PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

सुस्त गतिमा देशभर फैलँदै मनसुन, पश्चिम पुग्न केही दिन लाग्ने



पहिलोपोस्ट

सुस्त गतिमा देशभर फैलँदै मनसुन, पश्चिम पुग्न केही दिन लाग्ने

काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गत जेठ ३१ गते बुधवार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो। देशको कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भू-भाग, वाग्मती प्रदेशको अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागमा मनसुन आगमन भएको महाशाखाले मनसुन आगमनसम्बन्धी विशेष बुलेटिन निकालेर जानकारी दिएको थियो।

मनसुन क्रमिकरुपमा फैलिरहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने महाशाखामा मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

‘मनसुन छ, पश्चिमतिर फैलिन केही दिन लाग्छ, मनसुन प्रणाली केहीमात्रामा कमजोर रहे पनि वर्षा भने निरन्तर हुनेछ,’ उनले भने।

मनसुन सुस्त गतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने महाशाखाले जनाएको छ। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ।

यसपाली एकदिन ढिला गरी मनसुन प्रवेश गरेको छ। पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभर फैलिन केही दिन लाग्छ। यो वर्ष सरदरभन्दा कम वर्षा हुने जनाइएको छ।

महाशाखाका अनुसार अहिले कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानमा र कोशी प्रदेशका तराईका भू-भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell