सांसद संख्या रहने छ। ८७ सदस्यीय प्रदेश सभामा १३ जना मात्रै मोर्चासँग रहने छन्। जसमा माओवादीका ९, जसपाका ३ र एकीकृत समाजवादीका १ जना सांसद मोर्चामा हुनेछन्। कांग्रेसका २७ र एमालेका २९ सांसद छन्। राप्रपाका ४, जनमत ३, लोसपा ३ नागरिक उन्मुक्तिका ४, राष्ट्रिय जनमोर्चाका १ र ३ स्वतन्त्र सांसद छन् लुम्बिनीमा।

कर्णालीमा मोर्चासँग १४ सांसद हुनेछन्। ४० सदस्यीय प्रदेश सभामा माओवादीका १३ र एकीकृत समाजवादीका १ जना सांसद छन्। जहाँ कांग्रेसका १४, एमालेका १०, राप्रपाका १ र १ स्वतन्त्र सांसद छन्। 

सुदूरपश्चिममा मोर्चासँग १५ सांसद हुने छन्। माओवादीका ११ र एकीकृत समाजवादीका ४ जना सांसद छन् सुदूरपश्चिममा।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९ र एमालेका १० जना सांसद छन्। नागरिक उन्मुक्तिका ७ र १ स्वतन्त्र सांसद छन् सुदूरपश्चिममा पनि।

संसदकै ठूलो दल नेपाली कांग्रेसको सहकार्यमा सरकार चलाइरहेका प्रचण्डले संसदमा समेत त्यति धेरै संख्या नभएका दललाई सहभागी गरेर मोर्चा बनाउन किन कस्सिएका छन् त्यो भने मोर्चा घोषणा हुनेबेलासम्म खुल्ने नै छ। तर यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुँदाहुँदै पनि प्रचण्डले सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाएर चुनावी भागबण्डामा बार्गेनिङ बढाउने प्रयत्न गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell